अछाम आक्रमणको कालो दिन

आक्रमणमा प्रमुख जिल्ला अधिकारी, पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षक, क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारणसहित १ सय २२ जनाले ज्यान गुमाए
मेनुका ढुंगाना

अछाम — आकाश गड्किएजस्तै गरी आएका बन्दुकका छर्रासँगै ऐया...मरे...आम्मा ... बचाओ ... नमार नमार ... बरु सिधै मारी देउ, यसरी नतड्पाउ भन्दै कोलाहल मच्चिएको २०५८ फागुन ४ को रात । मंगलसैन ५ कि ७३ वर्षीया रत्ना ढुंगाना कहिल्यै बिर्सन सक्दिनन् ।

अछाम आक्रमणको कालो दिन

ध्वस्त भएको अछाम दरबारनजिकै उनको घर छ । त्यो दिनबारे रत्नाले जति आँखाले देखिन्, जति दु:ख, पीडा पाइन् अरूले सायदै पाए होलान् । जसले आँखै अगाडि सयौं नेपाली सेना, कर्मचारी, प्रहरी र जनतालाई मारेको देखिन् ।


माओवादीले आक्रमण गर्ने कुराको सुइँको रामारोशनमा भएका आफन्तले रत्नाको परिवारलाई अघिल्लै दिन दिएका थिए । त्यहीअनुसार उनीहरू घरबाट बाहिर ननिस्किएरै बसे । नभन्दै राति १२ बजेदेखि कालो दिन सुरु भयो । ‘त्यो दिन शनिबार थियो । चारैतिर माओवादीले आक्रमण गर्ने हल्ला फैलिएपछि गाईबस्तुलाई पानीसमेत नदिईकन घरभित्र लुकिरह्यौं,’ उनले भनिन्, ‘माओवादीको निसानामा दरबार परेको थियो । त्यही दरबारसँगै मेरो घर भएकाले बाँच्ने आसै थिएन । कोठा भाडामा लिएर पुलिसहरू मेरै घरमा बस्थे । त्यही कारण पनि हामी असुरक्षित थियौं ।’


उनका अनुसार तत्कालीन विद्रोही माओवादीले सजिलै अछाम दरबार आक्रमण गर्न सकेका होइनन् । जिल्लाभर रहेका हजारौं माओवादी नेता कार्यकर्ता र जिल्ला बाहिरबाट आएकाहरूले समेत बन्दुक, बारुद र जनशक्ति प्रयोग गरी आक्रमण भएको थियो ।


‘बन्दुकसहितको समूहले बालमन्दिर, नाइके टुडो, खुल्लेतोला, साबिकको कारागार र कुडबस्तीको बीच गाउँबाट गरी ५ ठाउँबाट एकैसाथ दरबार ध्वस्त पारेका हुन्,’ उनले सुनाइन्, ‘बीचमा परेको परिवारलाई सेना, प्रहरी र माओवादी दुवै पक्षले आक्रमण गर्‍यो । त्यही दिन मेरो घरमा आफन्त आएका थिए । सबैको जमघट थियो । तर माओवादी पक्षले पुलिस लुकाएको भन्दै घरभित्रका भाँडाकुँडा सबै बाहिर फाले । छोराहरूलाई तानेर लगे । अन्तमा घरको पाखामा बन्दुक हाने ।’


मरे पनि सबैसँगै मरौंला भन्दै एकमाथि अर्को खापिएर बसेको दिन अहिले सम्झँदा झन् पीडा महसुस हुने गरेको उनी बताउँछिन् । ‘एकजना पुलिस मेरो घरमा परिवारसहित बसेको ५ वर्ष भइसकेको थियो । एकै परिवार जस्तो लाग्थ्यौं । उनी राति घरमा आउँथे । त्यो कुरा माओवादीले थाहा पाए । मैले मेरो जेठो छोरा हो भन्दै रोइकराइ गरँे । बचाएँ पनि । अहिले आमा भन्दै ती मान्छे भेट्न आउँदा खुुसी लाग्छ,’ उनले सुनाइन् ।


रत्नाकी बुहारी मुना त्यही बेला गर्भवती थिइन् । अप्ठ्यारो बेला सयजना बढी माओवादीको समूह घरभित्र पसेर लछारपछार गरेको उनले बिर्सेकी छैनन् । ‘माओवादीले घर घेरेपछि उनीहरूले बोल्ने आफ्नै भाषा हामीले पनि जान्यौं । ठूलो स्वरमा खुर्सानी भन्दै माओवादी कराउँथे त्यो भनेको आफ्नो मान्छे मर्‍यो भन्ने रहेछ । पिरो भन्दै कराउँदा शत्रु मार्‍यौं भन्ने रहेछन् । मामा भनेर कराउँदा म यहाँ छ,ु भन्ने रहेछ,’ मुनाले त्यो दिन सम्झँदै भनिन्, ‘मेरै अगाडि एक पुलिसलाई खुकुरी प्रहार गरे । उनकी श्रीमती नमारी दिनुस् भन्दै अँगालोमा थिइन् । माओवादीले काटेकै ठाउँमा नुन–खुसार्नी हाले तड्पाइ तड्पाइ मारे ।’


