२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

छोराछोरीमा अझै विभेद

मोहन शाही

डोटी — प्रसव पिडामा एक गर्भवती चिच्याइरहेकी थिइन् । बच्चा जन्मेको आवाज सुन्ने बित्तिकै सासूले ढोका खोलेर सोधिन्, ‘क्या भयो सर, चेलो कि चेलि ।’ उनको ब्यबहार देखेर डाक्टरले मन खिन्न पारे । ‘जानुस बाहिर’ भन्दै ढोका बन्द गरे ।

छोराछोरीमा अझै विभेद

रातै भएर ओपीडी कक्षमा छिरेकी सासुले नताी जन्मेकाले खुसी भएर आफन्तले अबिर लगाईदिएको बताइन् । ‘नातीनी जन्मेको भए यसरी नै अबिर जात्रा गर्नु हुन्थ्यो त ?’ डाक्टरले सोधे ‘अर्का घर जान्या जात जन्म्या यसो काँ होलो सर’, सासुले जवाफ दिइन् । डाक्टर राजु गुरुङले सामाजिक संञ्जालमा व्यक्त गरेको डोटीको तितो अनुभव हो यो ।


केआईसिंह गाउँपालिकाको दुर्गामाण्डौ स्वास्थ्य चौकीमा कार्यरत डाक्टर गुरुङले गत पुष १६ गते भएको घटनाबाट बिरक्तिएर सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका थिए । उनले सन्तान बिचको बिभेद अझै पनि समुदायमा यथावत रहेको कुरा उजागर गर्ने प्रयास गरेको बताए । ‘छोरा जन्मे पछि बडाइ फुलमाला ,मिठाई अस्पतालमा अधिकांसले बाड्छन’, डाक्टर गुरुंगले भने,‘ छोरी जन्मे रक्सी खाएर निन्याउरो मुख लगाएर आउँछन् , हाम्रो समुदायको दुर्भाग्य यहि छ ।’


डा. गुरुङले ब्यक्त गरेको घटना ग्रामिण क्षेत्रमा सामान्य हो । छोरीछोरी बिच बिभेदका यस्ता कथाव्यथा ग्रामिण क्षेत्रमा दैनिक भेटिने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन भूषण मिश्र बताउछन् ।


‘हरेक दम्पतीलाई छोरा अनिवार्य चाहिन्छ, छोराकै लागि भ्रूण जाँच गर्न चाहने धेरै आउँछन्’, डा. मिश्रले भने,‘हामीकहाँ त्यस्तो अनुमति नभएकाले भारत बढी चाहन्छन्, छोरी भन्दा छोराको उपचार, स्याहार र रेखदेखमा बढी ख्याल गर्ने गरिन्छ ।’


अन्धबिश्वासले प्रोत्साहन

डोटीमा छोराका लागि न्वारन, छैंटी, पास्नी, जन्मदिनका अवसरमा भव्य भोज खुवाउने चलन अझै यथावत छ । यस्ता कु संस्कृतीले पनि सन्तानबिचको बिभेद गर्ने प्रचलनलाई बढावा दिदै आएका छन् ।


सायल गाउँपालिकाको डौडमा जेठो छोरा जन्मेको परिवारले भव्य भोज खुवाउने चलन अझै छ । भोजमा मानवअधिकारबादी, शिक्षक, सरकारी कर्मचारी, राजनैतिक दलका प्रतिनिधी देखि सामाजिक कार्यकर्ता सहभागि हुने स्थानिय तेज डुम्रेलले बताए । जेठो छोरा जन्माउने परिवारले गाउभरीका परिवारहरूलाई खसीबोका दिनुपर्छ ।


खसीबोका दिनेलाई गाउलेहरूले टिकाटालो गरेर आर्शिबाद दिन्छन् । तर आर्शिबाद पाउनेमा बुवामात्र हुन्, आमालाई बञ्चित गरिन्छ । त्यतीमात्र होइन गाउँमा पहिलोपटक गर्भवती भएकी महिलालाई सुरुको सन्तान छोरा नै जन्माउनु भनेर गाउलेहरू मनोबैज्ञानिक दबाबमा समेत दिनेगरेका छन । छोरा जन्मिएको खुसीयालीमा बाहिरबाट कहलिएका देउडे कलाकारलाई निम्तो दिएर साताभरी नाचगान र रमाइलो गरिने चलन पनि छ ।


