कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरा खेतीमा रोग, पहेँलिँदै बोट कुहिँदै गबारो

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा केरा खेतीमा गबारो कुहिने र पात सुक्ने समस्या देखिएको छ । सुरुमा पात पहेँलिँदै जाने र पछि गबारोसमेत कुहिएर बोटको वृद्धि विकास रोकिने गरेको छ । पछिल्ला एक/डेढ महिनामा यस्तो समस्या देखिएको हो ।

केरा खेतीमा रोग, पहेँलिँदै बोट कुहिँदै गबारो

असारतिर रोपेको केराको बोट पूरै पहेँलो भएको छ । गबारो कुहिएर गन्हाउन थालेको छ । ‘गबारो तान्दा फेदसम्म कुहिएको आउ‘छ,’ यसै वर्षदेखि केरा खेती सुरु गरेका वेदकोट नगरपालिका ५ पोल्खरीका गौरीसिंह बोहराले भने, ‘पातहरू पनि पहेँलो भएर सुुक्दै गएका छन् ।’


बोहरासहित ३ परिवारले असारमा १ हजार ५ सय केराका बोट ल्याएर खेती सुरु गरेका थिए । तिनै परिवारको बारीमा एउटै किसिमको समस्या देखिएको छ । ८ महिनासम्म पनि राम्ररी वृद्धि विकास हुन नसकेको उनीहरू बताउँछन् ।


कृषकहरूका अनुसार जिल्लाभरिकै केरामा अहिले गबारो कुहिने र पात पहेँलो हुने समस्या देखिएको छ । टिस्यु कल्चरबाट उत्पादन गरिएका सबै बोटहरूमा उक्त समस्या देखिएको केरा उत्पादन तथा कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउदले बताए ।


‘केही दिनयता बढेको चिसोका कारण पनि यस्तो समस्या भएको हुन सक्छ,’ उनले भने, ‘अन्य रोग वा समस्या नभए गर्मी लाग्ने बित्तिक्कै गबारो पलाउन सुरु हुन्छ ।’ कञ्चनपुरमा यस वर्षमात्रै ४० बिघाभन्दा बढीमा केरा खेती सुरु गरिएको छ । अधिकांशमा यस्तो समस्या देखिएको कृषकहरू बताउँछन् । बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरका बाली संरक्षण अधिकृत अमर ठगुन्नाका अनुसार लक्षण हेर्दा ढुसीजन्य रोग हुन सक्ने देखिएको छ । तर ल्याब परीक्षणका लागि सुन्दरपुरकै प्रयोगशालाका साथै काठमाडौंमा समेत नमुना पठाइएको उनले बताए ।


‘चिसोले हो वा रोगकै कारण यस्तो भएको हो परीक्षणपछि मात्रै खुल्छ,’ बाली संरक्षण अधिकृत ठगुन्नाले भने, ‘तर तत्काल हेर्दा ढुसीजन्य रोगका लक्षण पनि देखिएका छन्, यसका ब्याक्टेरिया सामान्य रूपमा हेर्न सकिँदैन ।’ उनले केराखेतीमा देखिएको समस्याबारे कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयमा समेत जानकारी गराइएको बताए ।


ठगुन्नाका अनुसार जिल्लामा खेती गरिएकोमध्ये जी ९ प्रजातिमा यस्तो समस्या देखिएको छ । जी ९ कञ्चनपुरका लागि सिफारिस नगरिएको जात पनि हो । सिफारिस हुने क्रममा रहेको ठगुन्नाले बताए । तर कृषकहरूले यही जातलाई बढी रुचाउने गरेको उनले जानकारी दिए । उनका अनुसार फोनमार्फत र कृषकहरू आफैं आएर पनि केरामा देखिएको समस्याबारे जानकारी गराउन थालेका छन् ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाका अनुसार ३ वर्षअघि पनि हिउ‘दमा केरामा यस्तै समस्या देखिएको थियो । कतिपय कृषकले ठूल्ठूला बारीहरू काटेर खाली गरेका थिए ।


तर गर्मी लागेसँगै उक्त समस्या आफैं हटेर गएपछि सुधार भएको उनले बताए । ‘अन्य रोग, कीरा नलागेको भए चिसोले नै यस्तो भएको हुन सक्छ,’ वरिष्ठ कृषि विकास अधिकृत थापाले भने, ‘विषादीले समेत उक्त समस्या समाधान हु‘दैन, तातो लागेपछि आफैं ठीक हुन्छ ।’ उनले खेतीको व्यवस्थापनको कमजोरीका कारण पनि यस्तो समस्या देखिने बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?