कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सामान्य उपचारका लागि सीमापार

डीआर पन्त

बैतडी — छोरीको हातमा चोट लागेपछि बैतडीस्थित जिल्ला अस्पताल पुगेका साबिक महारुद्र गाउँपालिकाका दलबहादुर साउदलाई अस्पतालकै कर्मचारीले सीमापारि पिथौरागढ गएर उपचार गराउन सल्लाह दिए ।

रूखबाट लडेर घाइते भएका अर्जुन गिरीलाई उनका आफन्तले सतबाँझ चौराहाबाट एम्बुलेन्समा जिल्ला अस्पताल पुर्‍याए पनि उनको त्यहाँ उपचार हुन सकेन ।


झुलाघाटको बाटो भएर गिरीलाई पिथौरागढ अस्पताल लगियो । गिरीका दाजु लक्ष्मणले भने, ‘जिल्ला अस्पतालमा कुनै पनि रोगको उपचार हुन सक्दैन भन्ने जानकारी पाएको भए चौराहाबाटै धनगढी लैजाने थियौं । त्यसको जानकारी नै भएन ।’ पिथौरागढमा असुरक्षित र अत्यन्त महँगो उपचार गर्न बाध्य भएको उनले गुनासो गरे ।


जिल्लामा सामान्य उपचार हुन नसकेर यसरी बैतडीबाट दैनिक ३ सय बढी बिरामी सीमापारि भारतको पिथौरागढका विभिन्न अस्पतालमा असुरक्षित र महँगो उपचार गराउन बाध्य छन् । अस्पतालमा भएका उपकरण पनि भरपर्दा छैनन् । सामान्य ज्वरो, रुघाखोकी र साधारण घाउको पनि उपचार हुन छाडेपछि सर्वसाधारण सीमापारि जान बाध्य भएको बताउँछन् । जिल्लाको तल्लो स्वराड क्षेत्रका बिरामी पनि उपचारका लागि सीमापारि वा डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल पुग्न थालेका छन् ।


‘३ दिन घाम नलागे अस्पतालको सोलारले काम गर्न छोड्छ,’ मेडिकल अधिकृत डा. जगदीश विष्टले भने, ‘अस्पताल अँध्यारो मात्र होइन, भएका उपकरणले पनि काम गर्न सकिँदैन ।’ डा. विष्टले अस्पतालमा एकजना पनि विशेषज्ञ डाक्टर नभएका कारण पनि उपचार सेवा दिन कठिनाइ भइरहेको स्वीकारे । ‘अस्पतालमा भएका सेवा पनि प्रभावित हुने गरेका छन्,’ उनले भने ।


‘जिल्ला सदरमुकाममा रहेको अस्पतालको अवस्था यस्तो दयनीय छ भने जिल्लाका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाको कस्तो अवस्था होला ?’ जनस्वास्थ्यका सिनियर अहेब भुवन जोशीले भने, ‘सदरमुकाम रहेको नगरपालिकाभित्रै गर्भवती महिला र किशोरीहरूले नि:शुल्क पाउने औषधिसमेत खान पाएका छैनन् ।’


गर्भवती र रक्तअल्पता भएका किशोरीले अनिवार्य खानुपर्ने फोलिक एसिड नामक औषधि बजेट अभावका कारण खरिद गर्न नसकिएको उनले जानकारी दिए । सदरमुकामको जिल्ला अस्पताल मात्र होइन जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरू नाम मात्रका छन् । स्वास्थ्य संस्था स्थानीय तहमा गाभिएपछि झनै लथालिंग भएको सिनियर अहेब जोशीले गुनासो गरे । उनले भने, ‘ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव मात्र होइन, सञ्चालनमा पनि बिभिन्न कठिनाइ देखिएका छन् ।’


जनप्रतिनिधिहरूले समेत स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन् । दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले भने, ‘बजेट विनियोजनले मात्र स्वास्थ्य संस्था चल्न सक्दैनन् ।’


जनप्रतिनिधिहरू स्वास्थ्य संस्थाका विषयमा जानकार नै नहुँदा स्वास्थ्य संस्था सञ्चालनमा कठिनाइ देखिएको हो । स्थानीय तहरूले स्वास्थ्य संस्थालाई पर्याप्त बजेटसमेत दिन नसकेको नगरप्रमुख थापाले बताए । स्वास्थ्य क्षेत्रलाई स्थानीय तहहरूले व्यवस्थित गर्न नसक्नुको प्रमुख कारण संवेदनशील हुन नसक्नु भएको पनि उनले बताए ।


जिल्ला सदरमुकाममा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि बैतडीवासीले लामो समयदेखि माग गर्दै आए पनि सरकार यस विषयमा गम्भीर नभएको गुनासो गरेका छन् ।


भएको जिल्ला अस्पतालसमेत व्यवस्थापनको अभावले लथालिंग अवस्थामा पुगेको छ । स्थानीय समाजसेवी नरेन्द्र विष्ट भन्छन्, ‘हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पतालको परिकल्पनाभन्दा पहिले हरेक जिल्ला सदरमुकाममा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु आवश्यक छ ।’

प्रकाशित : माघ २९, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?