१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गिट्टीले गुजारा

मनाेज बडु

दार्चुला — शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका बादी महिला गिट्टी कुटेर गुजारा चलाउन बाध्य छन् । आर्थिक अवस्था कमजोर भएपछि उनीहरू दिनभर चौलानी नदी किनारमा गिट्टी कुट्छन् । त्यसैको आम्दानीले आफ्नो र परिवारको जीविका चलाइरहेका छन् ।

स्थानीय मुकुट बादी बिहानदेखि रात नपरुन्जेलसम्म खोला किनारमा गिट्टी कुट्ने गरेको बताउँछिन् । ‘गिट्टी कुटेर परिवारका सदस्यको साँझ–बिहानको हातमुख जोर्नै मुस्किल छ,’ उनले भनिन्, ‘हिउँदमा न्यानो लुगा किन्न पैसा नहुँदा चिसो सहनुपरेको छ ।’ गिट्टी कुटेर छोराछोरीलाई चाहिने कपडा लत्तादेखि नुन, तेलको जोहो गर्नुपर्छ ।


गिट्टी कुटेर महिनाको ३ हजार पनि कमाइ नहुने उनले बताइन् । उनका श्रीमान् भारतमा मजदुरी गर्छन् । ‘श्रीमान् भारतबाट फर्केका छैनन् । गिट्टी बिक्रीबाट कहिले कमाइ हुन्छ कहिले हुँदैन । त्यसैले गुजारा चलाउन बाध्य छौं,’ उनले भनिन् । चार छोराछोरीको पढाइ र औषधोपचार खर्च जुटाउन धौ हुने गरेको बताइन् । मुकुटसँगै यहाँ बसोबास गर्ने अधिकांश बादी समुदायका बासिन्दा गिट्टी कुटेर परिवारको दैनिकी चलाउँदै आएका छन् ।


बादी बस्तीमा आम्दानीको वैकल्पिक स्रोत छैन । चौलानी नदी किनारमा करिब तीन दर्जन बादी परिवारको बसोबास छ । बस्तीका महिला र बालबालिका चिसोको प्रवाह नगरी चौलानी किनारमा गिट्टी कुट्ने गरेको स्थानीय गजी बादीले बताए । उनीहरू खोला किनारबाट संकलन भएका मसिनो ढुंगालाई गिट्टीमा परिणत गर्छन् ।


नदी किनारको कच्ची घरमा बसोबास रहेकाले चिसो अत्यधिक हुन्छ । ‘चिसो भनेर गिट्टी नकुटेका दिन छाक टार्न कठिन हुन्छ,’ गजीले भने, ‘एक मिटर गिट्टी कुट्न सात दिन लाग्छ । त्यसबाट एक हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यसैबाट परिवारको गुजारा चलेको छ ।’ स्थानीयस्तरमै भरपर्दो रोजगारीको अवसर नमिल्दा परिवारका पुरुष सदस्य भारतमा रोजगारी खोज्न गएका छन् । यहाँको कामले परिवारको गुजारा नचल्ने देखिएपछि कामको खोजी गर्न अधिकांश भारततिरै गएको उनको भनाइ छ ।

यो समुदायका बासिन्दा गिट्टी कुट्ने कामसँगै चमेलिया नदी किनारमा माछा मार्ने र भारी बोक्ने काम गर्छन् । ‘परिवारको संख्या ठूलो छ, बस्ने र कमाइ खाने घर छैन,’ स्थानीय जानकी दमाईले भनिन्, ‘नदी किनारमा बसोबास रहेकाले मुस्किलले परिवारको गुजारा चलेको छ ।’ गिट्टी, बालुवा संकलन गरेर बिक्री भएपछि परिवारको छाक टार्न सकिने उनको भनाइ छ । शैल्यशिखर नगरपालिकाको केन्द्रसँगै जिल्लाकै दोस्रो व्यापारिक केन्द्र गोकुलेश्वर बजार छेउमै बसोबास रहेकाले अनेकौं काम गरेर साँझ–बिहानको छाक टार्न सजिलो भएको दमाईले बताइन् ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?