कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संस्थाको नाममा ठगिँदै महिला

मेनुका ढुंगाना

अछाम — जिल्लामा सीपमूलक तालिम दिने र आत्मनिर्भर बनाउने भन्दै संस्थाको नाममा ठगी गर्नेको संख्या बढेको छ । जिल्लाका विभिन्न ठाउँमा महिला समूह गठन गरी कृषि व्यवसायका लागि बीउबिजन वितरण गर्ने उद्देश्य रहेको बताउँदै गाउँगाउँमा संस्थाका प्रतिनिधिहरू खटिएर आएका छन् ।

सिलाइकटाइलगायत सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउने भन्दै उनीहरूले सामाजिक परिचालकलाई गाउँ पठाएर पैसा संकलन गरी भाग्ने गरेका हुन् ।


मंगलसैनमा गत साउनमा सञ्चालनमा आएको कर्णाली एग्रिकल्चर नामक एक गैरसरकारी संस्थाले कृषि क्षेत्रमा काम गर्ने, निःशुल्क बीउबिजन वितरण गर्ने बतायो । संस्थाबाट खटिएकी मंगलसैन ५ की सामाजिक परिचालक निशा भट्टराईले २ सय ८६ महिलाबाट प्रतिव्यक्ति ३ सय र १ सय ५ महिलाबाट प्रतिव्यक्ति १७ सयका दरले २ लाख ६४ हजार ३ सय संकलन गरी संस्थाको खातामा पठाइन् । अहिले संस्थाको भने कुनै अत्तोपत्तो छैन ।


गाउँका महिलाहरूलाई आत्मनिर्भर बनाउने भन्दै ऋण गरी २ हजार रुपैयाँ निशालाई दिएपछि अहिले आफू ठगिएको मंगलसैन ५ की जौमती भाटले बताइन् । आफूले पैसा संकलन गरी सबै रकम संस्थामा दिएको र संस्थावालाले सबै पैसा संकलन गरी भागेको निशाको भनाइ छ । ‘मैले सबै पैसा उठाएर मंगलसैनमा बुझाएँ । सबैभन्दा धेरै पैसा गाउँबाट मैले नै उठाएकी हुँ तर अहिले संस्थाको कार्यालय बन्द अवस्थामा छ । त्यहाँका कर्मचारी को कहाँ गए थाहै छैन,’ उनले भनिन् । निशाले आफू पनि ठगिएको बताइन् । उनका अनुसार सामाजिक परिचालकलाई महिनाको ११ हजार ५ सय सुरुमा तलब दिने र समूह गठन गरी धेरै रकम उठाए १७ हजार ५ सय दिने नियुक्ति पाएको बताउँछिन् ।


अछामका १० स्थानीय तहमा १० कर्मचारी आवश्यकता भएको विज्ञापन निकालेपछि अछामका ९६ युवाले आवेदन दिएका थिए । त्यसमा संस्थाले २४ जनाको नाम निकालेर गाउँगाउँमा पैसा संकलन गर्न पठाएको चौरपाटी गाउँपालिका ५, लुंग्राका क्षेत्र खडकाले बताइन् । ‘विज्ञापन आएपछि मंगलसैनमा पुगेर आवेदन दिएँ । खाली बस्नुभन्दा केही गरांैंला भन्ने सोचेरै सामाजिक परिचालक भएर गाउँगाउँ गएँ । यसरी ठग्छ भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘अर्कोबाट ऋण झिकेर समूहका प्रतिनिधिलाई दिएको पैसा तिरेँ । अहिले घरमा तनाव छ ।’


संस्थाका शाखा प्रबन्धक सञ्जु सिँजाली मगरले अछामका २ हजार महिलाबाट साढे ८ लाख उठाएर क्षेत्रीय कार्यालय दिपायलमा आईएमई गरेको बताइन् । ‘सुर्खेतमा रहेको केन्द्रीय कार्यालयमा अछाममा शाखा प्रबन्धकका लागि आवेदन खुलेपछि आवेदन दिएर छानिएकी हुँ,’ उनले भनिन्, ‘अहिले म आफैं अलमलमा छु ।’ केन्द्रीय अध्यक्ष सुर्खेतका लालमणि देवकोटा, सुर्खेतकै उपाध्यक्ष सन्दीप श्रेष्ठ, रणवीर बिक, कालिकोटका मणिचन्द्र पाण्डेलगायतले कर्णाली एग्रिकल्चरको नाममा संस्था दर्ता गरी ठग्ने गरेको सिँजालीले बताइन् । उनीहरूविरुद्ध मुद्दा हाल्ने तयारीमा रहेको उनले बताइन् ।


यस्तै ग्रामीण क्षेत्रमा सिलाइकटाइ, ब्युटिपार्लर, कम्प्युटर तालिमलगायत सीपमूलक तालिम दिने भन्दै ठगी गरेको फोडी कम्पनी अछामका २ कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका, ढकारी, तुर्माखाँद र मंगलसैन नगपालिकामा मासिक २४ हजार तलब दिने झन्दै कर्मचारी नियुक्त गरेको थियो ।


कर्मचारीलाई नियुत्तिअनुसार रकम नदिएको, गाउँमा ठगी गर्दै हिंड्ने थाहा पाएपछि कर्मचारी नारद टमटाले जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दिएका हुन् । गाउँमा गएका कर्मचारीले प्रतिव्यक्ति ५ सय उठाउने र संस्था ल्याएर मंगलसैन आएका सन्दीप पुनमगर र निरुशा विकले आफैं गएर पैसा ल्याउने गरेका थिए । ठगीविरुद्ध मुद्दा आएपछि फोडी कम्पनीका २ जनाको नाममा अदालतमा फाइल दर्ता हुन लागेको प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?