कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीको कहर : पुलले कहिले लगाउला पार

डडेलधुरा र बैतडीको डेढ सय किलोमिटर लामो महाकाली नदीमा पुल नहुँदा हरेक वर्ष बगेर अकालमा ज्यान गुमाउनुपरेको छ
डीआर पन्त

डडेलधुरा — गतवर्ष महाकाली नदी तर्दा बगेर वैतडीका साबिक पञ्चेश्वर, शर्माली र शिवनाथ गाविसका आधा दर्जन स्थानीयले अकाल ज्यान गुमाए । डडेलधुराको साविक रुपाल, जोगवुढा र शिर्ष गाबिसमा पनि नदी तर्दा ४ जनाको मृत्यु भयो । गतबर्षनै कंचनपुर र डडेलधुरा सिमाना मुसेटीमा पनि सुकेको काठको मुढामा ठोक्किएर एक जनाको ज्यान गयो ।

महाकालीको कहर : पुलले कहिले लगाउला पार

हरेक बर्ष सीमा नदी महाकाली तरेर पारी जान खोज्दा ज्यान गुमाउनेको संख्या दर्जन वढी पुग्ने गर्छ । डडेलधुरा र बैतडीको डेढ सय किलोमिटर लामो महाकाली नदीमा पुल नहुदा हरेक वर्ष यसरीनै सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।


‘सीमा क्षेत्रका वासिन्दाको रोजगारी र गुजाराको माध्यम महाकाली पारीका भारतीय बजार हुन,’ शर्मालीका स्थानीय धर्मदत्त कलौनीले भने, ‘सामान्य उपचार गर्न देखि नुन तेल र रोजगारीका लागि दैनिक सयौं सर्वसाधारण सीमा पारी जान्छन ।’ महाकालीमा पुल नहुंँदा यस क्षेत्रका वासिन्दाले निकै सास्ती वेर्होनु परेको कलौनीले वताए । नदीमा तुइन, असुरक्षित डुंगा, सुकेका काठका मुढा र टु्युववाट दैनिक महाकाली तर्नेको संख्या सयौं हुने गरेको छ ।


रोजगारी र उपचारका लागि मात्र होइन सीमा क्षेत्रवाट दैनिक घांँस दाउराका लागि समेत सर्वसाधारण महाकाली पारी जान्छन । डडेलधुराको रुपाल, जोगवुढा र शिर्षका सर्वसाधारण पनि यसरी नै दैनिक सयौंको संख्यामा महाकाली नदी तरेर सीमा पारी जाने गरेका छन ।


सीमा पारीका टनकपुर, कुमाउँनी, चुका, चम्पावत, तामली र लोहाघाट लगायतका बजारमा जान दैनिक सयौंको संख्यामा सर्वसाधारण जोखिम पूर्ण तरिकाले महाकाली तर्न वाध्य छन । डडेलधुरा जिल्लाको कुल जनसंख्या १ लाख ४९ हजार मध्ये ७५ हजार वढी वसोवास गर्ने जोगवुढा क्षेत्रमा ब्यापारिक उद्देश्यले दैनिक सीमा पारी जानेको संख्या ठूलो छ ।


‘जोगवुढा क्षेत्रमा २ ठाउवाट दैनिक डुंगा चल्ने भएपनि उच्च जोखिम मोलेर महाकाली नदी तर्नुपर्ने वाध्यता छ,’ परशुराम नगरपालिकाका नेकपा नेता शेरसिंह मालले भने, ‘एक दशकमा पटक पटक सरकार प्रमुखहरूले डडेलधुरा र बैतडीका ४ ठाउमा पुल निर्माण गर्ने आश्वास दिएपनि अहिले सम्म कुनै पहल हुन सकेको छैन ।’


उनले दशक यता वनेको हरेक सरकारले पुल वनाउने आश्वासन दिने गरेको बताए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा महाकाली नदीका ४ ठाउमा पुल निर्माण गर्ने सहमति भएको थियो । देउवाको भ्रमण लगत्तै दुवै देशका प्राविधिकहरूले सर्बे समेत गरे । तर त्यो सर्भेमा मात्र सिमित भएको छ । ‘तत्कालीन भारतीय राजदूत रंजित रायले डडेलधुरा र बैतडी भ्रमणका क्रममा पनि महाकाली नदीका ४ ठाउमा तत्काल पुल निर्माण सुरु गर्ने आश्वासन दिएका थिए,’ जोगवुढाका स्थानीय रामदत्त भट्टले भने, ‘राजदूत रायको आश्वासन पनि आश्वासनमै मात्र सिमीत भयो ।’


उनका अनुसार महाकाली नदीमा पुल निर्माण हुन सके नेपाली गाउहरूमा हुने उत्पादनले समेत राम्रो बजार पाउने थियो । ‘जोखिम मोलेर भएपनि सीमा क्षेत्रका वासिन्दा आफ्नो उत्पादन विक्री गर्न पारि जान वाध्य छन्,’ उनले भने ।


सीमा पारि भारतले महाकाली नदी किनारै किनार सडक निर्माण गरिसकेका कारण पनि उपचार र अन्य कामका लागि सर्वसाधारणलाइ सीमा पारि जान सहज हुने गरेको छ । बैतडी र डडेलधुरामा पर्ने महाकाली छेउका वस्ती जिल्ला सदरमुकाम देखि निकै दुर्गममा पर्ने भएका कारण पनि सामान्य कामका लागि पनि सीमा पारि जानुपर्ने वाध्यता छ ।


‘सदरमुकाम वा तराइका कैलाली र कंचनपुर पुग्न दिनभरी लाग्छ । तर सीमा पारिका बजार पुग्न दुइ घण्टा पनि लाग्दैन,’ परशुराम नगरपालिका ५ का पदम भट्टराइले भने, ‘महाकालीमा पुल नहँुंदा जोखिम मोलेर पनि पारि जानै पर्ने नियति भोग्न वाध्य छौं ।’

प्रकाशित : फाल्गुन ३, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?