१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धौडा छाड्दा जिउलो बाँझै

बझाङ — मष्टा गाउँपालिका १ को सिम जिउलो २ वर्षदेखि बाँझै छ । सय परिवारले खेती गर्ने यो जिउलो बाँझै छोड्नुको कारण सिँचाइको अभाव होइन, न त खडेरी नै परेको छ । यहाँकै स्थानीयले आफ्ना बस्तुभाउ छाडा छाडेका कारण खेती गर्न सम्भव नभएपछि बाँझो छोड्नुपरेको हो । 

धौडा छाड्दा जिउलो बाँझै

‘खेती लगाएर के गर्नु ?’ स्थानीय टिम्कीदेवी खड्काले भनिन्, ‘उम्रिन नपाउँदै छाडा गाईबस्तु चरिहाल्छन् ।’ सिँचाइको राम्रो सुविधा भएको यो खेत चौपायाले दु:ख दिन थालेपछि बाँझै रहेको उनले बताइन् । राम्रो उत्पादन दिने जमिन बाँझै राख्नुपर्ने अवस्था आउने गरी दु:ख दिने छाडा पशु पनि बाहिरबाट आएका होइनन् । कोटदेवलकै स्थानीयका पशु चौपायाहरू छाडा भएकाले जमिन बाँझै राख्नुपरेको अर्की स्थानीय शिल्पा खड्काले बताइन् ।


उनले भनिन, ‘हाम्रै गाईबस्तु छाडा छोडेका कारण यस्तो भएको हो ।’ गाउँलेहरूले एक अर्काको डाह गरेर पशुलाई छाडा छोड्ने गरेका कारण यो समस्या आएको उनको भनाइ छ । ‘यहाँका मानिसहरू बरु बेसाहा खोजेर गुजारा गरिहाल्छन् । तर पशु छाडा नछाडाैंभन्दा मान्दैनन्,’ अर्का स्थानीय जसबहादुर खड्काले भने, ‘सबैले आफ्ना गाईबस्तु नियन्त्रण गरेको भए जमिन बाँझै छाड्नुपर्ने अवस्था आउने थिएन ।’ सिम जिउलो कोटदेवलको सबैभन्दा राम्रो उत्पादन क्षेत्र भए पनि स्थानीयको लापरबाहीले बाँझै छोड्नुपरेको उनले बताए ।


चारैतिर खुला क्षेत्र भएको यस ठाउँमा सुरुमा छेउतिर खेत भएकाहरूले चौपायाको डरले खेती लगाउन छाडेका थिए । ‘छेउ तिरकाले छाडेपछि जता खेती छ त्यतै चौपायाले दु:ख दिन थाले,’ स्थानीय भरत खड्काले भने, ‘विस्तार विस्तारै सबैले खेती लगाउन छोडे । अहिले ३ वर्ष भयो कसैले खेती लगाएका छैनन् ।’


छाडा चौपायाको डरले बाँझो राखिएको कोटदेवलको सिम जिउलो एउटा उदाहरण मात्रै हो । यो समस्या सिंगो बझाङमा छ । सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गर्ने प्रावधानसहितको नियम ल्याउने तयारी गरिरहेको छ ।


यो नियम लागू हुने हो भने यहाँका व्यक्ति मात्र नभएर गाउँका गाउँ कारबाहीको भागीदार हुने अवस्था छ । ‘जिल्लामा कुनै पनि त्यस्तो गाउँ नहोला, जहाँ छाडा पशुको डरले जग्गा बाँझो नछोडिएको होस्,’ करिब २० वर्ष बझाङ जिल्लामा कृषि प्राविधिकका रूपमा काम गरेका कृषि ज्ञान केन्द्रका रामलाल जोशीले भने, ‘छाडा चौपाया छोड्ने चलन यो जिल्लाकै कृषि र वन क्षेत्रको प्रमुख चुनौती हो ।’


छाडा पशु छोड्ने चलनले गर्दा जग्गा बाँझो छोड्ने मात्र होइन, किसानले आफूले चाहेको बाली लगाउन नपाउने समस्या रहेको कृषि प्राविधिकहरू बताउँछन् । ‘छाडा चौपाया छोड्ने चलनका कारण स्थानीय आफैंले चाहेको बाली लगाउन पाएका छैनन् । अरूले जे लगायो नजिकै खेत भएको अर्काे किसानले पनि त्यही बाली लगाउनुपर्ने बाध्यता छ,’ छबीसपाथीभेरा गाउँपालिकाका कृषि शाखा प्रमुख मदनराज जोशी भन्छन्, ‘फरकफरक बाली लगाउँदा एउटा पाकिसक्दा अर्काे पाकेको हुँदैन । छेउको खेत खाली हुने बित्तिकै पशु छाडा छोडिहाल्छन् । यो चलन यहाँको व्यावसायिक कृषि क्षेत्रको पनि ठूलो चुनौती हो ।’


बझाङमा पशु छाडा छोड्ने चलनलाई धौडा छोड्नु भनिन्छ । पहिला पहिला समुदायका मानिसहरू बसेर धौडा कहिले छोड्ने ? कसरी छोड्ने ? भनेर सामुदायिक नियम बनाउने गर्थे । नियमको उल्लंघन गर्नेलाई समुदायले कारबाही गर्ने चलन थियो । पछिल्लो समय यस्ता नियमहरूको पालना हुन छोडेपछि छाडा पशुको प्रकोप बढ्दै गएको जोशीले बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?