१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शिरमा झुमझुमी सिउँदोमा चन्द्राहार

मनोज बडु

दार्चुला — यहाँका स्थानीय बासिन्दाले परम्परागत पहिरन र गहना विशेष दिनमा मात्र लगाउन थालेका छन् । सार्वजनिक कार्यक्रममा परम्परागत गहना र पोसाकमा सजिएर स्थानीय भाषामा गीत गाउँछन् । नृत्य प्रदर्शन गर्छन् ।

शिरमा झुमझुमी सिउँदोमा चन्द्राहार

त्यस्ता पोसाकमा सजिएर आफ्ना परम्परागत भाका र लयमा गीत गाउँदा हेर्नेको भीड नै लाग्छ । अरू दिन यस्ता गहना र पोसाक लगाउने घटेका छन् ।


दार्चुलामा बसोबास गर्ने विभिन्न जातजाति र ठाउँ विशेषको फरक फरक संस्कृति र वेशभूषा छ । फरक संस्कार र रहनसहन छ । एउटै बस्तीमा पनि समुदायपिच्छेको फरक संस्कृतिले बाहिरबाट जानेलाई लोभ्याउँछ तर स्थानीयले विशेष दिनबाहेक अरु बेला पुराना पहिरन र गरगहना लगाउन भने छाडेका छन् ।


परम्परागत पोसाक र गहना हेर्न मेला, महोत्सव र सार्वजनिक कार्यक्रम कुर्नुपर्ने अवस्था छ । ‘अन्य दिनमा देख्नै मुस्किल छ । सामान्य दिनमा कसैले लगाउँदैनन्,’ महाकाली नगरपालिका ४ खलंगाका ६७ वर्षीय लक्ष्मीदत्त जोशीले भने, ‘यी लुगा र गरगहना लगाउन विशेष अवसर नै कुर्नुपर्छ ।’


केही वर्षअघिसम्म स्थानीय महिला परम्परागत गहनाले शिरदेखि पाउसम्म झकिझकाउ देखिन्थे । शिरमा झुमझुमी, चन्द्राहारदेखि खुट्टामा पैडा पहिरिन्थे । झुमझुमी एक कानदेखि अर्को कानसम्म लगाइन्थ्यो । सिउँदोदेखि निधारसम्म चन्द्राहारले ढाक्थ्यो ।


नाकमा फुली, बुलाकी र नथ, कानमा ढेरी, घाँटीमा कण्ठश्री, सुता, हैकल, अङज्याङमाला, जौमाला, पट्टी र पोती, नाडीमा लगाउने बाहा र काकन तथा पछ्यौरी अड्याउने सारा जेउडी अहिले औपचारिक कार्यक्रममा मात्रै देख्न पाइन्छ ।


दुहु क्षेत्रका महिलाले कालो ऊनी राडीमा रातो धागोको किनारा, सेतै पटुकी, सेतै मुणेठी (टाउको राख्ने) टाउकामा लगाएर दार्चुला महोत्सवमा नृत्य प्रदर्शन गर्दा पुराना दिनको झझल्को आएको स्थानीय कृष्णानन्द जोशीले बताए । ‘सामान्य दिनमा पुराना पहिरन र गरगहना लगाउनै छोडिएको छ । कहिले केही अवसर आयो भने मात्रै लगाइन्छ,’ उनले भने, ‘पुरानो रीतिथितिसँगै लुगा र गहना पनि बिर्सिंदै गएको महसुस हुन्छ ।’


परम्परागत रूपमा लगाइने लुगा र गहना प्रायः सबैको घरमा हुने भए पनि गहना भने हुनेखानेका घरमा मात्रै पाइन्छन् । ‘जसको आर्थिक अवस्था राम्रो हुन्छ, उनीहरूले पुराना गहना किनेर राख्छन्,’ जोशीले भने, ‘सामान्य परिवारमा पुराना गहना भेटिँदैनन् ।’ बुबाबाजेका पालामा बनाएका पुराना गहना मात्रै छन् । अहिले पुराना गहना बनाउने ठाउँ पनि भेटिँदैन । त्यसकारण पनि पुराना गहना कसैले नबनाउने उनको भनाइ छ ।


‘शिरदेखि पाउसम्मका गहना त हुनेखानेसँग मात्रै हुन्थे तर कसैसँग सुता, कसैसँग माला, कसैसँग काकन, कसैसँग वाहा मात्रै हुन्थे,’ विगत स्मरण गर्दै मार्मा गाउँपालिका २ का ५७ वर्षीया जैमती सिंहले भनिन्, ‘मेला महोत्सवजस्ता सार्वजनिक कार्यक्रममा लगाउनका लागि जोसँग छन्, ती परिवारसित मागेर काम चलाउँछौं ।’


कुनै ठाउँमा त समाज तथा समूहमा त्यस्ता परम्परागत गहना र पोसाक जोहो गरेर राखेका हुन्छन् । कुनै व्यक्तिसित माग्नुपर्दैन । परम्परागत पोसाक र गहना नयाँ पुस्ताका मानिसले लगाउन पनि जान्दैनन् । मेला, बिहे, भोजजस्ता कार्यक्रममा गहना र पोसाक लगाउँछन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?