लिटोले डोहोर्‍यायो विद्यालय

मेनुका ढुंगाना

अछाम — दिवा खाजा (लिटो) कार्यक्रम लागू भएपछि यहाका विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उमेर नै नपुगेका बालबालिका पनि आफ्ना दाजुदिदीसँग विद्यालय आउने गरेको भेटिएको छ ।

मंगलसेन नगरपालिका १३ बस्तीमा रहेको कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नैनसिंह धामीले दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको उपस्थिति बढेको बताए । उमेर नै नपुगेका साना बालबालिका पनि लिटो खान पाइने भएपछि अन्य विद्यार्थीसँगै स्कुल आउने गरेको उनले जानकारी दिए ।


सिकाइ उपलब्धि दर बढेको र बालबालिकाको पोषण अवस्थामा पनि सुधार आउन थालेको पाइएको छ । ठूला ढुंगा आधारभूत विद्यालय लुंग्राका प्रधानाध्यापक राजेन्द्र खड्काले यसअघि हाफ छुट्टीपछि प्राय: पढाइ छोडेर घर जाने बालबालिका खाजा कार्यक्रम लागू भएपछि अन्तिम समयसम्म कक्षामा बस्ने गरेको बताए ।


‘बिहान छिटै खाना खाएर आउने बालबालिका १ बजेपछि भोक लागेर घर हिँड्थे । खाजा कार्यक्रम लागू भएपछि भने पूरै समय विद्यालयमा बस्न थालेका छन्,’ उनले भने, ‘विद्यार्थी नियमित उपस्थित र पुरै समय बस्दा पठनपाठनमा समेत सजिलो भएको छ ।’ कुनै दिन घरायसी कामले बिहान विद्यालय आउन नपाएका बालबालिका गाउँनजिकै स्कुल भएकाले खाजा खाने समयमा भए पनि विद्यालय आउने गरेको उनले सुनाए ।


विद्यालयमा कुनै दिन खाजा नपाक्दा बालबालिकाहरूले खाजा किन नपकाएको भनेर सोध्ने गरेको शिक्षक बताउँछन् । खाजा कार्यक्रम लागू भएपछि विद्यार्थीको नियमितता, टिकाउ दरमा वृद्धि भएकाले सिकाइ उपलब्धिमा पनि वृद्धि भएको उनीहरूको भनाइ छ । विद्यार्थी उपस्थित हुँदा उसले नियमित पढ्न पाउने भएकाले सिकाइ उपलब्धि दर बढ्नुका साथै पोषणको अवस्थामा समेत सुधार आउने गरेको अलकनन्दा माविका शिक्षक हरि खत्रीले बताए । खाजा कार्यक्रमकै कारणले मात्र पनि करिब १५ प्रतिशत जति सिकाइ उपलब्धि दरमा वृद्धि भएको खत्रीको अनुमान छ ।


अधिकांश बालबालिका खाजा बोकेर विद्यालय नजाने भएकाले भोक लाग्दा घर आउने गरेका थिए । खाजा कार्यक्रमले उनीहरूलाई विद्यालयमै पूरै समय बस्न सजिलो भएको विद्यालय खाजा कार्यक्रमका इकाइ प्रमुख विद्यासागर महतोले बताए । उनका अनुसार अछाममा साबिकको ४२ वटा गाविसका बालविकास केन्द्र, प्रावि र निमावि गरी ३ सय ७० शैक्षिक संस्थामा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ ।


नियमित विद्यालय जाँदैनन् छात्रा

अछामको ढकारी गाउँपालिका ४ बलाता गाउकी शोभा साउँद ९ वर्षको उमेरमा स्कुल भर्ना भइन् । सरकारले सामुदायिक विद्यालयमा नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालय जान आवश्यक पर्ने शैक्षिक सामग्रीको अभावमा उनी समयमै भर्ना हुन नसकेकी हुन् ।


आफूभन्दा पछिका दुई भाइलाई आमाले जेनतेन गुजारा गरी स्कुल पठाइन् । शोभा हेरालो लाग्न थालिन् । बुवाको मृत्युपछि आमाले दैनिक ज्याला मजदुरी गर्न थालिन् । साँझबिहानको छाक टार्नसमेत मुस्किल भएपछि छोरीलाई विद्यालय भर्ना गर्ने सपना पनि देख्न छोडेको आमा मैना विकले सुनाइन् ।


‘आफूलाई साँझबिहान खानकै समस्या छ, कसरी मैले ड्रेस र कापीकलम किनेर स्कुल पठाउँथें ?’ उनले भनिन्, ‘केही संघसंस्थाले विद्यालय भर्ना गर्न सहयोग गर्ने भनेपछि छोरीलाई पनि स्कुल पठाएँ । तर, खाने गुजारा चलाउनका लागि छोरीले हप्ताको ३ दिन स्कुल छोड्नैपर्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?