कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुहिने अस्पतालमा बिरामीको बेहाल

मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका १२ की चन्द्रा रावलका एक वर्षीय छोरालाई झाडापखाला लाग्यो । ४ घण्टा पैदल हिँडेर राति नै आमाले जिल्ला अस्पताल पुर्‍याइन् । डाक्टरको सल्लाहअनुसार ४ दिन बाल वार्डमा राखियो । मध्यराति परेको पानी बेडमा नै चुहिन थालेपछि उनले छोरालाई काखमा च्यापेर रात काटिन् ।

‘छोरा बिरामी भयो । चाँडो सञ्चो होला भनेर अस्पताल ल्याएँ । बेडमा पानी चुहिएर रातभर जाग्राम बस्नुपर्दा आफू पनि बिरामी होला जस्तो भयो,’ चन्द्राले भनिन्, ‘छोरालाई निमोनियाले झन् च्यापेको छ । अर्कै रोग लागेको भनेर अस्पताल भर्ना गराएका चिकित्सकले अहिले त चिसोले गर्दा निमोनिया पनि भयो भन्छन् ।’


उनका अनुसार बच्चा भर्ना गर्ने वार्डमा भएका ३ वटै बेड पानी पर्न थालेपछि भिज्छन् । अन्य बेडको अवस्था पनि उस्तै हो । ‘अर्को बेडमा बालकलाई सुताउन भनेर बाहिरको बेड हेर्न गएँ । त्यहाँ झन् पूरै भिजेको रहेछ ।’


चन्द्रालाई मात्र होइन । मंगलसैन २ की बिरु साउदलाई पनि बेडमा पानी चुहिने समस्याले सताएर रातभर जाग्राम बस्नुपर्ने समस्या आइलाग्यो । रूखबाट लडेर खुट्टा भाँचिएपछि ५ दिनअघि जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । पानीले पूरै बेड भिज्दा उनी बेडबाट न त ओर्लिन सकिन्, न त कसैलाई समस्या बताउन सकिन् ।


‘बेड यताउता सार्न एक जना छेउमै बस्नुपर्छ । बाध्यताले यता बस्नुपरेको छ । घरमा बसेको भए यसरी चुहिने बेडमा त बस्नुपर्ने थिएन,’ उनले अस्पताल बस्दाको पीडा सुनाउँदै भनिन् ।


जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टका अनुसार अस्पतालमा सञ्चालनमा रहेका २८ शय्याको अवस्था बेहाल छ । ४ दशकअघि जस्तापाताले छाएको अस्पतालको सामान्य मर्मत भए पनि जस्तापाता फेर्न नसक्दा चुहिने समस्या रहेको उनी बताउँछन् । ‘प्रसूति वार्ड, सुरक्षित गर्भपतन गराउने वार्ड, इमर्जेन्सी वार्ड र ओपीडी कक्षमा पानी परेको दिन पस्नै सकिँदैन,’ डाक्टर विष्टले भने, ‘एक महिनामुनिको बच्चा राख्ने वार्ड पनि जोखिममा छ । एउटा समस्याले अस्पताल भएका बिरामीले अर्को पनि समस्या भोग्नुपर्छ ।’


अस्पतालको पूर्वाधार मर्मत सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश र संघसम्म कुरा पुर्‍याए पनि मर्मतका लागि कसैले चासो नदेखाएको विष्ट बताउँछन् । अस्पतालमा पोस्टमार्टम गर्ने ठाउँको पनि अभाव छ । २४ सै घण्टा बिजुली हुँदैन । जेनेरेटर नहुँदा काम गर्ने वातावरण नै नभएको उनी बताउँछन् । ‘आफूले गर्न सक्ने उपचार पनि उपकरण अभावमा रिफर गर्नुपर्ने अवस्था आउँदा दुःख लाग्छ,’ डा. विष्टले भने ।


यसअघि सेवा प्रवाह तथा कार्यसम्पादनमा अछाम स्वास्थ्य कार्यालय सर्वोत्कृष्ट घोषणा भएको हो । तर मन्त्रालयले तोकेका केही सूचकहरू पूरा गर्दैमा अस्पतालको स्वास्थ्य सेवा नबदलिएको स्थानीय बासिन्दाहरू बताउँछन् । सामान्य प्रकारको स्वास्थ्य समस्या हुँदा पनि उपकरण, चिकित्सक, औषधि अभावलगायत कारण देखाउँदै बिरामीहरूलाई रिफर गर्ने गरिएकोप्रति स्थानीय बासिन्दा असन्तुष्ट रहँदै आएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?