नयाँ सहरको काम सुस्त

कान्तिपुर संवाददाता

अछाम — साँफेबगरमा नयाँ सहरको निर्माण कार्य रोकिएको छ । सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा
सहर विकास गर्ने लक्ष्य राखेपनि यहाँ भने निर्माण कार्यनै रोकिएको हो ।

पहाडी सहरमा शिक्षा, स्वास्थ्य र सञ्चार लगायतको विकास गरी राजधानी र तराईतर्फ भइरहेको बसाइँसराई रोक्नका लागि सरकारले ६ वर्ष अघि नयाँ सहरको काम सुरु गरेको थियो । ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर गुरुयोजना बनाइए पनि निर्माण कार्यमा सरोकारवालाले चासो दिन छाडेको साँफेबगरका स्थानीयले बताए ।


प्रत्येक सहरमा बसपार्क, मनोरञ्जन पार्क, तरकारी बजारलगायत पूर्वाधार निर्माण गर्नुपर्नेमा साफेबगरमा भने काम अगाडि बढ्न सकेको छैन । करिब ३० किलोमिटर सडक स्तरोन्नतिको कामसमेत अलपत्र परेको स्थानीय व्यापारी कृष्ण कुँवरले बताए । आयोजना प्रमुख फेरबदल भइरहने र सरोकारवालाले चासो नदिएकाले स्थानीय आक्रोशित भएको कुँवरको भनाइ छ ।


‘कृषि, शैक्षिक क्षेत्र, पर्यटन सेवा तथा औद्योगिक क्षेत्रहरूको विकास एवं प्रवद्र्धन गरी ग्रामीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको काम अलपत्र पर्नु दु:खद हो,’ उनले भने, ‘यस्तै सुस्त गतिमा काम हुने हो भने सरकारले अपेक्षा गरेका उद्देश्य पूरा हुन कठिन छ ।’ ढिलो गरी पूर्वाधार निर्माण कार्य सुरु भएको साँफेबगरमा निर्माणको गति सुस्त भएको भन्दै स्थानीयवासीले समयमै लक्ष्य प्राप्त हुनेमा शंका व्यक्त गरेका छन् ।


अहिले बुढीगंगा नदीमा शव गृह, श्रीकोटमा गोरेटो बाटो र ठाँटीमा सडकको नाली बनाउने काम मात्रै संचालनमा रहेको आयोजनाका सब–ओभरसियर झंकर बुढाले बताए । अहिले आयोजनाको कार्यालयमा १० जना करारका कर्मचारीबाहेक अरू कोही नभएको ओभरसियर भिमराज कँुवर बताउँछन् ।


‘साउनदेखि कर्मचारीले तलबसमेत पाएका छैनन् । स्थायी कर्मचारी पनि कार्यालयमा कोही छैनन्,’ उनले भने, ‘पहिले देखि सुरु भएका साना योजनाको काम हेर्नेबाहेक अरू काम केही पनि छैन । ठूला योजनाको काम सुरु हुन सकेको छैन ।’

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?