कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्सापासबिनै धमाधम घर

मनोज बडू

दार्चुला — सदरमुकाम खलंगामा नक्सा पासबिनै धमाधम घर निर्माण भइरहेका छन् । स्थानीय तहले नक्सापास गरेर मात्र घर निर्माण गर्न सूचना जारी गरे पनि अटेरी गर्दै घर बनाउने बढेका हुन् ।

नक्सापासबिनै धमाधम घर

सदरमुकाम खलंगासमेत रहेको महाकाली नगरपालिका क्षेत्रमा त्यसरी घर बनाउनेहरू धेरै छन । नगरपालिका गठन भएको करिब वर्ष दिन पुग्दासमेत अधिकांशले घरहरूले नक्सापास नगरेको देखिएको छ । थोरै घरको मात्र नक्सा बने पनि पास गर्ने चलनको विकास हुन नसकेको नगरपालिकाका प्राविधिकहरूले बताए ।


अधिकांशले घरको नक्सा नबनाएको भेटिएपछि नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनका क्रममा नयाँ घर बनाउँदा नगरपालिकाको स्वीकृति लिनुपर्नेबारे अधिकांशलाई जानकारी नभएको पाइएको महाकाली नगरपालिकाका सहायक इन्जिनियर राजेन्द्रप्रसाद भट्टले बताए ।


सरकारले स्वीकृति नलिएर नगर क्षेत्रभित्र घर बनाउन नपाइने नियम ल्याएको भए पनि नगरपालिकामा उक्त नियम लागू हुन सकेको छैन । २०७२ को महाभूकम्पपछि सरकारले सबै क्षेत्रमा नक्सापास गरेर मात्र भौतिक संरचना निर्माण गर्न सबै निकायलाई पत्राचार गरेको थियो । नगरमा नक्सापास नगरी स्थानीय धमाधम घर बनाउँदै आएका छन् ।


‘नगरपालिकाका क्षेत्रमा बर्सेनि सयौं घरहरू निर्माण भए पनि नक्सा बनाउने र पास गर्ने परिपाटी देखिंदैन,’ नगरपालिकाका सहायक इन्जिनियर भट्टले भने, ‘नगरपालिकाभित्र बन्ने घरका धनीहरूलाई नक्सा पास गर्न र नया घर बनाउँदा अनिवार्य रूपमा नगरपालिकाको स्वीकृत लिन भने पनि अटेर गरेका छन् ।’ समाजका प्रतिष्ठित मानिसहरूलाई नक्सा पास गर्नुपर्नेबारे जानकारी भए पनि नजानेको जस्तो गर्दै आएको उनले बताए ।


सदरमुकाम खलंगा बजार रहेको महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा यस्तो समस्या धेरै छ । यो क्षेत्रमा यसअघि नै घनाबस्ती र अव्यवस्थित बजाजिकरण छ । यसअघि स्थानीय निकायको रूपमा रहेको अपी नगरपालिका हुदा पनि अनिवार्य रूपमा नक्सा पास गर्न लगाउने निर्णय गरिएको भए पनि लागू हुन नसकेको महाकाली नगरपालिका वडा ४ वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता पुस्करराज जोशीले बताए ।


‘महाकाली नगरपालिका क्षेत्रमा नक्सा पास नगरी घर बनाउने र बाटोको समस्या छ,’ नगरपालिकाका सहायक इन्जिनियर भट्टले भने, ‘घरधनीले एक आना जमिन किनेर त्योभन्दा बढी क्षेत्रफल ओगटेर घर बनाएका छन् ।’ पछिल्लो समय नगरपालिकाले साढे दुई आनाभन्दा तलको जग्गा पास नगर्न नापी र मालपोत कार्यालयमा पत्राचार गरिसकेको हुनाले अब बन्ने घरहरूमा यो समस्या नआउने उनको बुझाइ छ । नगरवासीमा मापदण्डका बारेमा राम्रो जानकारीका साथै सचेतता नहुँदा स्वीकृति नलिने गरेको देखिन्छ । योसँगै यो समस्या जिल्लाका अन्य स्थानीय तहहरूमा पनि रहेको छ ।


जिल्लाको दोस्रो शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार क्षेत्रमा पनि यस्तो समस्या छ । नगरपालिकाले यो वर्षदेखि घर नक्सा पास कार्यविधि २०७५ जारी गरी कार्यान्वयनमा ल्याएको नगरपालिकाका प्रवक्ता माधवराज भट्टले बताए । ‘ग्रामीण भेगमा यो समस्या त छैन,’ उनले भने, ‘गोकुलेश्वर बजार र सडकछेउमा बनेका पुराना घरहरूमा यस्तो समस्या कायम रहेको छ ।’ यहाँका अन्य स्थानीय तहहरूले अनिवार्य रूपमा घर नक्सा पास गर्ने कार्यविधि जारी गरे पनि कडाइका साथ कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।


