कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मुढा बनाएर परिवार पाल्दै

उद्यमी दम्पती
भवानी भट्ट

कञ्चनपुर — कृष्णपुर नगरपालिका २, वाणीका रामबहादुर चौधरीका दुवै खुट्टा चल्दैनन् । ४० वर्षीय उनी ह्वीलचियरको सहायतामा यताउता जान्छन् । उनकी पत्नी मुन्नीको पनि एउटा खुट्टा चल्दैन । उ नी लट्ठीको सहारामा हिंड्डुल गर्छिन् ।

मुढा बनाएर परिवार पाल्दै

खुट्टाको अपांगता भएका यी चौधरी दम्पती कसैको बोझ बनेका छैनन् । बरु सीप सिकेर स्वरोजगार भएका छन् । अन्य अपांगता भएकाहरूको प्रेरणाको स्रोत बनेका छन् ।


चौधरी दम्पती बाँस र प्लास्टिक धागोबाट आकर्षक मुढा बनाउने काम गर्छन् । त्यसैको आम्दानीले परिवारको खर्च चलाएका छन् । विगतमा उनीहरू वाणीमा आफ्नै घरमा मुढा बनाउने गरेका थिए । दैनिक १/१ मुढा बनाएर बेच्थे ।


एउटाको मूल्य ३/साढे ३ सय पाउँथे । एक महिनादेखि उनीहरू दुवै महेन्द्रनगरमा हालै सञ्चालनमा आएको लघु उद्योगमा काम गर्न थालेका छन् । मासिक तलब लिने गरी उनीहरू विन्ध्यावासीनी बेत तथा बाँस लघु उद्योगमा मुढा बनाउने काममा जुटेका छन् । ‘दिनभरि काम गरी खाने गुजारा भएको छ,’ रामबहादुरले भने, ‘गाउँमा पनि मुढा बनाउँथ्यौं तर बिक्री हुँदैनथे ।’


लघु उद्योगले दुवैलाई मासिक साढे ७ हजार तलब दिनेगरी मुढा बनाउने काममा लगाएको छ । बस्ने व्यवस्था पनि उद्योगमै गरिएको छ । खाना खर्च मात्रै लाग्ने रामबहादुर बताउँछन् । ‘बिहानदेखि साँझसम्म यसमै लागेका हुन्छौं,’ उनले भने ।


रामबहादुर पहिले घरमा त्यत्तिकै बसेर दिन काट्थे । हिंड्डुल गर्न नसक्ने भएकाले यताउता पनि जाँदैनथे । २ वर्षअघि घरछेउकै हरियाली सामुदायिक वनले महिलाहरूका लागि मुढा बनाउने तालिम सञ्चालन गरेको थियो । मुन्नीले पनि तालिम लिइन् । तालिम पाएपछि मुन्नीले घरमा मुढा बनाउन सुरु गरिन् । रामबहादुर पनि उनलाई सघाउन थाले । हेर्दाहेर्दै उनले पनि काम सिके ।

‘दुवै मिलेर २ वर्ष गाउँमै मुढा बनाएर बेच्यौं,’ मुन्नीले भनिन्, ‘तर गाउँमा बिक्री नहुने, भए पनि राम्रो मूल्य नपाउने भएकाले राम्रो आम्दानी हुँदैनथ्यो ।’


मुक्त कमैया शिविरमा बसोबास गर्ने उनलाई ४ छोरीको पालनपोषण गर्नसमेत समस्या थियो । कमैया पुन:स्थापना कार्यक्रमअन्तर्गत नदी किनारमा पाएको ५ कट्ठा जमिन पनि खोलाले बगाएर बगर बनाएको छ । उक्त जमिनमा उब्जाउ नभएकाले बाँझो छाडेको उनले सुनाइन् ।


चौधरी दम्पतीका जेठी १२ वर्षीया छोरी पनि उनीहरूसँगै लघु उद्योगमा अम्रिसोको कुचो बनाउने काम सिकिरहेकी छन् । अन्य ३ छोरी सानै भएकाले मुन्नीले मुढा बनाउने कामसँगै उनीहरूको रेखदेखको बोझ पनि छ । रामबहादुरको एउटा खुट्टा जन्मेदेखि नै चल्दैनथ्यो । एक वर्षको हुँदा दिदीको हातबाट लडेपछि उनको अर्काे खुट्टामा पनि चोट लाग्यो । विस्तारै अर्काे खुट्टा पनि चल्न छाडेको उनले बताए ।


अपांग भएका कारण उनको विवाह पनि हुन सकेको थिएन । जब शिविरमा मुन्नीका बुवासँग रामबहादुरको भेट भयो त्यसपछि उनको विवाहको कुरा अघि बढेको हो । दुवै शारीरिक अपांगता भएकाले एकअर्काेको दु:ख जानेको र सँगै दु:ख काट्न तयार भएको मुन्नीले बताइन् । उनको पनि बायाँ खुट्टा जन्मेदेखि नै कमजोर भएर चल्दैन ।

प्रकाशित : फाल्गुन १४, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?