१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिमपातले सास्ती

कान्तिपुर संवाददाता

दार्चुला/बझाङ — सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा बुधबार रातिदेखिको हिमपात र वर्षाले जनजीवन प्रभावित भएका छ । बझाङ र दार्चुला जिल्लाका अधिकांश लेकाली भेगमा बिहीबार हिमपात भइरहेको छ । हिमपात र वर्षा नरोकिएपछि जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । 

दार्चुलाको व्यास, दुहुँ, नौगाड, मार्मा, अपीहिमाल गाउँपालिकाका अधिकांश स्थानमा हिमपात भएको छ । ‘लेकालीको पूरै भाग हिउँले सेताम्मे बनाएको छ,’ अपीहिमाल गाउँपालिका ४ खण्डेश्वरीका लोकेन्द्रसिंह लोथ्यालले भने, ‘मंगलबार हिउँ परेको र बुधबार बिहान मौसम सफा देखिए पनि रातिदेखि हिउँ परिरहेको छ ।’ यो भेगमा यस वर्ष ६ पटक हिमपात भइसकेको छ ।


हिमाली बस्तीमा दैनिक काम गरेर गुजारा चलाउनेहरूले यस वर्ष साह्रै अप्ठ्यारो भएको गुनासो गरेका छन् । दैनिक ज्यालादारी तथा अन्य कार्य गर्नेलाई गाँसको जोहो गर्न निकै कठिनाइ भएको छ । हिउँदे मौसमका लागि जोहो गरेका सामान सकिन लागेको र हिउँ जम्ने क्रम नरोकिँदा चिसोले समस्या उत्पन्न हुने अवस्था सुरु भएको व्यास गाउँपालिका ५ आइरपानीका धनपति धामीले बताए ।


व्यास गाउँपालिकाका सबै बस्ती र दुहुँ गाउँपालिकाका उच्च लेकाली बस्तीमा बाक्लो हिउँ जमेको छ । पुसबाट जमेको हिउँ नपग्लँदै पटक–पटक थपिँदा आवतजावतमा कठिनाइ भएको छ । मानिसका लागि जोहो गरेको खाद्यान्न र गाईबस्तुलाई हिउँदमा खुवाउने घाँस सकिने क्रममा छन् ।


त्यसैगरी, बाक्लो हिमपातपछि बझाङ जिल्लाका पहाडी र हिमाली भेगको जनजीवन प्रभावित भएको छ । साबिकका दहबगर, भैरवनाथ, पीपलकोट, व्यासी, कफलसेरी, धमेना, कैलाशकाँडा, दौलीचौर, सुर्मा, लेकगाउँ, मौलाली, सैनपसेला, भामचौर, स्याडी, देउलेक मष्टा, भातेखोला, रिलु, मेलबिसौना, दाँतोला लगायतका गाविसमा बाक्लो हिउँ जमेपछि दैनिक कामकाज गर्न अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । १ सय ३० भन्दा बढी विद्यालय र दर्जनौं सरकारी कार्यालय बन्द गरिएका छन् ।


चिसो अत्यधिक बढेका कारण मानिसहरू घर बाहिर निस्कन सकिरहेका छैनन् । ‘पशुबस्तुलाई आहारा जुटाउन निकै गाह्रो भइरहेको छ,’ काँडाकी लक्ष्मी बुढा बोहराले भनिन्, ‘चरन क्षेत्रहरू बाक्लो हिउँले ढाकिएका छन् । जंगलबाट घाँस/दाउरा गर्न सकिने अवस्था छैन ।’ हिमपात र हिउँदे वर्षाले किसानलाई फाइदा पुगे पनि हिमाली क्षेत्रमा बसोबास गर्ने सबै प्रभावित भएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?