कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बझाङ विमानस्थल कालोपत्रे

बसन्तप्रताप सिंह

बझाङ — यहाँस्थित देवल विमानस्थलमा कालोपत्रेको काम सुरु भएको छ । विमानस्थल कालोपत्रे हुन थालेपछि बझाङमा हवाई यातायात पुन: सुरु हुनेमा स्थानीय आशाबादी छन् ।

२०३५ मा निर्माण गरिएको यो कच्ची विमानस्थलमा २०६५ सम्म हवाई सेवा सञ्चालनमा थियो । त्यसपछि नेपाल वायुसेवा निगमले नियमित उडान भर्न छोड्यो । अन्य विमान कम्पनीले पनि कच्ची विमानस्थलमा उडान गर्न नमानेपछि सेवा बन्द भएको थियो ।


बझाङलाई बाहिरी जिल्लासँग जोड्ने एक मात्र सडक जयपृथ्वी राजमार्ग पटक पटक बन्द हुने गरेको र वैकल्पिक यातायातको रुपमा रहेको हवाई सेवा पनि हवाइ मैदान कालोपत्रे नहुँदा बझाङबासीले लामो समय देखि समस्या भोग्दै आएका छन् । हिउँदे वर्षाका बेला र बर्खाको समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेकाले आपतकालीन अवस्थाका बिरामीहरूले वर्षेनी ज्यान गुमाउने गरेका छन ।


यात्रुहरूले पनि सास्ती भोग्दै आएका छन । गत वर्ष असारदेखि भदौसम्म ३ महिनाको अवधिमा जयपृथ्वी राजमार्ग पटकपटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागी धनगढी लैजाँदै गरेका ५ जना बिरामीहरूले बाटैमा ज्यान गुमाउनु परेको थियो ।


बझाङको यो समस्यालाई लिएर नागरिक अभियन्ता र सांसदहरूले संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयमा पटक पटक डेलिगेसन गएपछि विमानस्थल कालोपत्रे गर्न रकम विनियोजन भएको थियो । ५ करोड ५० लाखको लागतमा यो विमानस्थल कालोपत्रे गर्ने काम भइरहेको छ ।


कालोपत्रे गर्ने जिम्मा पाएको अमर कन्सट्रक्सनले १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि त्यसअघि नै काम सम्पन्न हुने दाबी गरेको छ । विमानस्थलसम्म गाडी चल्ने सडक निर्माण भए पछि माघको तेस्रो साताबाट कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनीका प्रमुख देवी न्यौपानेले बताए ।


२०६५ सालमा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थल बन्द भएको थियो । २०६६ मा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो । बढी जसो बझाङ –नेपालगन्ज उडान सञ्चालन गर्ने विमान कम्पनीहरूले नेपालगन्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएका कारण उडान बन्द गरेको बताएका थिए ।


तर धनगढी–बझाङ उडान सञ्चालन गर्न सके दैनिक २/३ वटासम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन । धनगढी विमान स्थलमा विमानलाई राति राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनीहरू नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् ।


विमान सञ्चालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ ।

लामो समयसम्म बेवारिसे जस्तै बनेको विमानस्थल स्थानियको खेल मैदान र गौचरनमा परिणत भएको थियो । केही वर्षअघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झयाल ढोकामा रहेका सिसाहरू पनि फुटाइएको छ ।


विमान सञ्चालन भए पछि सर्वसाधारणलाई मात्र सुविधा नभई जिल्लाको पर्यटन विकासमा पनि टेवा पुग्ने यहाँका बासिन्दाहरूको आशा छ । उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले लामो समयदेखि विमानस्थल बन्द भएका कारण जिल्लामा आउने पर्यटकहरू घटेका बताए ।


उनले विमान सञ्चालनमा आए पछि साईपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफालगायतका दर्जन भन्दा बढी पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धि हुने बताए ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?