३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सहारा कोही भएन

मेनुका ढुंगाना

अछाम — हिँड्डुलका लागि एउटै खुट्टाको मात्र भर । बाँसको टाटीले बारेको छानो चुहिँदा–चुहिँदै भत्किन थालेको जीर्ण घरमा बस्दै आएकी मंगलसैनकी ४६ वर्षीया कलु पाध्यायले आफ्ना २ छोराछोरीलाई पेटभरि खुवाएको दिन विरलै हुन्छ । 

सहारा कोही भएन

सदरमुकाम मंगलसैनबाट ३ घण्टाको दूरीमा रहेको खेताडा गाउँको एक छेउमा बस्दै आएकी उनी न राम्ररी हिंड्न सक्छिन्, न प्रस्टसँग बोल्न । मंगलसैनकै गोरे पाध्यायले १५ वर्षअघि उनीसँग बिहे गरेका हुन् । विवाह गर्ने बेला कलु र गोरेको उमेर ३१ वर्ष फरक थियो । गोरेका २२ वर्षीया एक्ला छोराको मृत्यु भएपछि उनले अर्को विवाह गर्ने निधो गरेका थिए । छोराको मृत्यु हुनुअघि नै पत्नीको मृत्यु भएकाले उनलाई विवाह गर्न समाजले दबाब दिन थाल्यो । छोरा नभए अपुताली हुन्छ भन्ने मान्यताले गोरे अर्को विवाह गर्न बाध्य भए । ३ वर्षमा २ छोरा र १ छोरी पनि जन्मिए । पोहोर उनको मृत्यु भयो ।

त्यसपछि कलुका दु:खका दिन सुरु भए । गाउँको खोलाकिनारमा सानो झुपडी छ । आकाश गडकिएपछि उनीहरू घर छोड्न बाध्य हुन्छन् । जेठा छोरा विनोदको उमेर १३ वर्ष भयो । कापी, कलमको जोहो गर्न सक्ने अवस्था नभएपछि ५ कक्षा पढेर स्कुल जान छोडे । गाउँघरमा कसैको गोरु जोतेबापत पाएको पैसाले उनको गुजारा चल्छ । ‘जेठो छोरा र छोरी घरमै छन् । कान्छो छोरालाई गाउँलेले पढाइ दिन्छौं भनेर कता लगे पत्तो छैन ।’ कलुले दुखेसो पोख्दै भनिन्, ‘अनाथालयमा राखेको छ भन्ने सुन्छु । तर कहाँ र कस्तो अवस्थामा छ ? मलाई केही पनि थाहा छैन ।’

घरमा कमाउने कोही नभएपछि स्कुल छोडेर अरूको काम गर्न थालेको छोरा विनोद बताउँछन् । ‘अरू जस्तै स्कुल गएर पढ्न मलाई पनि रहर थियो । तर मैले अरूको काम नगरे गुजारा चल्दैन । स्कुल छोड्न बाध्य भएँ,’ विनोद भन्छन्, ‘घर पुरै चुहिन्छ । एक ठाउँबाट भत्किसक्यो । घरमा बस्न पनि डर लाग्छ । सधैं अरूको घरमा बस्न जाँदा ठीक मान्दैनन् ।’ पतिको मृत्युपछि धेरैले हेलाहोचो गर्ने गरेको कलुको दुखेसो छ । पति हुँदासम्म भेटघाटमा आइराख्ने आफन्त अहिले फर्केर नहेर्ने गरेको उनी बताउँछिन् । ‘ऊ बेला कोही घरमा जस्तापाता लगाइदिन्छौं भन्थे । कोही साथमा हामी छौं भन्थे । अहिले कसैले फर्केर पनि हेर्दैनन्,’ उनले भनिन् ।

अहिले उनीसँग अपांगता परिचयपत्र भएकाले महिनाको ३ सय भत्ता पाउँछिन् । भत्ता लिन सदरमुकाम आउनैपर्ने भएकाले २ दिनअघि नै घरबाट निस्कन्छन् । आउन–जानै उनलाई ४ दिन लाग्छ । त्यही भत्ताबाट आएको पैसाले स्कुलमा पढ्ने छोरीको खर्च जुटाउने गरेको उनले बताइन् । ‘गरिब र सहारा नभएकालाई कसैले नपत्याउने रहेछन् । पैसा हुँदा दिन्छु भनेर उधारो कापी कलम माग्दा कसैले दिएनन् । यही कारण छोरीले धेरै दिन स्कुल छाडेकी छ ।

स्थानीय चुनावताका कलुको परिवारलाई उम्मेदवारहरूले काखमै च्यापे जस्तो गरे । केही नेताले उनका पतिलाई घरमै डाक्टर बोलाएर उपचार गरे भने केहीले पैसा पनि दिए । चुनाव सकिएपछि पतिको मृत्यु भयो । मृत्युका बेला कसैले अनुहारसमेत देखाएनन् ।

‘कांग्रेसका नेताहरूले घरमै डाक्टर बोलाएर श्रीमान्को उपचार गरे । एमालेका नेता आएर २४ सय दिएर गए । चिन्ता नगर्नु हामी साथमा छौं भने । एक दिन पनि मेरो घर छोडेनन्,’ उनले भनिन्, ‘अहिले मेरो एकल महिलाले पाउने भत्ताका लागि काममा सहयोग माग्दा पनि कसैले टेर्दैनन् ।’

प्रकाशित : फाल्गुन १४, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?