‘छोराछोरी, बराबरी’ नारा लगाउन थालेको बर्षौ भएपनि छोराको आशमा थुप्रै ग्रामिण महिलाहरूले ज्यानै जोखिममा पार्ने गरेका छन । छोरा नहुनेलाइ समाजमा अपहेलीत हुने, सम्पतीको संरक्षण नहुने , बुढेसकालमा दुखः पाइने जस्ता अन्धबिश्वासी सामाजिक अवधारणाले जीवन बर्बाद पारीरहेका थुप्रै घटना गाउमा भेटिने डोटी बहुमुखि क्याम्पसका सहप्रध्यापक तीर्थराज जोशी बताउछन् ।


‘महिलालाई बशंज जोगाउनका लागि छोरा जन्माउन समाजिक दबाब हुन्छ’, प्राध्यापक जोशीले भने–‘छोरा बिनाकी आमालाई घरपरिवार र समाजमा हेलाको दृष्टीले हेरिन्छ, छोरी भएरै पनि अपुरो भनेर दोष लगाउछन्, यही सोचका कारण महिलाले छोरा जन्माउन अनेक दुखः झेल्नु पर्छ ।’


पछिल्लो शिक्षीत पुस्ता थोरै सन्तानप्रती आर्कषित हुदै गएको भएपनि दुर्गम क्षेत्रमा अझै समस्या छ । छोराप्रतीको चाहनाले महिलामाथि घरेलु हिंसा, यौनजन्य हिंसा हुने गरेका छन् ।


ज्यानै जोखिममा

सायल गाउपालिका खातिवाडाकी ४३ बर्षिया सरस्वती साउँदको आठौ पटक प्रसुतीका क्रममा माघ अन्तिम साता अस्पतालमा मृत्यू भयो । ७ दिनसम्म उच्च रत्तश्राव पछि बच्चा नजन्मेपछि २७ हप्ताको गर्भ बोकेर उनी दिपायल स्थित अस्पताल आएकी थिइन् ।


सल्यक्रिया गरेर अस्पतालले मृत बच्चा झिकेपनि सरस्वतीको ज्यान बचेन । केआईसिंह गाउपालिकाको वडा नं. १ की धना जेठाराले ४७ बर्षको उमेरमा १२ सन्तान जन्माइन् । बाह्रौ पटकको प्रयासमा छोरा जन्मिएपछि धनाले सन्तानको रहर पुरा गरिन् । १६ बर्षे कलिलो उमेरमा बुहारी बनेकी रानागाउकी देबी राणाले छोरा पाउन ज्यानै जोखिम उठाइन् ।


अहिले उनको पाठेघर खस्ने समस्या छ । पाठेघर झर्दा उनि जीवन मरणको दोसाँधमा छिन । उनका सात सन्तान छन् । तरपनि उनको अझै उपचार भएको छैन । झरेको पाठेघर बोक्न थालेको लामै भइसक्यो । उनका श्रीमान् कर्ण प्रसाद भारत छन् । उपचारका लागि सहयोग गर्न छोरीहरू अझै परिपक्व भइसकेका छैनन् । जुन छोराको आशमा उनले रोग पालेकी थिइन्, उ अहिले सानै छ ।


‘के गर्ने छोराको आशले यत्रो बिजोग भयो’, उनले दुखेसो पोखिन्–‘अब अप्रेसन गर्न कोहलपुर जानुपर्ने रे, नत्र जे पनि हुन सक्छ भनेर डाक्टरले भने । मेरो त जिन्दगी नै अभागी रहेछ ।’ धनादेबी जस्तै छोराको आशले जिन्दगीभर पछुताइरहेकी छन्, ६० बर्षिया जमुना रावल । उनको कथा पनि धनादेबी जस्तै छ । उनले ११ सन्तान जन्माइन् । ११ मध्य ९ बिते । ९ सन्तान बितेपछि उनले दुई छोरा पाइन् । छोरा जिबित भएपनि उनको बुढेसकाल सुखसयलमा छैन । पाठेघर झरेको छ ।


छोरा छोरी बिचको बिभेदले परिवारलाई मात्र नभएर सिंगो समाजलाई नै प्रभाव पारिरहेको मानवअधिकारकर्मी लवदेव भट्ट बताउछन् । महिला शारिरीक रुपले अशक्त हुने, बच्चाहरूले गुणस्तरीय शिक्षा नपाउने, बेरोजगारी बढ्ने र समुदायमा नैराश्यता फैलने भएका कारण स्थानिय तहहरूले यस्ता कुराहरूको गम्भिर रुपमा लाग्नु पर्ने भट्ट बताउछन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?