१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सखी पढ्दा आमाको पीडा भएको अनुभव

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरकी बेलौरी नगरपालिका १० भुडाकी अनिता चौधरी पेसाले शिक्षिका हुन् । कमलरी र कमैया उनकै समुदायको प्रथा भए पनि उनलाई त्यो भोगाइ थाहा थिएन । जब सखी उपन्यास पढिन् त्यसमा आफ्नै समुदायको र अझ विशेषगरी आमाको अनुहार पाइन् ।

सखी पढ्दा आमाको पीडा भएको अनुभव

सखीको कथावस्तु उनले आफ्नै आमासँग दाँजिन् । जस्ताको त्यस्तै मेल खायो । सखी पश्चिम नेपालको ऐना जस्तै हो ।

‘सखी पढ्दा म कैयौं पटक रोएँ, किताबमै आँसु चुहियो,’ शनिबार मदन पुरस्कार विजेता ऐनाका लेखक रामलाल जोशीको उफन्यास सखीको विमर्श एवं अन्तरक्रिया कार्यत्रममा अनिताले भनिन्, ‘सखी पढ्दै आमाको पीडा सम्झिँदै गएँ ।’ उनले उपन्यास पढ्दा कैयौं पटक आमालाई पनि कमलरी बस्दाका पीडाबारे सोधेको बताइन् ।


राति अबेरसम्म सुत्न नपाएको, बिहान चाँडै उठ्नुपरेको र कहिले पनि पेटभरि खान नपाएको आफ्नी आमाको कथा उनले सखीमा पाइन् ।


सखीमा किस्मती नामकी नारी कमलरीको पात्रमा छिन् । उनले भोगेका पीडा र अनिताकी आमाले भोगेका पीडा ठ्याक्कै मिल्ने अनिता बताउँछिन् । ‘सखीले थारू नारीका पीडा मात्रै उजागर गरेको छैन, थारू संस्कृति र भाषालाई पनि उठान गरेको छ,’ उनले भनिन् ।


सदावहार साहित्य समाज कञ्चनपुरले लेखक जोशीसहितको उपस्थितिमा गरेको विमर्शमा स्थानीय साहित्यकार, बुद्धिजीवीलगायतले आफ्नो धारणा राखेका थिए । ‘सखी यथार्थमा आधारित उपन्यास हो,’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक खगेन्द्र जोशीले भने, ‘उपन्यासभित्र हाम्रै समाजको कथा छ, बसाइँ सराइदेखि थारू समुदायले भोगेको दुःखकष्ट सबै समेटिएका छन् ।’ उनले कमैया प्रथा उन्मूलन हुनुअघि कैलाली कञ्चनपुरको समाजको फोटोकपीका रूपमा सखी आएको बताए ।


थारू समुदायको पीडा र त्यतिबेलाको समाजलाई यथार्थपरक रूपमा चित्रण गरिएको जोशीले बताए । सखीमा भएका सबै पात्रले कमैया वा कमलरी बस्दाका पीडालाई दर्शाएका छन् । थारू समुदायका लोप हुन लागेका भाषा र संस्कृतिबारे पनि उपन्यासमा लेखिएको छ । थारू समुदाय र पश्चिम नेपालका लागि यो एउटा इतिहास नै हुने जोशीको दाबी छ ।


सखीका लेखक जोशीले मदन पुरस्कारले यहाँका कथा उजागर गर्न थप हौसला र ऊर्जा थपेको बताए । ‘यहाँ कथा धेरै छन्, अहिले सुदूरपश्चिमले नेपाली साहित्यको ध्यान तानेको छ,’ लेखक जोशीले भने, ‘सखीमा भएको विषयवस्तु धेरै कम लेखिएको छ, यो थारू समुदायको फोटोकपी नै हो ।’ उनले नेपाली साहित्यमा पश्चिमका कुरा थोरै आउने भएकाले केही वर्षयता त्यसमा विराम लागेको बताए ।


‘अहिले नेपाली मूलधारको साहित्यको ध्यान पश्चिमतिर फर्केको छ,’ उनले भने, ‘यहींका लेखक र कृतिहरूले मदन पुरस्कार पाउन थालेका छन् ।’ उनले प्रायः मदन पुरस्कार पाएपछि आफ्नो लेखनलाई सुस्त पारिएको देखिए पनि आफूले त्यसलाई तोडेको बताए । पुरस्कारलाई बोझ वा धान्नै नसकिने सम्मानका रूपमा लिन नहुने बताए । आफूसँगै थुप्रै कथा भएकाले ती कथा बाहिर ल्याउन लागिरहेको बताए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?