कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जुन दिन पुरुष गाउँमै बस्दैनन् 

गोलो हाल्ली मेला
वसन्तप्रताप सिंह

बझाङ — थली नौबिसको गोलो हाल्ली जाँत (मेला) सुरु भएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न भेगबाट हजारौ दर्शक थली ओइरिएका छन् । प्रत्येक वर्ष फागुन १५ देखि २० गतेसम्म सञ्चालन हुने यो मेला छबिस पाथीभेरा र दुर्गाथली गाउँपालिकाको बीच भागमा पर्ने थली नौबिसमा पुस्तौंदेखि मनाइँदै आएको छ । 

जुन दिन पुरुष गाउँमै बस्दैनन् 

मेलाको सुरुको दिनलाई उबासु भनिन्छ । यस दिन साविक लेकगाउँ गाविसको दैपाणमा रहेको बाठपालाको मन्दिरमा दुर्गाथली र छबिस पाथीभेरा गाउँपालिकाको सैन, दौला, ल्वाडा र लेकगाउँ (चारगाउँ) र आलीपाली (छिमेकी गाउँ) का स्थानीय भेला भएर धुमधामका साथ पूजा गर्छन् । दोस्रो दिन विशेष र रोचक हुन्छ ।


यस दिन गाउँभरिका प्रायःजसोले पानीसमेत नखाई व्रत बस्ने चलन छ । व्रत बसेकालाई खाना पकाउनका लागि ४ वटै गाउँका सबै दुहुना गाईको दूध संकलन गरिन्छ । गारोकाया र जप्रेल थरका बासिन्दाले दुहुना गाई भएको सबै घरमा गएर दूध संकलन गरेर ल्याउने चलन छ । उनीहरूलाई स्थानीय बोलीमा दुधारा भनिन्छ । गाई भएको घरले त्यो दिन दुहेको सबै दूध घरमा नराखेर दुधारालाई दिनुपर्ने नियम छ ।


गाउँभरिको दूध संकलन गरेर ल्याएपछि सैन गाउँको मालीमाणु (महादेवको मन्दिर) मा साइसो (एक प्रकारको खीर) पकाइन्छ । करिब २ हजार घरबाट संकलन गरेर ल्याएको दूधबाट ठूलठूला खड्कुलामा खिर पकाउने गरिन्छ । यसरी पकाएको खीरका खड्कुलोलाई तात्तातै बोकेर दुर्गाथली मन्दिरमा चढाउने गरिन्छ । खीरको खड्कुलो बोकेर लैजाँदा चहःचहः भन्दै गाउने गरेको दृश्य निकै रमाइलो हुने गरेको लेकगाउँका धनसेर बुढाले बताए ।


त्यही दिन बाठँपालाको मन्दिरबाट दुर्गा मन्दिरमा डोली ल्याउने चलन छ । डोली भित्र्याएपछि प्रसादस्वरूप साइसो बाँडेर खाने गरिन्छ । त्यही साँझ छालाको भकुन्डो बनाएर २ वटा समूहमा खेल्ने गरिन्छ । गोलो हालेर भकुन्डो खेलिने भएकाले यस दिनलाई गोलो हाल्ली भनिन्छ । देवीले महिसासुर दानवको वध गरेर टाउकाको भकुन्डो खेलेको सम्झनामा यसो गर्ने प्रचलन रहेको स्थानीयले बताए ।


तेस्रो दिनदेखि काँकर लाइनी (जंगलमा गएर सिंगै रूख काटेर लिगों ल्याउने) काम सुरु हुन्छ । यो दिन बालकदेखि वृद्धसम्म सबै पुरुषले अनिवार्य रूपमा काँकर ल्याउन जानुपर्ने चलन छ । गाउँमा महिला मात्र हुन्छन् । महिलाले यस दिन स्वच्छन्द पारामा गीत गाउँदै चिउरा कुट्ने गर्छन् । गाउँमा कुनै पुरुष भेटिएमा सबै महिला मिलेर पुरुषका लुगा च्यातेर नाङ्गेझार बनाउने चलन रहेको ल्वाडाका पुरन चलाउनेले बताए ।


‘गाउँभन्दा बाहिर महिला भेटियो भने पुरुषहरूले पनि नाङ्गेझार बनाउँछन,’ उनले भने, ‘काँकरलाइनीको दिन गाउँमा पुरुष हुँदैनन् । गाउँ बाहिर महिला भेटिँदैनन् ।’ साँझपख पुरुषहरूले ‘सैरे सै’ गाउँदै होस्टे हैसे गर्दै काँकर ल्याएर भुम्या देवतालाई चढाएपछि काँकर लाइनी सकिने गरेको उनले बताए ।


मेलाको चौथो दिन साविक लेकगाउँ गाविसको ल्वाडामा भव्य देउडा हुन्छ । यस दिन परम्परागत पोसाकमा सजिएका चारै गाउँका महिलाले देउडा खेलेको हेर्न घुइँचो लाग्छ । यस दिन भारी खेल (देउडा गीतको माध्यमबाट लोक कथाहरू भन्ने), चाँभाई (लयात्मक तरिकाले छोरीचेलीका विलौनाहरू पोख्ने) र लैबिरी छम्क (गायन र नृत्यको समायोजन भएको देउडा) खेल्ने गर्छन् । रात परेपछि अविवाहित युवायुवती रातभर माया पिरतीका गीत गाएर देउडा खेल्ने गरेको सैन पसेलाकी बास्मती जप्रेलले बताइन् ।


पाँचौं दिनमा पनि अघिल्लै दिनको जस्तै मेला लाग्छ । यो ल्वाडामा नभई सैन गाउँको भकुन्याखालमा हुने गर्छ । यसलाई स्थानीय बोलीमा खेल्लाइनी भनिन्छ । छैटौं दिनमा खेलमालसँगै भकुन्याखालमा काँकर चढाएपछि यो मेला सम्पन्न हुने गर्दछ । गोलो हाल्ली मेला सुरु हुनुअगावै यस क्षेत्रबाट काम विशेषले जिल्ला र देशबाहिर गएकाहरू पनि घर आउने भएकाले गाउँको रौनक नै बेग्लै हुने गरेको लेकगाउँका गणेश बुढाले बताए ।


उनले यो मेला हेर्नका लागि जिल्लाभित्र र बाहिरबाट समेत ठूलो संख्यामा दर्शक आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको बताए । जिल्लामा अन्त कतै नभएको गोलो हाल्ली पर्व थली नौबिस क्षेत्रको पहिचान भएकाले यसलाई प्रवर्द्धन गरी पर्यटकहरू भित्र्याउने गाउँपालिकाले तयारी गरिरहेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए । आगामी वर्षमा दुवै गाउँपालिकाको संयुक्त योजना बनाएर मेलाको प्रचारप्रसार गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?