१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बैंक विस्तारले कारोबार सहज

कान्तिपुर संवाददाता

दार्चुला — केही महिना अघिसम्म अपी हिमाल गाउँपालिकाका स्थानीय बासिन्दा बैंकिङ कारोबारका लागि ५ दिन लगाएर सदरमुकाम ओहोरदोहोर गर्थे । अहिले गाउँपालिकाकै केन्द्र खण्डेश्वरीमा माछापुच्छ्रे बैंकको शाखा खुलेपछि उनीहरूलाई निकै सजिलो भएको छ । सडकको पहुँच नपुगेको र सदरमुकामबाट टाढाको उक्त गाउँपालिकामा माघको पहिलो साता बैंकको शाखा स्थापना भएपछि स्थानीयले राहत पाएका हुन् । 

सोही बैंकले माघको पहिलो सातामै ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि अर्को शाखा सञ्चालनमा ल्यायो । संघीय संरचनामा नजाँदासम्म सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा मात्र सञ्चालनमा रहेका बैंक अहिले जिल्लाका ९ वटै स्थानीय तहमा विस्तार भएका छन । यहाँका स्थानीयलाई आफ्नै घर आँगनमै बैंकिङ कारोबार गर्न सहज भएको छ । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको छ ।


स्थानीयस्तरमा बैंक नहुँदा बचत गर्न जोखिम मोलेर सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको ब्याँस गाउँपालिका ५ धौलाकोटका मानसिंह धामीले बताए । स्थानीय तहहरू आर्थिक कारोबार बैंकमार्फत गर्दा कुनै घाटा नभई फाइदा हुने भन्दै स्थानीयलाई वित्तीय सचेतना जगाउन थालेका छन । उनीहरू सर्वसाधारणलाई बैंकको पहुँचमा ल्याउने प्रयासमा लागेका छन् । ‘सबै बैकिङ कारोबार बैंकमार्फत नै गरिरहेका छौ,’ ब्याँस गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, ‘गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत मात्र दिने गरेको छ ।’


ग्रामीण क्षेत्रमा दैनिक घरधन्दा चलाउने जिम्मेवारी महिलाहरूको काँधमा हुन्छ । ‘यसअघि ग्रामीण भेगमा पुरुष वा महिलाले कमाएको रकम बचत गर्ने सुरक्षित ठाउँ नहुँदा त्यसै खर्च गर्नुपथ्र्यो,’ ब्याँस गाउँपालिका ६ की सिर्जनशील महिला समूहकी अध्यक्ष पार्वती खातीले भनिन्, ‘बचत गर्ने सुरक्षित ठाउँ नहुँदा चोरीका घटना धेरै सुनिन्थे, बैकमा जम्मा गर्दा ढुक्क भएका छांै ।’


किसानलाई आर्थिक रूपमा बलियो बनाउन बैंक आफैंले मूल्यांकन गरी लगानी गर्ने वातावरण सिर्जना गर्न लागेको माछापुच्छ्रे बैंक सुन्सेरा शाखाका प्रबन्धक स्तरमा पन्तले बताए । चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन आफूहरूले घर–घरमा गएर सहजीकरण गर्दै आएको उनको भनाइ छ । सरकारले बजेट सार्वजनिक गर्ने क्रममा ‘एक घर, एक बैंक खाता’ को लक्ष्य लिएअनुरूप नै ब्याँस गाउँपालिकाले काम गरिरहेको उनले जानकारी दिए ।


राष्ट्र बैंकले मुलुकमा सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरूलाई गत आर्थिक वर्षको असार मसान्तभित्र सबै स्थानीय तहहरूमा आफ्नो बैंकको शाखा खोल्न निर्देशन दिएको भए पनि बैंकहरूले भौतिक संरचना र सुरक्षाको कारण देखाउँदै ढिला गरी बैंकहरू सञ्चालनमा ल्याएका हुन् ।


जिल्लाका सबै स्थानीय तहमा बैंकको शाखा विस्तारले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ । स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण सिर्जना हुने बैंकहरूले जनाएका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?