१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिउँदे वर्षाले सडक अवरुद्ध

मोहन शाही

डोटी — लगातारको झरी र हिमपातले डोटीका ग्रामीण सडक हिलाम्मे छन् । सवारीसाधन सहज रूपमा चल्न नसक्दा यात्रु सास्ती खेप्न बाध्य छन् । राजपुर–रानागाउँ–वायल सडक, राजपुर–फलेडी–जमलकट्टे सडक, दिपायल–वासुदेवी–देउरडी सडक र एयरपोर्ट–तिखा–मौवा सडक हिलाम्मे हुँदा सवारीसाधन अलपत्र परेका छन् ।

हिउँदे वर्षाले सडक अवरुद्ध

‘गाडी फसेर हैरान भयो, यात्रुहरूले डोरी बाँधेर गाडी निकाल्नुपर्ने अवस्था आएको छ,’ जिप चालक मदन नेपालीले भने, ‘वर्षामा त सधैं यस्तो हुन्थ्यो । तर हिउँदे वर्षाले बाटो बिगारेको अहिलेसम्म देखेको थिइनँ ।’


राजपुर–रानागाउँ–वायलको सडक कालोपत्रे गर्नका लागि खाल्डाखुल्डी पुर्ने तथा डबल कटिङ गरिरहेकाले लगातारको वर्षाले सडक हिलाम्मे भएको छ । सहिद स्मृति आवासीय विद्यालय नजिकै हिलोले सडकमा खाल्डा परेका छन् ।


खाल्डाखुल्डीमा जिप फस्ने समस्या भएको दिपायल सिलगढी नगरपालिका ४ का वडासदस्य दिलबहादुर कठायतले बताए । ‘गाउँ जाने बाटो नै थुनिएपछि रानागाउँवासीलाई बढी समस्या भएको छ,’ उनले भने, ‘रानागाउँमा मटेलादेखि जाने अर्को बाटो भए पनि चिप्लो भएकाले गाडी उकालोमा गुड्न सक्दैनन् ।’


लगातारको वर्षाले साबिकको क्षेत्रीय सदरमुकाम दिपायलको बसपार्क पनि हिलाम्मे छ । बसपार्कभित्र छिर्ने सडक र पार्किङ क्षेत्र हिलाम्मे हुँदा यात्रुहरूलाई असहज भइरहेको शैलेश्वरी यातायात व्यवसायी समितिका कर्मचारी बम बोहराले बताए ।


मौसम अझै खुल्न सकेको छैन । जिल्लाका लेकाली भेगमा अझै हिमपात र झरी जारी छ । यो वर्ष डोटीमा उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्सले २ वटा छुट्टाछुट्टै महोत्सवको आयोजना गरे पनि हिउँदे वर्षाका कारण महोत्सव प्रभावित भएको आयोजकले जनाए ।

प्रकाशित : फाल्गुन २१, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?