१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दैनिक चार घण्टा झोलुंगे पुल बन्द

मनोज बडू

दार्चुला — दार्चुला सदरमुकाम खलंगालाई भारतसँग जोड्ने महाकाली नगरपालिका ३ घाटबजारस्थित झोलुंगे पुल मर्मतका लागि दैनिक चार घण्टा बन्द गरिने भएको छ । बिहीबार दिउँसो १ बजेबाट दैनिक ४ घण्टा पुल बन्द भएपछि नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ ।

दैनिक चार घण्टा झोलुंगे पुल बन्द

भारतीय पक्षले उक्त पुलको मर्मत फागुन १३ गते सोमबारसम्म गर्ने भएकाले दैनिक ४ घण्टा पुल बन्द गराउनमा सहयोग पुर्‍याउन बुधबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए ।


भारतको उपखण्ड लोक निर्माण विभाग धारचुलाले मर्मत गरिने सम्बन्धमा पत्र पठाएको हो । पुल पुरानो हुँदै गएको र हाल पुलका प्लेटहरू फेर्नुपर्ने भएकाले भारतीय पक्षले पुलको मर्मत सुरु गरेको हो । पञ्चायतकालमा निर्माण गरिएको उक्त झोलुंगे पुलको भारतले प्रत्येक ३/३ वर्षमा मर्मत गर्दै आएको घाटबजारका स्थानीय व्यापारी रमेश भट्टले बताए ।


‘२०२८ सालतिर निर्माण गरिएको उक्त झोलुंगे पुलमा सुरुमा काठका प्लेट प्रयोग गरिएका थिए,’ उनले भने, ‘पछि काठका प्लेट हटाएर फलामे प्लेट राखिएको हो ।’ फलामे प्लेट पनि जीर्ण बन्दै गएपछि भारतीय पक्षले उक्त प्लेट फेर्न लागेको हो ।


भारतले निर्माण गरेको बैतडी र दार्चुला सीमाक्षेत्रमा पर्ने झुलाघाट र दार्चुला खलंगाको झोलुंगे पुल भारतले नै मर्मत गर्दै आएको छ । दार्चुलाका अन्य सीमाक्षेत्र जौलजीवी, दत्तु, तिग्रम सितापु नेपालले बनाएकाले नेपाली पक्षबाटै मर्मत हुने गरेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?