कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइनले अलमल

अनलाइन प्रणालीबाट काम सुरू गर्नुअघि कर्मचारीलाई त्यसमा दक्ष नबनाउँदा झन्झट
भवानी भट्ट

कञ्चनपुर — डडेलधुराका वीरबहादुर ऐर जग्गा पास गराउन ३ दिनदेखि महेन्द्रनगरमा छन् । यहाँ पुगेकै दिनदेखि उनी दिनहुँ भूमिसुधार तथा मालपोत कार्यालय धाइरहेका छन् । अझै उक्त काम सक्न कति दिन लाग्ने हो, थाहा छैन ।

मालपोतका सबै काम अनलाइनबाट गर्न थालेपछि विगतको तुलनामा झनै सस्ती पाइएको उनले बताए ।


मालपोत कार्यालयको सेवा प्रवाहमा पहिल्यैदेखि ढिलासुस्ती हुने गुनासो थियो । छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले गत सातादेखि अनलाइन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् । अनलाइन प्रणालीबाट काम सुरु भएपछि हरेक दिन बिहान सेवाग्राहीलाई टोकन वितरण गर्ने र त्यसैका आधारमा सेवा प्रवाह गर्न थालिएको छ । तर टोकन वितरणदेखि सेवा प्रदान गर्ने काम व्यवस्थित हुन नसक्दा सेवाग्राहीले सास्ती पाएका हुन् ।


‘दुई दिनसम्म त टोकन नै पाइएन, टोकन पाइए पनि काम गर्न झनै सास्ती छ,’ ऐरले भने, ‘एकै जनाको काम गर्न डेढ/दुई घण्टा लागिरहेको छ, अझ केही बिग्रे पूरै दिन त्यसैमा जान्छ ।’ उनले अनलाइनका नाममा सेवाग्राहीको काम गर्न ढिलाइ भइरहे पनि लेखापढी व्यवसायीमार्फत जानेको काम भने तत्कालै भइरहेको बताए ।


‘३ दिन भयो आज टोकन पाइयो,’ महेन्द्रनगरकै स्थानीय राजेन्द्र चन्दले भने, ‘अब काम हुन कति दिन लाग्छ ।’ उनी आइतबारदेखि बैंकिङ कार्यका लागि जग्गा रोक्का गर्न मालपोत कार्यालय धाइरहेका छन् ।


अनलाइन प्रणालीबाट काम सुरु गर्नुभन्दा पहिले कर्मचारीलाई त्यसमा दक्ष नबनाएरै सेवा सुरु गर्दा समस्या भएको हो । अहिले कम्प्युटरमार्फत ४ जनाले सेवा दिइरहेका छन् । एउटा सेवाग्राहीलाई डेढ/दुई घण्टा समय लागिरहेको छ । कर्मचारी दक्ष भए ५ देखि १० मिनेटमा सबै काम सकिने मालपोतकै कर्मचारी बताउँछन् ।


विगतमा पनि कर्मचारीहरूले पैसा असुल्न विभिन्न बहानामा ढिलासुस्ती गर्ने गरिएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । फाँटैपिच्छे कर्मचारीहरूले रकम असुल्ने गर्थे । अब अनलाइन सुरु भएपछि कर्मचारीबाटै टोकनहरू बिक्री हुन थालेका छन् । कार्यालयले निःशुल्क वितरण गर्ने टोकन कर्मचारीले आफैं राखेर वा लेखापढी व्यवसायीमार्फत बिक्री गर्न थालेको सेवाग्राहीको गुनासो छ ।


‘अहिले पनि लेखापढी व्यवसायीमार्फत गयो भने तत्काल काम भइरहेको छ,’ ऐरले भने, ‘तर त्यसमा दोब्बर, तेब्बर खर्च लागिरहेको छ ।’ ग्रामीण क्षेत्रका सर्वसाधारणले दिनभरि लाइनमा उभिएर पनि टोकन नपाएको उनले बताए । टोकन वितरण गर्न थालेपछि अहिले मालपोतभित्र सेवाग्राहीको लामै लाइन देखिन थालेको छ ।


‘दक्ष कर्मचारी नभएका कारण केही समस्या भएको छ,’ भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख धर्मानन्द भट्टले भने, ‘कर्मचारी पनि पर्यााप्त छैनन्, नयाँ तरिकाले काम सुरु गर्दा केही अलमल भएको छ ।’ उनले विभागमा थप कर्मचारी पठाउन आग्रह गरिए पनि अहिलेसम्म कर्मचारी नआएको बताए । उनका अनुसार अहिले विभागबाट एकजना तालिमप्राप्त कर्मचारी आएका छन् ।


यहाँका कर्मचारीलाई अनलाइन प्रणालीबारे एक साताको तालिम दिइएको थियो । तर उक्त तालिम पर्याप्त नभएको कर्मचारी बताउँछन् । कर्मचारीलाई दक्ष नबनाउँदासम्म सेवाग्राहीले सास्ती पाइराख्ने उनीहरू बताउँछन् । मालपोत कार्यालयमा शुक्रबारदेखि अनलाइन प्रणालीबाट काम गर्न सुरु गरिएको हो ।


अनलाइनबाट काम सुरु भएपछि दिनमा २५/३० जनालाई मात्रै सेवा दिन सकिएको छ । त्यसअघि मालपोतले दैनिक ५० जनाभन्दा बढीलाई सेवा दिंदै आएको मालपोत अधिकृत भट्टले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?