एचआईभी संक्रमितको गुनासो : सरकारले बेवास्ता गर्‍यो

मेनुका ढुंगाना

अछाम — स्थानीय तह गठन भएपछि जिल्लाका १ हजार ६ सय २२ जना एचआईभी संक्रमित विभिन्न सेवा सुविधाबाट वञ्चित भएका छन् । साविकका गाविसहरूले एचआईभी संक्रमितको लागि गाउँ परिषद्बाट बजेट छुट्याउने र त्यहीअनुसार कार्यक्रम गर्थे । स्थानीय तह गठनपछि भने उनीहरूका लागि न त रकम विनियोजन गरिएको छ, न त कुनै कार्यक्रम नै आएको छ ।

एचआईभी संक्रमितको मनोबल बढाउन र समाजमा स्थापित गराउन पटकपटक नगरपालिकामा भनसुन गरे पनि जनप्रतिनिधिहरूले वास्तै नगरेको कमल बजार नगरपालिका ५ कुइकाका संक्रमित हरेराम विक (नाम परिवर्तन) ले बताए । ‘७/८ वर्ष अघिसम्म अछाममा एचआईभी संक्रमित भएका व्यक्तिलाई सार्वजनिक ठाउँमा जानसमेत छुट थिएन,’ उनले भने, ‘गाउँ–समाजभन्दा टाढा रहनुपर्थ्यो । कतिपय परिवारमा त संक्रमित भएको थाहा पाए घर निकाला नै हुन्थ्यो ।’


नगरपालिकामा एचआईभी संक्रमितको संख्या कति छ र उनीहरूका लागि के कस्ता कार्यक्रम ल्याउने भन्नेबारेमा हालसम्म कुनै छलफल नभएको कमलबजार नगरपालिकाकी उपप्रमुख भूमिसरा बजगाईले बताइन् । ‘अरू योजनाहरूमा नै हामीले बढी समय दियौं । यो विषयमा छलफल गर्न पाइएकै छैन । नगरपालिकामा कुनै डाटा छैन,’ उनले भनिन् ।


हरेराम ४/५ वर्षदेखि एचआईभी संक्रमण न्यूनीकरण गर्ने अभियानमा लागेका छन् । त्यसले सकारात्मक सन्देश पनि दिएको उनी बताउँछन् । ‘तर, अहिले यस्ता कुनै कार्यक्रम सञ्चालन गरिएको छैन । स्थानीय तहको प्राथमिकतामा पनि परेको छैन,’ उनले भने, ‘अहिले पनि एचआईभी संक्रमित महिलालाई समाजमा घुलमिल हुन सहज छैन ।’


चौरपाटी गाउँपालिका ४ पायल कि मीना (नाम परिवर्तन ) एचआईभी संक्रमित हुन् । ७ वर्षअघि उनका श्रीमान्को मृत्युपछि उनलाई पनि संक्रमण भएको थाहा भयो । त्यति मात्रै कहाँ हो र उनकी ७ वर्षकी छोरी पनि जन्मँदै संक्रमित छिन् । उनका श्रीमान्ले लामो समय भारतमा काम गरे । पछि रोगले थला परेपछि घर फर्किए । मीनालाई पनि एचआईभी सरेको रहेछ । छोरी पनि संक्रमित जन्मिइन् । एचआईभीकै कारण उनको श्रीमान्को ज्यान गयो ।


श्रीमान्को मृत्युपछि उनलाई अरूले जस्तै जीवनयापन गर्न असहज हुन थाल्यो । केही सीपमूलक तालिम सिकेर व्यवसाय गर्न सक्छु भन्ने उनलाई लाग्छ । अहिलेसम्म कसैले सहयोग नगरेको बताइन् । ‘महिलालाई कमजोर ठान्ने समाजमा एकल अनि एचआईभी संक्रमित भएर बाँच्न साह्रै गाह्रो रहेछ,’ उनले भनिन्, ‘छोरी पनि संक्रमित हुँदा अरू कोही सहारा छैन ।’


गाउँपालिकासम्म गएर आफ्ना समस्या राख्न खोज्दा कोही पनि बोल्नै नचाहने उनी बताउँछिन् । ‘वडाअध्यक्ष र सदस्यलाई त मेरोबारेमा थाहा थियो,’ उनले भनिन, ‘उनीहरूसमेत बोल्दैनन्, केही माग्न पो आएकी हो कि भनेर कुरै गर्न चाहन्नन् ।’ जिल्लामा एचआईभी संक्रमित भएको साविक गाविसमध्ये पायल पहिलोमा पर्छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि कुनै कार्यक्रम पनि गर्न नसकिएको चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले स्विकारिन् ।


सदरमुकाम मंगलसैनमै भएका एचआईभी संक्रमितहरूको गुनासो पनि उस्तै छ । गाविस हुँदा पाउने सेवा सुविधा र गाउँमा प्रतिनिधित्व गर्नेबारेमा पहिले उनीहरूलाई सम्मान नै गरिन्थ्यो । स्थानीय तह गठन भएपछि उनीहरूको खोजी नै नभएको संकमितहरूको गुनासो छ । ‘पहिले केही संस्थाहरूले हामी पनि स्वस्थ मान्छेसरह नै बाँच्न सक्ने कुरा बताउँदा खुसी लाग्थ्यो, त्यतिखेर भेदभाव पनि कम थियो,’ मंगलसैनकी एचआईभी संक्रमित एक महिलाले भनिन्, ‘अहिले त्यस्ता कार्यक्रम पनि सकिए ।

भेदभाव फेरि सुरु भयो ।’


मंगलसैन नगरपालिकाले पनि एभआईझी संक्रमित व्यत्ति र यो रोग न्यूनीकरण गर्नका लागि कुनै कार्यक्रम नरहेको उपप्रमुख सरिता उपाध्यायले बताइन् । ‘एचआईभी संक्रमितको उफचार र न्यूनीकरणका लागि कुनै कार्यक्रम गरिएको छैन । लक्षित वर्गका लागि केही रकम विनियोजन गरिएको छ । त्यसैबाट के कार्यत्रम गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भनिन् ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?