घरबुना सामानले मूल्य पाएन

मोहन शाही

डोटी — दिपायल सिलगढी नगरपालिका ९ मछेन्तोलाको लेकाली भेगमा हिउँ जमेको छ । ओहोरदोहोर गर्न कठिनाइ छ । गाउँकी खिमा साउदलाई भने लेक नगई सुख छैन । उनलाई घंगारु र निंगाला घारीमा नगई हुँदैन । यसबाटै उनको गुजारा चलेको छ । के गर्नु ? मिहिनेतले बनाएको सामानले राम्रो मोल नपाउँदा उनी खिन्न हुन्छिन् ।

घरबुना सामानले मूल्य पाएन

विपन्न परिवारकी खिमा निगालोका डोका, नाग्ला, सुप्पा बनाएर जीविकोपार्जन गर्छिन् । उनकी छिमेकी पशुपति साउद र धौली साउद पनि खिमाझैं दु:ख कष्ट गरेर निगालोका हाते सामग्री बनाएर जीविकोपार्जन गरिरहेका छन् । त्यसका लागि उनीहरूलाई घंगारुका लठ्ठी नभई हुँदैन । निगालोको जंगल गाउँनजिकै भए पनि घंँगारु काट्न दु:ख झेल्नुपर्छ । ‘गाउँनजिक घंगारु पाइँदैन, अलि टाढा जानैपर्छ,’ डोको बेच्ने क्रममा सिलगढी बजारमा भेटिएकी खिमाले भनिन्, ‘हिउँ पन्छाउँदै यस्तो कठ्यांग्रिँदो जाडोमा घंगारु ल्याउन जान्छौं ।’


त्यति दु:ख गरी निगालो, घँंगारु र डोरीहरू जम्मा पारे पनि बुन्न उस्तै दुख र समय खर्च हुने उनीहरूको दुखेसो छ । एउटा डोको बुन्न कम्तीमा चार दिन लाग्छ । केही दिन निगालो काट्न, घंँगारु काट्न खर्च हुन्छ । कहिलेकाहीं निगालो, घंँगारु काट्दा र बुन्दा हात तासिने र काटिने पीडा बेग्लै छ ।


त्यत्रो सकस र मिहिनेत गरी बनाएका सामग्रीहरू बेच्न बजार जाँदा भने मूल्य न्यून पाइने उनीहरूले समस्या पोखे । ‘सिलगढीमा दिनभर बेच्नका लागि डुल्दा पनि मूल्य पाएनौं,’ धौलीले भनिन्, ‘चार सय रुपैयाँ तोकेको डोकोलाई डेढ सय/दुई सय रुपैयाँमा दिएमात्र किन्छौं भन्दा मन खिन्न हुन्छ ।’


बुधबार तीनै जनाले सिलगढी बजारमा ९ वटा डोका पिठ्युँमा बोकेर बिक्रीका लागि ल्याएका थिए । अधिकतम ४ सय रुपैयाँमा पनि कसैले नकिनेपछि उनीहरू निराश भए । ‘हाम्रो त आयस्रोत अरू केही पनि छैन, हातमा यही सीप हो,’ पशुपति साउदले दुखेसो गरिन्, ‘बजारको समस्या हामीलाई भयो, नत्र त दु:खै भए पनि जति पनि डोका डालो बनाउने थियौं ।’


जिल्लामा हातबाट डोका नाम्ला बनाएर जीविकोपार्जन गर्ने किसानहरू थुप्रै छन् । तर, मिहिनेतअनुसारको मूल्य नपाउँदा भने निराश छन् । उनीहरूले स्थानीय सरकारबाट बजार प्रवद्र्धनमा सहयोग गर्न माग गरेका छन् ।


‘स्थानीय सामग्रीहरूको प्रयोगमा प्राथमिकता दिने गरी स्थानीय सरकारहरूले बनाएका नीतिहरूको कार्यान्वयन भएको भए हामीले मिहिनेतअनुसारको मूल्य पाउँथ्यौं,’ पूर्वी चौकी गाउँपालिकाको बगलेकका डम्बर साउदले भने, ‘मूल्य नै नपाउने भएपछि धेरै परिवारले काम गर्न बिस्तारै छोडिरहेका छन् ।’


स्थानीय उत्पादन र सामग्रीहरूको प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न योजनाहरू ल्याइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताए । उनले निजी क्षेत्रसंँगको साझेदारीमा निगालो, बाँसबाट बनेका सामग्रीहरू संकलन गरी बिक्रीवितरण गर्ने नगरपालिकाको तयारी गरिरहेको बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?