कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डोजर थन्किँदा अत्तालिए जनप्रतिनिधि

मोहन शाही

डोटी — संघीय सरकारले ल्याएको कानुनले स्थानीय तहहरूले हचुवाका भरमा खरिद गरेका डोजर थन्किने भएका छन् ।

डोजर थन्किँदा अत्तालिए जनप्रतिनिधि

सरकारले एक करोड रुपैयाँभन्दा मुनिका सडकमा डोजर प्रयोग गर्न नपाउने कानुन ल्याएको छ । यस्तो कानुनले करोडौं खर्चेर ल्याएका मेसिनरी उपकरणले नयाँ ट्रयाक खोल्न नपाएपछि ती स्थानीय तहमा आर्थिक व्ययभार बढ्ने देखिन्छ ।


‘इन्धन, चालक र सहजकर्ताको खर्च पनि गाउँपालिकाले बेहोर्नुपर्ने देखियो,’ केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘सुरुमा हामीले स्थानीय तहको आयस्रोतका रूपमा लिएर खरिद गरेका हौं ।’ उनले अझै ४० प्रतिशत क्षेत्रमा नयाँ ट्रयाक खोल्न बाँकी रहेको बताए ।

डोटीमा ९ वटै स्थानीय तहहरूले डोजर खरिद गरिसकेका छन् ।


अन्धाधुन्द डोजर प्रयोग गर्दा प्राकृतिक विपद्समेत बढ्न लागेपछि संघीय सरकारले डोजर प्रयोगमा नियमन गरेको हो । स्थानीय तहहरूले कार्यक्षेत्रभित्र आफ्नै डोजर प्रयोग गरी काम गर्न उपभोक्ता समितिहरूलाई निर्देशन दिने गरेका छन् । तर कमिसन, व्यक्ति तथा राजनीतिक स्वार्थले निजी क्षेत्रका डोजर प्रयोग गर्ने क्रम पनि पहाडी क्षेत्रमा बढेको छ ।


निजी क्षेत्रका डोजरलाई सो कानुनले भने असर नपार्ने निर्माण व्यवसायी संघका उपाध्यक्ष रमेश कठायतले बताए । उपभोक्ता समिति मार्फत काम गराउने परिपाटीले भ्रष्टाचार मौलाएकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनको माग छ ।


‘डोजर प्रयोग विषयमा स्थानीयस्तरमा कार्यविधि कार्यान्वयन भइसकेको छैन, हामी पनि अध्ययन गरिरहेका छौं,’ कठायतले भने, ‘सरकारले डोजर प्रयोगबाट हुने क्षति रोक्न, भ्रष्टाचार कम गर्न इस्टिमेट सही छ/छैन ? वातावरणीय अध्ययन गरे नगरेको भन्नेतिर ध्यान दिन जरुरी छ ।’


डोजर प्रयोगले क्षति बढी

डोजरको प्रयोगले पूर्वाधार निर्माण चाँडो हुने भए पनि क्षति पनि बढाउँदै लगेको छ । उर्वर जमिन पटान हुने, पानीका प्राकृतिक मूलहरू सुक्ने, खोला नाला पुरिने तथा बाढी पहिरो आउनेजस्ता विकराल समस्या देखिन थालेको वैकल्पिक ऊर्जा प्रवद्र्धन तथा पर्यावरण क्षेत्रमा डेढ दशक काम गरेका टेकबहादुर बलायर बताउँछन् ।


उनले डोजर जथाभावी प्रयोगको सरकारले समयमै नियमन गर्न नसक्नु दु:खद रहेको बताए । गर्मीयाममा धारामा पानी नझर्दा दिपायलवासीका लागि सहारा दिने बेडेखोला मूलको पानी ५ वर्षयता सुकेको छ ।


मूलको सिरानीमा डोजर प्रयोग गरेर बाटो र घडेरी बनाएपछि पानीको मूल पुरिएको थियो । ‘मूल कता हरायो कता,’ स्थानीय प्रकाश मौनीले भने, ‘अहिले धारामा पानी नआउँदा सेतीको पानी बोक्नुपर्छ ।’


त्यस्तै दिपायल कुमालीकोटका किसानले सिँचाइ गर्ने भम्क ताल पनि सुकिसकेको छ । गर्मीयाममा अहिले कुमालीकोटका किसानहरूले सिँचाइका लागि आकाशेपानीको भर पर्नुपर्ने बाध्यता रहेको ८० वर्षीय शेरबहादुर कठायतले बताए ।


पछिल्ला समय डोजरको अत्यधिक प्रयोग र वन विनाशका कारणले सुदूरपहाडमा पानीका स्रोतहरू भटाभट सुक्न थालेका छन् । जिल्ला विकास समिति डोटीले ०७२ सालमा प्रकाशन गरेको जिल्ला प्रोफाइलअनुसार डोटीमा ६६ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको भए पनि ३६.४५ प्रतिशत जनसंख्या सुरक्षित खानेपानीबाट वञ्चित हुनुपरेको छ । बर्सेनि पानीको स्रोत घट्दै गएको जिल्ला

वनका रेन्जर सुरेश रोकायाले बताए ।


डोटीमा रहेको छतिवन ताल, खप्तडमा रहेको छेडेदहमा पानीको सतह घटिसकेको छ । आदर्श गाउँपालिकामा रहेको मौवादह, तेलेलेकमा रहेका लामीताल, खकरेताल, बाटुलीताल, चुरमुनी ताललगायत पनि सुकिसकेका छन् । डोटीमा पानीको मुख्य स्रोत भनेका खप्तड राष्ट्रिय निकुञ्ज र तेलेलेक क्षेत्र हुन् ।


यी दुवै क्षेत्रमा भइरहेको अवैध कार्यले वातावरण प्रतिकूल भई पानीको स्रोत घट्दै गएको दाबी कार्कीको छ । ‘त्यही भएकाले तेलेलेकलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी छ, स्थानीयले समेत नकारात्मक असरहरू देखिन थालेको भन्दै गुनासो गरिरहेका छन,’ वन अधिकृत रोकायाले भने, ‘वनजंगलको संरक्षणमा नजुट्ने हो भने विकराल समस्या आउन सक्छ ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?