धनगढी नजिकका गाउँमा पाठेघरका धेरै बिरामी

अर्जुन शाह

(चुरे, कैलाली) — जिल्लाको चुरे गाउँपालिका–३ की ४५ वर्षीया इन्द्रादेवी बाठालाई पाठेघर (आङ खस्ने) समस्या भएको १८ वर्ष भयो । उपचार गर्न लाज मानेकाले उनी वर्षौसम्म रोग लुकाएरै बसिन् । चुरेमा पुगेका चिकित्सकहरुकाअनुसार यहाँका अधिकांश विवाहित महिलाहरु आङ खस्ने समस्याबाट पीडित छन् । 

धनगढी नजिकका गाउँमा पाठेघरका धेरै बिरामी

पाठेघरको समस्या विभिन्न प्रकृतिको हुने चिकित्सक बताउँछन् । पाठेघर खस्ने समस्या ३ तहको हुन्छ । पाठेघर खसेर पहिलो र दोस्रो तहमा पुगेका बिरामीको रिङ राखेर उपचार गर्न सकिने भए पनि तेस्रो तहमा पुगेका बिरामीको भने शल्यक्रिया नै अन्तिम उपाय हुने स्वास्थ्यकर्मी बताउँछन् । ‘मेरो अनुभवमा एउटै गाउँठाउँमा यति धेरै संख्यामा पाठेघरका बिरामी पहिलोपटक देखेँ’ उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. रामविश्वास रायले भने, ‘महिलाहरु लाजले वर्षौंदेखि रोग लुकाएर बसेका भेटिए ।’ २८ वर्षकै उमेरमा पाठेघर खसेका महिलाहरु देखेर आफू चकित परेको डा. रायले सुनाए । उनकाअनुसार सेतो पानी बग्नेलगायत पाठेघरसम्बन्धी समस्या नभएका बिरामी त चुरेमा विरलै भेटिए ।


सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले शुक्रबारदेखि चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालन गरेको २ दिने स्वास्थ्य शिविरमा २ सय १७ जना महिलाहरुमध्ये १ सय ७५ महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । ‘१९ जनाको त पाठेघरको शल्यक्रिया नगरी निको नहुने अवस्था देखियो’ निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने ।


सुदूरपश्चिमको राजधानी तोकिएको कैलाली प्रदेशको सबैभन्दा सुगम जिल्ला मानिन्छ । तर, धनगढीदेखि ५५ किलोमिटरको सडक दूरीमा रहेको कैलालीकै पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाका महिलाहरु भने स्वास्थ्य सुविधाबाट बञ्चित छन् । ‘चुरेका महिलाहरुको स्वास्थ्य अवस्था यस प्रदेशका विकट पहाडी जिल्लाका भन्दा पनि पछाडि छ’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने, ‘यहाँका ग्रामीण महिलाहरुको स्वास्थ्य सुधार मुख्य चुनौती भएको छ ।’


कैलालीमा साविकका निगाली, पण्डौन र सहजपुर गाविस मिलेर हाल चुरे गाउँपालिका बनेको हो । सहजपुरमा सञ्चालन भएको शिविरमा विकटका वडाका बिरामीहरु भने उपचारका लागि अझै नआएको गाउँपालिका उपाध्यक्ष दिपादेवी साउदले बताइन् । उनले भनिन् ‘टाढा गाउँका महिलाहरु त शिविरमा आउनै सकेनन् । टाढाका गाउँमा महिलाको स्वास्थ्य अवस्था झन् नाजुक छ ।’ शिविरमा स्त्रीरोग, बालरोग, दन्त रोगमा सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा उपलब्ध गराइएको शिविर व्यवस्थापक रहेको जनस्वास्थ्य अधिकृत मलासीले बताए । ‘जिल्लाको विकट क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन उद्देश्यले सञ्चालन गरिएको शिविरमा औषधोपचार नि:शुल्क गरेका हौं’, मलासीले भने । त्यसक्रममा आयुर्वेदिक उपचार सेवा पनि उपलब्ध गराइएको निर्देशनालयले जनाएको छ ।


उपचार गराउन आएका महिलाहरु एक दशक समय रोग लुकाएर नबसेका कोही छैनन् । चुरेकै ६० वर्षीया खिमा जोशीले १२ वर्षसम्म रोग लुकाएर बसेको बताएको चिकित्सकहरुले बताए । यति बेला पनि महिला स्वास्थ्य स्वयम् सेविकाहरुको जोडबलले मात्र खिमालगायतका महिला उपचारका लागि गाउँ नजिकै बसेको शिविरमा जचाउन आएको महिला ५ नम्बरकी वडा सदस्य लक्ष्मीदेवि ऐरले बताइन् ।

कतिपय महिला आर्थिक अभावले उपचार गराउन नसकेका बिरामीसमेत रहेको शिविरका आयोजकले बताए । ‘तर यो संख्या न्यून देखियो, शिविरका ब्यवस्थापक निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले भने ‘कतिपय बिरामी महिलाहरुको आर्थिक अवस्था कमजोर देखिए पनि धेरैजसोको समस्या त रोग लुकाएरै बस्ने देखियो ।’ शल्यक्रिया गर्नुपर्ने बिरामीलाई निर्देशनालयको समन्वयमा उपचार व्यवस्था गर्ने कोहलपुर मेडिकल कलेजमा सामाजिक इकाई प्रमुख रामबहादुर मल्ल बताउँछन् । कोहलपुर मेडिकल कलेजका चिकित्सकहरुले शिविरमा चिकित्सकलगायत प्राविधिक सहयोग उपलब्ध गराएको निर्देशनालयले जनाएको छ । पाठेघर खसेर तेस्रो डिग्रीमा पुगेका विरामीको शल्यक्रिया गरी आफ्नै खर्चमा उपचार गराउनु परे न्यूनतम ७५ हजार खर्च लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।


बिहान ५ देखि राति १० बजेसम्म घर बाहिरभित्रको काममा खटिनु चुरेका महिलाहरुको दैनिकी हो । २० वर्ष नपुग्दै बच्चा जन्माउने, पोषणको अभाव, जन्मान्तर नगर्ने, घरमै असुरक्षित सुत्केरी गराउने लगायतका कारण पाठेघर समस्या हुने गरेको डा. रायले बताए ।



प्रकाशित : फाल्गुन ३, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?