गाउँमा बजार विस्तार

यस्तै ब्यास गाउँपालिकाको सुन्सेरा र डोकट गाउँमा घर निर्माणको क्रम बढेको छ । सुन्सेरामा ब्यास गाउँपालिकाको केन्द्र स्थापना भएपछि धमाधम घर निर्माण भइरहेका हुन् । ब्यास गाउँपालिका–४ सुन्सेराका मानसिह कुँवर गाउँपालिकाको केन्द्र नजिकै घर बनाउन थालेका छन् ।


सुन्सेरामा गाउँपालिकाको केन्द्रसंँगै विषयगत कार्यालय स्थापना हुन थालेपछि स्थानीय उत्साहित छन् । ‘गाउँको खेत बाँझो राखेर सहर जानुभन्दा गाउँमै खेतीपाती गरेर गुजारा चलाउन सकिने सम्भावना बढ्यो,’ उनले भने ।


सदरमुकाम खलंगामा जमिन किनेर घर बनाउने सोचमा रहेका वडा नम्बर ४ डोकटका दरपानसिंह बिष्टले २ बर्षदेखि रकमको जोहो गर्दै थिए । घर नजिकै तिंकर सडक निर्माण र सुन्सेरा गाउँमा गाउँपालिकाको केन्द्र स्थापना भएपछि अहिले गाउँमै घर बनाउन थालेको उनले बताए । तिंकर सडक छेउमा यहाँका धेरै बासिन्दाले आधुनिक घर निर्माण गर्न थालेका छन् ।


सदरमुकाम खलंगामा मात्रै केन्द्रित सरकारी सेवा सुविधा गाउँ–गाउँसम्म पुगेको छ । ‘सबै किसिमका सेवाहरू गाउँमै पाइन थालेपछि सदरमुकाम जान मनले मानेन्,’ बिष्टले भने । केही समयअघिसम्म बिकट मानिएका गाउँमा अहिले सेवाग्राहीको भीड लाग्न थालेको छ । केन्द्र तोकिएका बजारहरूमा चहलपहल बढ्दो छ । ती बजारहरूमा घर जग्गाको कारोबारसमेत बढेको छ ।


नेपाली नागरिकता लिनबाहेक अन्य सबै काम गाउँमै हुन थालेपछि शहर केन्द्रित भएका स्थानीय पनि गाउँ फर्कन थालेका छन् । गाउँमा ताजा तरकारी र खाद्यान्नलगायतका अर्गानिक सामान पाईने भएकाले गाउँ केन्द्रित बसाई बढ्न लागेको सुन्सेराका स्थानीय अमरसिंह कुँवरले बताए ।


यस्तै दुहु गाउँपालिकाको केन्द्र हिकिलामा पनि घर निर्माण धमाधम भइरहेका छन । ‘हिकिलासम्म अघिल्लो बर्ष नै गाडी पुगेपछि दैनिक उपभोग्य बस्तुहरू किन्न खलंगा पुग्नु पर्दैन,’ दुहु गाउँपालिका–२ हिकिलाका ठाकुरसिंह बडालले भने, ‘अहिले सबै वस्तुहरू यतै पाइन्छन् ।’ स्थानीय बजारमा नपाइने सामान सदरमुकाम फोन गरेर गाडी मार्फत ढुवानी गरिन्छ । आफूहरू अतिआवश्यक कामका लागि मात्रै सदरमुकाम जाने गरेको उनको भनाइ छ ।


हिकिलामा बजार विस्तार भएपछि स्थानीय ब्यापार व्यवसायमा लागेका छन् । तरकारी उत्पादन, पर्यटन प्रवद्र्धन र नगदेबाली उत्पादनमा जुट्न थालेका छन् । सदरमुकाम खलंगाबाट दिनहुँजसो पिठ्युँमा भारी बोकेर गुजारा चलाउने यहाँका स्थानीय गाउँमै सडक पुगेपछि व्यवसाय गर्न थालेको दुहु गाउँपालिका–१ पिपलचौरीका डम्मरसिंह बोहराले बताए । गाउँपालिकाको आन्तरिक आम्दानीको भरपर्दो स्रोत जुटाउने प्रयासमा लागेको ब्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?