मुनाका अनुुसार उनको परिवारले २ महिनासम्म बाहिर निस्कनै पाएनन् । घरभित्रै शौच गरे । ‘त्यो परिवारका लागि अन्तिम भरोसा देवीदेवता र भगवान्कै थियो,’ मुना सम्झिन्छन्, ‘माओवादीले आर्मी, पुलिस लुकाएको भन्दै यातना दिने, आर्मी, पुलिसले तिमीहरू माओवादी हौ, भन्दै यातना दिने । दोहोरो मारमा पर्‍यौं । त्यही बेला गर्भमा भएकी मेरी छोरी अहिले अपांग जस्तै छ ।’


मंगलसैन ८ का मीनराज भण्डारी अछाम आक्रमणताका कार्यालय सहयोगीका रूपमा दरबारमै प्रहरीको खाना पकाउँथे । सँगै सुतेका ३ जनालाई उठाएर माओवादीले बन्दुक प्रहार गरी मारेको उनी झल्झली सम्झन् । ‘राति १ बजेर २२ मिनेटमा दरबारमा पहिलोपटक आक्रमण भएको हो । त्यहाँभित्र असुरक्षित महसुस हुने देखेपछि म लगायत टीकाराम जैसी, हर्क भण्डारी र टेकबहादुर थापा सहारा होटलमा गएर सुतेका थियौं । हामी त्यहीँ भएको थाहा पाएपछि आक्रमणकारीले सबैलाई समातिहाले । म फुत्किएर भागें । ३ जनालाई त्यहीँ मारे,’ उनले भने, ‘फागुन ४ गते मेरा लागि नयाँ जन्म पाएको दिन हो ।’ संयोगले यो वर्ष पनि फागुन ४ मा शनिबार परेकाले कालो दिनकै रूपमा मनाउनुपर्ने उनी बताउँछन् ।


तहसनहस भएको १७ वर्ष

अछाम तहसनहस भएको शनिबार १७ वर्ष पूरा भयो । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए । पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो । क्याप्टेनसहित तत्कालीन सेनाको मंगलसेन गुल्म सखाप भयो । क्याप्टेनसहित ५३ सेना मारिए । जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाका ५३, प्रहरीका ५९, निजामतीका २ र सर्वसाधारण ८ गरी मंगलसेनमा १ सय २२ जना मारिए ।


माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गर्‍यो । विमानस्थल सुरक्षामा साँफेबगरमा कार्यरत २७ प्रहरी पनि त्यसै राति मारिए । १७ वर्षको अवधिमा मंगलसेनको भौतिक स्वरूप फेरिए पनि नागरिकलाई भने सास्ती थपिएको छ । बजारभन्दा एक घण्टामाथि ठाडो डाँडामा अधिकांश सरकारी कार्यालयका नयाँ भवनहरू निर्माण भएका छन् ।


शिक्षा कार्यालयबाट प्रशासन पुग्न घन्टौं हिँड्नुपर्ने अवस्थाबाट सर्वसाधारण आक्रोशित छन् । मुख्य आकर्षणका रूपमा रहेको दरबारको पुनर्निर्माण अलपत्र छ ।


आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए । ध्वस्त बनेको १७ वर्ष र पुनर्निर्माण सुरु भएको १० वर्षसम्म पनि दरबार निर्माणको काम अधुरै छ । पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भनी काम थालिए पनि जिम्मा लिने ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।


आवश्यक काठको अभाव देखाउँदै ठेकेदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । दरबार पुनर्निर्माण अनिश्चित बनेको छ । अछाम दरबारमा सुरुमा जिल्ला प्रशासन कार्यालय, तात्कालीन जिल्ला पञ्चायत कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालतलगायतका कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने त्यहाँ जिल्ला प्रशासन सञ्चालनमा थियो ।


१७ वर्षअघिको त्यो रात सम्झँदै मंगलसेनवासी अहिले पनि भक्कानिन्छन् । भएभरका सरकारी संरचना नष्ट भए । भयावह मानवीय क्षति भयो । जायजेथा सबै गुम्यो । बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लिए । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । पहुँच हुने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि धेरैले अझै फिर्ता पाएका छैनन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?