कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

यौन समस्या लुकाउँछन् महिला

कतिपय गाउँमा देवीदेउता रिसाएका कारण पाठेघर खसेको गलत मान्यता अझै व्याप्त छ । धेरैले लोकलाजका कारण आफन्तलाई पनि स्वास्थ्य समस्या सुनाउँदैनन् ।
मेनुका ढुंगाना

अछाम — ढकारी गाउँपालिका ४ की ३२ वर्षीया नौमती (नाम परिवर्तन) स्वास्थ्य समस्याले थला परेकी छन् । उनको तल्लो पेट दुख्ने, पिठ्यूँ खसेजस्तो हुने, योनिबाट गन्ध आउने, पहेंलो पानी बग्ने र पिसाब फेर्न मुस्किल हुने गरेको छ । आफन्तले सोधपुछ गर्दा जहिल्यै टाउको दुखेको भन्दै झूटो बोल्छिन् । 

यौन समस्या लुकाउँछन् महिला

घरपरिवारले थाहा पाएमा लाज हुन्छ भन्ने सोचाइले ३ वर्षदेखि उनी आफ्नो समस्या लुकाएरै बसेकी छन् । ‘गाउँको स्वास्थ्यचौकीमा आफ्नै चिनजानका मान्छे हुन्छन् । उनीहरूलाई आफ्नो समस्या सुनाउन लाज लाग्छ,’ उनले भनिन्, ‘मभित्रको पीडाले मेरो ज्यान कमजोर भइसक्यो । श्रीमान् ३ वर्षदेखि घर आउनुभएको छैन । अरूलाई भन्नै सकिँदैन ।’

यौन समस्या अरूलाई सुनाउँदा लाज हुन्छ भन्ने सोचाइका कारण ग्रामीण बस्तीमा बसोबास गर्ने महिला रोग लुकाएरै बसेका छन् । सामान्यतः महिलाको विवाह गर्ने उमेर २० वर्ष कटेपछि मात्रै हो । यो उमेरका महिलाले सन्तान जन्माउन पनि शारीरिक रूपमा सक्षम हुन्छन् । यहाँका ग्रामीण भेगका महिला भने २० वर्षमै ३/४ सन्तानका आमा भइसकेका हुन्छन् । २५ देखि ३० वर्षको उमेरसम्म उनीहरूमा केही न केही यौन समस्या देखा पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

मंगलसैन १३ की २५ वर्षीया मन्कला विकलाई यो उमेरमा विवाह गरी बालबच्चा जन्माउने मात्रै होइन, पाठेघरसमेत फाल्नुपर्ने बाध्यता आइलाग्यो । उनको पाठेघर खसेर अन्तिम अवस्थामा पुगेको छ । १४ वर्षको उमेरमै विवाह भएकी धनसराले ३ सन्तान जन्माइसकेकी छन् । ४ पटक उनको गर्भ नै खेर गयो । सबै सन्तान जन्मिँदा गाउँकै सुडेनीको सहायताले सुत्केरी गराएको उनले बताइन् ।

पहिलो सन्तान जन्मनेबित्तिकै पाठेघर केही तल खसेको महसुस गरेकी थिइन् । उतिबेला आफ्नो समस्याबारे कसैलाई भन्न सकिनन् । दोस्रो र तेस्रो सन्तान जन्माउँदासम्म पाठेघर पूरै बाहिर आइसकेको थियो । बिस्तारै हिँडडुल गर्न नसक्ने भइन् । रोगले साह्रै भएपछि २ वर्षअघि जिल्ला अस्पतालमा जँचाउँदा चिकित्सकले शल्यक्रिया गर्न सुझाए ।

श्रीमान् आएपछि मात्रै उपचार गर्ने अवगत गराइन् डाक्टरलाई । बिनाउपचार घर फर्किइन् तर अहिलेसम्म शल्यक्रिया भएको छैन । ‘२१ वर्षमा ३ सन्तान जन्मिए, ४ पटक गर्भ खेर गयो । यही कारणले मेरो ज्यान जोखिममा छ । अहिले त धाराबाट पानी ल्याउनसमेत सक्दिनँ, डाक्टरले पोषिलो खानेकुरा र आरामको अभावले पाठेघर खसेको बताए,’ उनले भनिन्, ‘कहाँबाट पोषिलो खानेकुरा पाउनु ? त्यसैमा २ दिनकै सुत्केरी धान गोड्न, खेतबारीको काम गर्न गएँ । हातमा पैसो भएको बेला केही किनेर खाऊँ भने पनि बजार नजिक छैन ।’

यस्तै मंगलसैन ८ की ६३ वर्षीया नामसरा खनालले पाठेघर खसेको २८ वर्षपछि आफ्नो समस्या देखाइन् । उनका लगातार ८ छोरीपछि ३ छोरा जन्मिए । पाठेघर खसेको २८ वर्ष हुँदा पनि उनले कसैलाई यसबारे जानकारी दिइनन् । चिकित्सकको बुझाइमा पाठेघर खसेका महिलाको संख्या ४० वर्षमाथिका धेरै देखिनुले लामो समयसम्म समस्या लुकाएर बस्नु हो ।

अधिकांश गाउँमा ४० वर्ष उमेर कटेका महिलामा यो समस्या देखिए पनि खोज्दै जाँदा ३० वर्ष नकटेकामा समेत भेटिन्छ । ‘३ वर्ष अगाडि शिविर चलाउँदा २० वर्षमुनिका ५ जना किशोरीको समेत पाठेघर खसेको भेटियो । नयाँ पुस्ता र पुराना पुस्ता दुवैले यो समस्या लुकाउँदै आएका छन्,’ स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले भने ।

कतिपय गाउँमा देवीदेउता रिसाएका कारण पाठेघर खसेको भन्ने गलत मान्यता अझै व्याप्त छ । धेरै महिलाले समाज र परिवारलाई समस्या लुकाएर बस्ने गरेको उनले बताए । ‘कम उमेरमै पाठेघर खसे पनि समस्या लुकाएर बस्दा ढिलो मात्र थाहा हुन्छ,’ उनले भने, ‘पछिल्लो समय समाजमा यसबारे चेतना बढ्दै गएपछि महिला पनि खुल्न त थालेका छन् तर अझै पनि धेरै अरूले थाहा पाउने डरले कसैलाई भन्दैनन् ।’

प्रकाशित : फाल्गुन ९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?