वेदकोटमा धार्मिक पर्यटन मेला

विकास र समृद्धिको प्रमुख शत्रु भ्रष्टाचार –उपराष्ट्रपति
कान्तिपुर संवाददाता

कञ्चनपुर — चुरे फेदीमा रहेको बेदकोट ताल परिसरमा बिहीबारबाट बेदकोट धार्मिक तथा पर्यटन मेला सुरु भएको छ । उपराष्ट्र्रपति नन्दबहादुर पुनले एक समारोहका बिच मेला उदघाटन गरे । मेला दुई दिनसम्म चल्नेछ ।

धार्मिक मेलाको उदघाटन गर्दै उपराष्ट्रपति पुनले सुदूरपश्चिम प्रकृति र संस्कृतिमा देशकै धनी प्रदेश भएको बताए । यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार र संरक्षण गरेर मात्रै मुलुकले समृद्धि प्राप्त गर्ने उनको भनाई थियो । ताल परिसरमा निर्माण गरिएको भ्यू टावर र मन्दिरको पनि उपराष्ट्रपतिले उदघाटन गरे । झरीका बिच पनि मेलामा स्थानीयको उल्लेखनीय सहभागिता थियो ।


बेदकोट ताल प्राकृतिकसँंगै धार्मिक रुपमा पनि महत्वपुर्ण मानिन्छ । यहांँ हरेक वर्ष माघ शुक्ल नवमीमा जात्रा लाग्छ । त्यहि जात्रालाई नगरपालिकाले धार्मिक मेलाको रुपमा मनाउन सुरु गरेको हो । ‘कृषि, पर्यटन र उद्योग नै समृद्धिका प्रमुख आधार हुन्,’ मेला उदघाटन समारोहमा उपराष्ट्रपति पुनले भने, ‘संस्कृति र प्रकृतिको उच्चतम उपयोग गरेर समृद्धि हासिल गर्नुपर्छ ।’


खप्तड, बडीमालिका शुक्लाफाँंटा लगायतका प्राकृतिक क्षेत्रहरू यहि ठाउँमा हुँदा पनि यसको लाभ लिन नसकिएको उनले बताए । प्रकृतिमा मात्र नभई कृषि र खेलकुदका क्षेत्रमा पनि सुदूरपश्चिम अग्रस्थानमा रहेको उनले बताए । लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि अहिले सबै नेपालीको साझा एजेण्डा विकास र सम्बृद्धि नै भएकाले यसका लागि नारा र भाषणमा भन्दा पनि व्यवहारमा देखाउनुपर्ने बताए ।


‘नारा र भाषण भन्दा पनि व्यवहारमा देखाउन सके मात्रै समृद्धि हासिल हुन्छ,’ उपराष्ट्रपति पुनले भने, ‘यति भनिरहंँदा यसको प्रमुख शत्रु भनेको भ्रष्टाचार हो, हरेक दिन बिहान सञ्चार माध्यममा फरक फरक प्रकृतिका भ्रष्टाचारका समाचार सुनिन थालेको छ ।’ उनले नेपाललाई अहिले भ्रष्टाचारबाट नै खतरा रहेकाले यसको अन्त्य हुनुपर्ने बताए ।


मेलाको उदघाटनअघि उपराष्ट्रपति पुनले बेदकोट नगरपालिकाको बगुनमा रहेको शिव लिंगेश्वर धामको अवलोकन गरेका थिए । बुधबार महेन्द्रनगर पुगेका उनले शुक्लाफांँटा राष्ट्रिय निकुञ्जको पनि अवलोकन भ्रमण गरेका थिए । उनले शुक्लाफांँटाको घाँसे मैदानमा बाह्रसिंगाको बथान संगै विभिन्न तालहरूको अवलोकन गरेका थिए । बुधबार नै उनलाई झोलुंगे पुल छेउमा भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाले स्वागत गरेको थियो ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?