१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यामोमाइल उत्पादन घट्यो

गणेश चौधरी

टीकापुर — यस वर्ष क्यामोमाइल उत्पादनमा कमी आएको छ । मौसम प्रतिकूलताले करिब ५० प्रतिशत उत्पादन घटेको हो । प्रशोधनका बेला अत्यधिक वर्षा हुँदा फूल झारिदिएको र पानीले भिजेपछि तेल कम निस्केको छ ।

टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख कमल बेलबासेले सुरुआतमा उत्पादन राम्रै भए पनि हार्वेस्टिङका बेला लगातार पानी परेको बताए । ‘प्रशोधन गर्दा तेल कम निस्कने गरेको छ,’ उनले भने, ‘नकाटिएको क्यामोमाइलमा खासै ह्रास आउँदैन । प्रशोधनका लागि काटिएकोमा कम तेल निस्कन्छ ।’ छाडा गाईगोरुका कारण अन्नबाली जोगाउन समस्या हुने र जडीबुटी खेतीमा बढी आम्दानी हुने भएपछि यहाँका किसानले क्यामोमाइल खेतीमा जोड दिएका छन् ।


टीकापुर नगरपालिका १ का किसान दिलबहादुर चौधरीले भने, ‘अन्नबालीभन्दा यो सजिलो छ । आम्दानी पनि तुलनात्मक रूपमा बढी हुन्छ । यसपालि मौसमले बिगार्‍यो ।’ जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले किसानलाई बीउ, प्राविधिक सल्लाह र प्रशोधन निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले टीकापुरमा क्यामोमाइल र मेन्थाको खेती विस्तार र प्रशोधन गर्दै आएको छ । किसान बढ्दै गएपछि कम्पनीले नयाँ अत्याधुनिक प्रशोधन मेसिन पनि जडान गरेको छ ।


यो वर्ष करिब ५५ बिघामा क्यामोमाइल र ५० बिघामा मेन्था खेती भएको छ । कम्पनीले प्रशोधित तेल सन्चो, मसाज तेललगायतका वस्तु उत्पादन गर्छ । बढी भएको प्रशोधित तेल देशी–विदेशी कम्पनीमा बिक्री वितरण गर्ने शाखा प्रमुख बेलबासेले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजना रानी जमरा र कुलरिया कुलोमा बाह्रै महिना पानीको सुविधा भएमा यो खेतीको झन् विस्तार हुनेछ ।


जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यहाँका स्थानीयलाई रोजगार दिएको छ । कम्पनीको टीकापुर शाखामा नियमित रूपमा २४ जना दैनिक ज्यालादारीमा, एक जना करार र ५ जना स्थायी कर्मचारी छन् । टीकापुरको औद्योगिक क्षेत्रमा यो एउटा मात्र उद्योग राम्रो रूपमा सञ्चालनमा छ ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?