स्वास्थ्य सचेतना फैलाउँदै धामी

अर्जुन शाह

धनगढी — बैतडीको पाटन नगरपालिका ६, बेलौलीका ४८ वर्षीय बलदेव केसी पेसाले शिक्षक हुन् । खोड्पेस्थित ज्ञानेश्वर माविका अस्थायी दरबन्दीमा अध्यापन गराउँदै आएका केसीको परिचय शिक्षकका रूपमा मात्र सीमित छैन ।

स्वास्थ्य सचेतना फैलाउँदै धामी

दशकअघिदेखि धामीझाँक्रीको अभिनय गर्दै गाउँ–गाउँमा स्वास्थ्य सचेतना फैलाउँदै हिँड्ने अभियन्ताका रूपमा पनि उनी परिचित छन् । आफैंमा उनी काँप्ने धामी होइनन्, तर उनलाई धेरैले ‘धामी बाजे’ भनेर चिन्छन् ।

केसीले धामीको अभिनय गर्दै काँप्न थालेपछि दर्शकलाई निकै आकर्षित गराउन सक्ने कला प्रस्तुत गर्छन् । उनी काँप्न थालेपछि कतिपय त डराउँछन् पनि । तर, अभिनय कला प्रस्तुत गरी काँप्ने उनी गर्भवती जाँच, सुरक्षित प्रसूति, नियमित स्वास्थ्य जाँच र औषधि सेवन, बालविवाह गर्न नहुने, सरसफाइलगायत स्वास्थ्यसँग सम्बन्धित सचेतनामूलक उपाय बताउन थालेपछि भने धेरैलाई प्रेरणादायी लाग्छ । पहिलोपटक कैलालीको चुरे गाउँपालिकाको सहजपुर पुगेका केसीले धामीको अभिनय गर्दै काँप्न थालेपछि वरिपरि झुम्मिएका दर्शकमध्ये एकले भने, ‘अहो † स्वास्थ्य सचेतना फैलाउने कस्तो राम्रो उपाय ।’

सुदूरपश्चिमका पहाडी जिल्लामा धामीझाँक्रीको प्रभाव र उनीहरूमाथि सर्वसाधारणको विश्वास अझै कायमै छ । रोगव्याधिले थलिँदा अहिले पनि धेरैजसो बिरामी सुरुमा धामीकै घरमा पुग्ने प्रचलन छँदै छ । धामीझाँक्रीको भर पर्दापर्दै कतिपयले अकालमा ज्यान पनि गुमाउँदै आएका छन् ।

यही सामाजिक मनोविज्ञान ख्याल गर्दै बैतडीकै गाउँ–गाउँमा स्वास्थ्य सचेतना फैलाउन केसीले धामीको अभिनय गर्न थालेका हुन् । अहिले उनी बैतडीमा मात्रै सीमित छैनन् । सुदूर पहाडका डोटी, डडेलधुरा, बझाङ, दार्चुला र कैलालीलगायत जिल्लामा पनि स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै हिँड्छन् ।

‘समुदायमा सञ्चालन हुने स्वास्थ्य सचेतनाका कार्यक्रमहरूमा सरकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू सबैले बोलाउँछन्,’ धामीको अभिनय गर्ने शिक्षक केसीले भने, ‘आफूमा भएको कला प्रस्तुत गरी स्वास्थ्य सचेतना फैलाउन पाउँदा म पनि उत्साही हुन्छु ।’ समय व्यवस्थापन गरी हिँड्ने भएकाले शिक्षण पेसामा कुनै अवरोध नहुने उनी बताउँछन् ।

‘कार्यक्रममा बोलाउनेहरूले बाटो खर्च र र खान, बस्ने व्यवस्था गर्छन्,’ उनले सुनाए । स्वास्थ्य क्षेत्रमा पछाडि परेको बैतडीले एक दशकमा फड्को मार्‍यो । डा. गुणराज अवस्थी जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भएका बेला उनले ग्रामीण क्षेत्रमा डुल्ने क्रममा स्वास्थ्यसम्बन्धी जनचेतनाको निकै अभाव देखे । गाउँघरमा धेरैको विश्वास धामीझाँक्रीमै रहेको उनी आफैंले प्रत्यक्ष देखे ।

‘त्यही बेला मैले शिक्षक केसीसँग भएको धामीको अभिनय क्षमतालाई स्वास्थ्य सचेतना फैलाउन प्रयोग गर्ने जुक्ति लगाएको हुँ,’ हाल प्रदेश स्वास्थ्य निर्देशक रहेका अवस्थीले भने, ‘उनलाई आफैंसँग गाउँगाउँमा हुने स्वास्थ्य कार्यक्रममा हिँडाउन थालें । उनले धामीको अभिनय गर्न थालेपछि वरपरका धेरै सर्वसाधारण झुम्मिन्थे । यसबाट सर्वसाधारणमा स्वास्थ्यसम्बन्धी जागरण आयो र बैतडीले स्वास्थ्य शिक्षामा फड्को मार्‍यो ।’

प्राय: सबै गाउँ तथा समुदायमा परम्परागत रूपमा काँप्ने धामी अहिले पनि छन् । पछिल्लो समय सबै धामीलाई संगठित गरी उनीहरूलाई तालिम दिएर स्वास्थ्य सचेतना प्रवाह गराउन परिचालन गर्ने अभ्यास बैतडीबाटै सुरु भएको हो । ‘धामी, ज्योतिषहरू र पण्डित समाजका प्रतिष्ठित व्यक्तिमा गनिन्छन् । सबैले उनीहरूको कुरा स्विकार्छन् । त्यसैले धामीहरूले भनेको कुराले समाजमा सकारात्मक प्रभाव पर्छ,’ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत नवराज कँडेलले भने, ‘यही भएर पहाडी जिल्लाका गाउँ समाजमा धामीलाई स्वास्थ्य सचेतनाको अभियान चलाएका हौं ।’ बैतडीमा धामीहरूको समूह गठन भएर १० वटै स्थानीय तहमा परिचालन हुने गरेको केसी बताउँछन् ।

रुढिवादी परम्परा र अन्धविश्वास तथा धार्मिक मान्यताका कारण धामीमा भरपर्दा गाउँघरमा धेरैले अकालमा ज्यान गुमाउने गरेको ४८ वर्षीय केसी बताउँछन् । ‘सबैले नियमित गर्भ जाँच गराउँदैनन् र सुरक्षित प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा पनि लैजाने चलन छैन,’ उनले भने, ‘धामीलाई यस्ता कुरीति हटाउन प्रयोग गर्दा समाजमा सचेतना जागृत भएको देखिन्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?