कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिस्नालाई गाउँमै नागरिकता

वसन्तप्रताप सिंह

बझाङ — १२ वर्ष देखि प्लास्टिकको छाप्रोमा जीवन विताइरहेकी बझाङकी बिस्ना बादीले नागरिकता पाएकी छन । नागरिकता नपाएको बारेमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि प्रतिनिधी सभा सदस्य भैरबबहादुर सिंह र पूर्वसभासद अफिलाल ओखेडालगायतले नागरिकता दिलाउन पहल गरेका हुन् ।

बिस्नालाई गाउँमै नागरिकता

बिस्नाले झुप्रो बनाएर बस्दै आएको केदारस्युँ गाउँपालिकाका वडाध्यक्षद्वय अहिन्द्र शाही र गणेश बोहराको मुचुल्का सिफारिस तथा थलारा गाउँपालिकाको सिफारिसका आधारमा बिस्नालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरले बताए ।


केही दिनअघि सांसद र वडाध्यक्षको सिफारिससहित विद्यार्थी नेताहरूले बिस्नालाई सदरमुकाम लगेर नागरिकताको लागि प्रक्रिया अगाडी बढाएका थिए । विहीबार थलारा गाउँपालिकाको सिफारिस प्राप्त भैसकेपछि नागरिकता बनाएर केदारस्युँ गाउँपालिकाका वडाध्यक्ष मार्फत उनी बसेकै ठाउँमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।


‘सायद जिवनमा खुसी भएको क्षण आजै होला,’ नागरिकता प्राप्त गरेपछि हर्षविभोर हँुदै बिस्नाले भनिन्, ‘आफ्नै झुप्रोमा नागरिकता लिएर आउलान् भनेर कल्पना पनि गरेकी थिइनँ ।’ उनले थलारा गाउँपालिकाका अध्यक्षले केही दिनभित्र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाउने आश्वासन दिएको बताउँदै त्यही रकमले सानो भए पनि घर बनाउने इच्छा भएको सुनाइन् ।


विवाहको केही महिनाभित्रै श्रीमान्को मृत्यु भएपछि १२ वर्षअघि घरनिकाला गरिएकी बिस्ना ढोकासमेत नभएको छाप्रोमा बस्दै आएकी थिइन् । उनले दैनिक जसो यौन दुव्र्यवहार खेप्दै आएको बारे कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि विभिन्न व्यक्तिले सामाजिक संजालमा चासो व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, अनेरास्वियुकी केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नवीना लामालगायतले यो समाचारका विषयमा चासो व्यक्त गरेका थिए ।


लामाकै निर्देशनमा केही दिनअघि अनेरास्वियुका विद्यार्थीले राहत सामग्री संकलन गरी विस्नालाई प्रदान गरेका थिए । संकलित सहयोग सामग्री हस्तान्तरण गर्ने क्रममा प्रतिनिधि सभा सदस्य सिंहले उनलाई नागरिकता दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बिस्नाले नागरिकता प्राप्त गरिसकेको बताउँदै उनको सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया अगाडि बढाइरहेको बताए । गाउँपालिकाको तर्फबाट बिस्नाको आवास र जीविकोपार्जनको लागि रोजगारमूलक सिपको पनि व्यवस्था गरिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?