हराउँदै भार्ते
बझाङ — बिहे घरको खला (बाली चुट्न बनाइएको चारैतिर ढुंगाको पर्खाल लगाएको बर्गाकार चौर) मा ओल्लो पल्लो गाउँका केटाकेटीदेखी बुढाबुढी सबैको जमघट छ । नयाँ सुकिला लुगामा ठाँटिएका सबै दर्शक उत्सुकतापुर्वक पर्खिरहेछन ।
खुट्टा देखी टाउको सम्म छोप्ने सेतै झगुल्लो लगाएका, घाँट (घण्टी), घुँगुरा र खाँकर (ठुला घुँगुरु) झुण्डिएको कम्मर पेटी बाँधेका, शिर देखी पाउ सम्म लत्रिएको रातोफेटा बाधेका व्यक्ति खलो बीचमा झुल्किए । हातमा डमरु छ । उनले जस्तै डमरु समातेका अरु दुइ जना सादा पोशाकका मानिस उनको पछिपछि खलोमा प्रवेश गरे ।
झगुल्लो लगाएको व्यक्तिले डमरु बजाउदै गाउदै भट्याउन थाले–
‘छोरा यस्तो जन्मियोस कुलमा विद्या फिजाउने होवोस,
भाइ बन्धु इष्ट कुटुम्वजनको आसाको केन्द्र होवोस
मर्हकली यो वनैमा ......
उनीसँगै खलोमा गएका अरु दुइले उनले जस्तै गाउन थाले । रौनक बढन थाल्यो । आपसमा गफिरहेका बुढाबुढी तन्नेरी सबै चुपचाप भए । दौंतरीसँग खेलीरहेका केटाकेटीसमेत खेल छोडेर त्यतै ध्यान दिन थाले ।
कथा सूरु हुन्छ । कथामा एक सामान्य किसानको छोरो कालो भँडारीले अद्वितिय युद्ध कला प्रर्दशन गर्छ । ससाना कोटमौजामा रहेका राज्यहरू जितेर सबैलाई एकताबद्ध गर्छ । समाजमा थिति बसाउछ । शासन गर्छ । युद्ध उत्कर्षमा पुगेर ढुंगाका पर्रा बर्षिदै गर्दा दर्शकको सास रोकिन्छ । कथामा कालो भँडारी र राइकोसाको प्रेममा हुन्छन ।
एकान्तमा उनीहरूले गरेको प्रेमिल वार्तालाप सुनेर दर्शक दिर्घाका नवयौवनाहरूको अनुहार लाजले रातै हुन्छ । त्यती बेलै आइपुगेको अर्को पात्र चाउरेले आफ्ना बुवा सँग घोडा किन्नका लागि गरेका ठ्ट्यौलीले हाँसोको फोहरा छुट्छ ।
आफ्नो परम प्रेमी युद्ध मोर्चामा जाने तयारी गरिरहेको बेला विलौना गर्दै गरेकी राइकोसाको कुरा सुनेर मास एकाएक स्तब्ध हुन्छ ।
कोमल मनका कतिपयको दर्शकको आँखामा आँसु देखिन्छ । अन्तत कालो भँडारीलाई प्रेमले पगाल्छ । लयात्मक भाषामा गित गाउदै उनी भन्छन ‘छोरा जन्मोस यस्तो मुलुकमा हिसाबले बोलोस सई, भाई मारी इस्ट कुटुम्ब मराई के पाइन्छ राजा भई’ । यतिकैमा घाम डुब्न थालिसकेको हुन्छ । कथा सकिन्छ । दर्शकहरू आफ्नो गच्छे अनुसारको रकम भार्तेलाई दिदै विदा हुन्छन ।
माथिको बर्णन तल्कोट गाउँपालिकाको वडा नं १ सुनिकोटका प्यारु आउजीको सम्झना हो । उनि भार्ते हुन । लोककथा बाचन गरेर जिल्ला भरीका थुप्रै दर्शकको मनमा राज गर्न सफल ५५ बर्षिया उनको भार्ते पेशा केही बर्ष यता बन्द छ । कुनै बेला यस्तो थियो हरेक जसो विवाहमा भार्ते हुन्थ्यो । कसैकसैले बर्तबन्ध र अरु उत्सत्बहरूमा पनि भार्ते बोलाउथे ।
पछिल्लो ८/१० वर्ष यता भार्तेको माग हुनै छोड्यो । भार्तेको माग हुने छोडे पछि लोककथाको सँस्कृती नै सकिने चिन्ता बढेको प्यारुले बताए । उनले भने ‘अब कसैले पनि भार्ते बोलाउदैनन । हामी मरे पछि यो सँस्कृती हामी सँगै मर्ने भैसक्यो’ कुनै बेला गाउँगाउँमा भार्ते हुन्थ्ये ।
लयात्मक कथा बाचन र गायनको माध्यमबाट, युद्ध, महामारी, देवता दानव, प्रेम आदी विषय बोकेका कथाहरू भार्तेले भन्थे । स्थानिय बोलीमा भार्तेले भन्ने कथालाई भार्ता भन्थ्यिो । कथाको विषय जे सुकै भए पनि कथाको सन्देश सामाजिक एकता, शान्ति र सदभावको हुन्थ्यो ।
अचेल भार्ते भेट्नै मुश्किल पर्छ । माग हुनै छोडे पछि नयाँ पुस्ता भार्ते जन्मिनै छोडेको र पुराना भार्तेहरूमा पनि मुश्किलले ५/७ जना मात्रै जिवित रहेको तल्कोट गाउँपालिकाकै धरासीका भार्ते ढोक्कल आउजीले बताए । उनले भएका भार्तेहरू पनि बुढ्यौलीमा प्रबेश गरिसकेकाले अबको केही बर्षमै भार्ते नै नभेटिने अडल काटे ।
‘भार्ते हराउनु भनेको समाजको एउटा गहना लोप हुनु हो’ भार्तेको विषयमा जानकार बझाङी संस्कृतिका अध्येता समेत रहेका प्राध्यापक विष्णु भक्त शास्त्री भन्छन ‘साहित्यका नवैरसको संयोजन गरेर मुखाग्र कथा भन्ने यो प्रचलन हराउनु भनेको कला क्षेत्रलाई ठुलो नोक्सानी हो ।’ उनले भार्ते कसैको जिविकाको माध्यम मात्र नभएर सँस्कृती भएकोले यसको संरक्षणमा लाग्नु पर्ने बताए । उनले भार्तेको कार्यक्रम हेर्दा कुनै चलचित्र हेरे झै जति सुन्यो त्यति आनन्द हुने बताए ।
तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विस्टले भार्ते संस्कृतीको संरक्षणको लागि आफुहरूले सोच बनाइरहेको बताए । उनले पुराना भार्तेहरूबाट नयाँ केहीलाई तालिम दिन लगाउने र उनीहरूको कलालाई पर्यटन आर्कषणको लागि प्रयोग गर्न सकिने बारे छलफल भैरहेको बताए ।
प्रकाशित : फाल्गुन १०, २०७५ १०:०८