३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्पतालजन्य फोहरले बस्ती दुर्गन्धित

मोहन शाही

डोटी — टेकसरा नेपाली दिपायल सिलगढी नगरपालिका ५ राजपुरस्थित रातामाटी बस्तीमा बस्छिन् । उनको घरको आँगनमा बस्नै नसिकने दुर्गन्ध आउछ ।

पाल्तु जनावर र पशुपंक्षीले घरकै आगनमा कहिले सुत्केरी महिलाका सालनाल ल्याइपुर्‍याउँछन् भने कहिले रगताम्य भएका लुगाकपडा र फोहोर उठाएर ल्याउँछन् ।


रातामाटी बस्ती सँगै सुजंग अस्पताल जोडिएको छ । बस्ती नजिकै अस्पतालको फोहोर फ्याँक्ने र नष्ट गर्ने ठाउँ बनाइएको छ । अस्पतालले काँडे तारबार गरेको भए पनि फोहोर ब्यवस्थापन गर्न नसक्दा बस्ती नै दुर्गन्धित हुने गरेको स्थानीयको आरोप छ ।


‘प्रसूति भएका महिलाहरूका सालनाल, लुगाकपडा, रगत यसैमा खुला छोड्ने गरिएको छ,’ अस्पतालको फोहोर व्यवस्थापन गर्ने ठाउँ नजिकै लुगा धुदै गरेकी टेकसराले भनिन्, ‘काग र कुकुरले तिनै सालनाल र कपडा बोकेर घरमा फ्याँकिदिन्छन्, हामीले खानका लागि भरेको पानी पनि फोहर गर्छन् ।’


रातामाटीका करिब ४८ परिवार सुजंग अस्पतालको अव्यवस्थित फोहोरले पीडित छन् । अस्पतालले फोहोर जलाउँदा बस्तीमा धुलोधुवाँ र दुर्गन्ध फैलने गरेको अर्जुन महताले बताए । ‘गन्हाउने उस्तै, धुवाँको मुस्लोभित्र पसेर बसिनसक्नु हुन्छ,’ शहिद स्मृति बिद्यालयका शिक्षकसमेत रहेका महताले भने, ‘फोहोर व्यवस्थापनका लागि पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ भएन ।’


अस्पतालले फोहर व्यवस्थापन गर्ने प्लासेन्टा पिट र जल्ने र नजल्ने बस्तु व्यवस्थापन गर्ने इन्सीनेरेटर रातामाटी बस्तीको छेउमै बनाएको छ । अस्पतालको प्रांगणसंँगै जोडिएको बस्तीमा दुर्गन्ध भइरहेकाले बिकल्पहरू खोजीरहेको अस्पतालका निर्देशक पुश्कर पनेरुले बताए । फाहोर व्यवस्थापनका लागि अस्पतालले आफ्नै परिसरभित्र बनाए पनि स्थानियको आँगन छेउमै अस्पतालको फोहोर र खुला शौचालय हुँदा बस्ती नै दुर्गन्धित हुने गरेको गुनासो तुलसी धामीको छ ।


मंगलबार बिहान जनप्रतिनिधि, पत्रकार र कुमालीकोट स्थानीयसभाका पदाधिकारीहरू सरसफाइको अवस्थाबारे अनुगमनमा जाँदा स्थानियले अस्पतालको फोहोरबारे गुनासो राखेका थिए । स्थानियमाथि समेत सरसफाइमा ध्यान नदिएको आरोप छ । भान्सा तथा सरसफाइ गरिएको फोहोर पानी स्थानियले सडकमै छोड्दा पनि बस्तीमा थप दुर्गन्ध फैलिएको कुमालीकोट स्थानिय सभा संयोजक पवित्रा बिकले बताइन् ।


रातामाटी बस्तीमा अस्पतालको फोहोरले दुर्गन्धित भइरहेको आरोप लगाउँदा राजपुर स्थित गणपानी टोलका बासिन्दाले भने खुला शौचालयका कारण समस्या भएको दुखेसो गरेका छन् । बिभिन्न शैक्षिकसंस्था र व्यक्तिहरूले शौचालयको ट्यांकी खुला छोड्ने, फोहोर जथाभावी फ्याँक्दा गाउँको मुन्तिर रहेको गणपानी बस्तीमा दुर्गन्ध फैलिएको गाउँकी कलावती पाण्डेयले बताइन् ।


अनुगमन टोलीले शहिद स्मृति आवासीय बिद्यालय, मगर टोल, सुजंग बोर्डिंग स्कुल, राजपुर बजार र रातामाटी टोलमा स्थलगत निरीक्षण गरेको थियो । दिपायल सिलगढी नगरपालिकालाई ०७३ असार महिनामा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि व्यावहारिक पमा कार्यान्वयन हुन नसकेको अनुगमनमा गएकी वडा सदस्य कमला बडैलाले बताइन् ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?