१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बझाङमा १३ औं पटक हिमपात

वसन्तप्रताप सिंह

बझाङ — माघको दोस्रो सातायता बझाङमा १३ औं पटक हिमपात भएको छ । दैनिकजसो हिमपात हुन थालेपछि जिल्लाका पहाडी तथा उच्च हिमाली क्षेत्रमा बढेको जाडोका कारण स्थानीयको दैनिक जनजीवन कष्टकर बनेको छ । 

बझाङमा १३ औं पटक हिमपात

सोमबार साँझदेखि सुरु भएको हिउँदे झरी बुधबारसम्म रोकिएको छैन । लगातारको झरीले लेकाली भेगमा बाक्लो हिउँ जमेपछि स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन् ।


साबिकका दहबगर, भैरवनाथ, पीपलकोट, व्यासी, कफलसेरी, धमेना, कैलाशकाँडा, दौलीचौर, सुर्मा, लेकगाउँ, मौलाली, सैनपसेला, भामचौर, स्याडी, देउलेक मष्टा, भातेखोला, रिलु, मेलबिसौना, दाँतोलालगायतका गाविसमा बाक्लो हिउँ जमेपछि दैनिक कामकाज गर्न अप्ठ्यारो भएको स्थानीयले बताएका छन् ।


‘दिक्कै लाग्ने गरी हिउँ पर्न थाल्यो,’ तल्कोट गाउँपालिका दाँतोलाका लालबहादुर बोहराले भने, ‘घर बाहिरको काम गर्न समस्या भइरहेको छ । चिसोले बिरामी हुनेको संख्या बढिरहेको छ ।’


हिमपात भएको क्षेत्रको तापक्रम माइनसभन्दा तल झरेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयले बताएका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेको सुनिकोटकी खुडीदेवी कुँवरले बताइन् । अत्यधिक जाडो बढेपछि ओढ्ने र लगाउने लुगाफाटो नभएका विपन्न परिवारलाई सास्ती थपिएको छ ।


जाडो बढेसँगै बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दमको संक्रमण बढिरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । ‘श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेका छन्,’ जिल्ला अस्पतालका डा. अनुप रेग्मीले भने, ‘दैनिक ४ जनालाई त भर्ना गरेर उपचार गर्नु परिरहेको छ ।’


चिसोले निमोनिया, दम, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी र भाइरल संक्रमण भएका बिरामी दैनिक १५/२० को संख्यामा जिल्ला अस्पतालमा आउने गरेको र गाउँका स्वास्थ्य संस्थामा पनि यस्ता बिरामीको संख्या बढिरहेको उनले बताए । चिसोमा आगो ताप्ने र धूवाँले गर्दा दम र निमोनियाका रोगीहरूको रोग बल्झिने भएकाले यसबाट सचेत हुनुपर्ने उनको सुझाव छ ।


विद्यालय खुलेनन्

माघ महिनाको सुरुदेखि नै लगातार हिमपात हुन थालेपछि बन्द भएका विद्यालय अझै खुल्न सकेका छैनन् । सामान्य अवस्थामा पनि अन्य विद्यालयको तुलनामा कम पढाइ हुने हिमाली क्षेत्रका विद्यालय हिमपातका कारण लामो समयसम्म बन्द हुँदा सयौं विद्यार्थीको पढाइ प्रभावित भएको छ ।


हिमपात भइरहेकाले बढेको जाडोका कारण उत्तरी भेगका ६० भन्दा बढी विद्यालय करिब एक महिनादेखि खुल्न सकेका छैनन् । ‘जमेको हिउँ पग्लन पाएको छैन । लगातार हिमपात भइरहेकाले हिउँ थपिएको थपियै छ,’ साइपाल गाउँपालिकाको धुली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने ‘घरबाट बाहिर निस्कनै गाह्रो छ । स्कुल खुल्ने त कुरै भएन,’ उनले जाडो अत्यधिक बढेका कारण साना बालबालिकालाई समस्या हुने भएकाले विद्यालय खुल्न नसकेको बताए ।


हिमपातका कारण जिल्लाको उत्तरवर्ती साइपाल, तल्कोट, सुर्मा र मष्टा गाउँपालिका सबैजसो विद्यालय बन्द रहेका छन् । यस्तै बित्थड चिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकाका उत्तरी भेगका विद्यालय पनि बन्द भएको स्थानीयले बताएका छन् । जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रका गरी एक सयभन्दा बढी विद्यालय करिब डेढ महिनादेखि बन्द भएका हुन् ।


यातायात, विद्युत् र टेलिफोन अवरुद्ध

लगातारको हिमपातले सडकमा हिउँ जम्दा पटकपटक यातायात अवरुद्ध भएको छ । बझाङबाट धनगढी, महेन्द्रनगर र काठमाडौं जाने र त्यहाँबाट जिल्ला आउने सयौं यात्रु राजमार्गको विभिन्न ठाउँमा घन्टौं हिउँमा फस्ने गरेका छन् । दैनिकजसो राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाउने गरेको पवनदूत यातायातका काउन्टर इन्चार्ज विनोद बमले बताए ।


उनले भने, ‘सामान्य वर्षा भए पनि श्रीभावर र खोड्पेतिर हिउँ जम्छ । वर्षा भएका बेला गाडी नरोकिएको कुनै दिन छैन,’ उनले बढी हिउँ परेका बेला २ दिनसम्म गाडी रोकिने गरेको उल्लेख गर्दै सामान्यतयाः ४ घण्टा दैनिक बाटो अवरुद्ध भइरहेको बताए ।


हिमपातकै कारण बझाङको विद्युत् सेवा पनि अवरुद्ध हुन थालेको छ । बैतडीको भालुमारा भन्ने ठाउँमा हिउँको भार थाम्न नसकेर मुख्य लाइनको तार खसेका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।


यस्तै सोमबार साँझदेखि नै बन्द भएको नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा पनि बिहीबार दिउँसो केहीबेर सुचारु भएर पुनः बन्द भएको छ । विभिन्न ठाउँमा रहेका टेलिकमका सोलार स्टेसनमा पाता छोपिने गरी हिउँ जमेका कारण ब्याट्री चार्ज हुन नसक्दा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।


विगतभन्दा यो वर्ष पश्चिमी वायु लामो समयसम्म सक्रिय भएकाले बढी हिमपात भएको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले जनाएको छ । हावापानी कार्यालयका प्रमुख नीराजन सापकोटाका अनुसार पश्चिमी वायु अझmै सक्रिय देखिएकाले शुत्रबार रातिसम्म देशैभर हिमपात र वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?