३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘बन्ध्याकरणले कमजोर भइने भ्रम’

मोहन शाही

डोटी — डोटीमा महिला मात्रै स्थायी बन्ध्याकरण गर्न अग्रसर हुने गरेका छन् । कतिपय गाउँका पुरुषले बन्ध्याकरण गरेको देखे महिला अचम्म मान्छन् । भाडागाउँका २८ वर्षीय भीम विष्टले मंगलबार परिवार नियोजन संघ डोटीका हरिओम श्रेष्ठलाई भने, ‘सर म पनि स्थायी बन्ध्याकरण गर्छु ।’ स्थायी बन्ध्याकरणका लागि लाइनमा बसेका महिलाहरू भने उनको कुरा सुनेर अचम्म परे ।

केआईसिंह गाउँपालिका ४ दुर्गामाडौंमा परिवार नियोजन संघले सञ्चालन गरेको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमध्ये भीम विष्ट एक्ला पुरुष थिए । पुरुषले बन्ध्याकरण गरे कमजोर भइन्छ भन्ने यहाँको समाजमा भ्रम रहेको चिकित्सकहरू बताउँछन् ।‘बुढीले काम धेरै गर्नुपर्छ, भारी उचाल्ने घाँस दाउरा गर्ने काम गर्नुपर्छ,’ उनले भने, ‘मेरो घरमा खासै काम पनि हुन्न, बुढीलाई दुःख नहोस् भनेर म आफैं बन्ध्याकरण गर्न आएको हुँ ।’ श्रीमतीलाई अप्ठ्यारो नहोस् भनेर आफैं बन्ध्याकरण गर्न आएको उनले बताए । उनी जस्तै अधिकांश गाउँ समाजमा पुरुष आफैं अग्रसर भएका घटना जिल्लामा बिरलै पाइन्छन् ।


परिवार नियोजन संघले यो आर्थिक वर्षमा सञ्चालन गरेको निःशुल्क बन्ध्याकरण शिविरमा १ सय १४ मध्ये पुरुषहरू २१ जना मात्र रहेका छन् । महादेवस्थानमा १७, मौवामा ४३, डौडमा २२, वनलेकमा ८, कप्पलेकीमा २ र जिल्ला अस्पतालमा २२ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । शाखाका वरिष्ठ शाखा प्रबन्धक चेतराज फुलाराले परिवार नियोजन गर्न महिलाहरू नै अग्रसर हुनुमा पुरुषले बन्ध्याकरण गर्दा कमजोर भइन्छ भन्ने भ्रम रहेको बताए । ‘पुरुषले बन्ध्याकरण गर्दा यौन क्षमतामा कमी आउने, शारीरिक रूपमा कमजोर हुने भन्ने भ्रम छ,’ फुलाराले भने, ‘घरतिर बढी महिलाहरू नै बस्ने भएका कारणले पनि महिलाहरूकै संख्या बढी देखिएको हो । ’२६ वर्षकी सुनीता ऐर स्वयंसेविका हुन् । उनका श्रीमान् तेजबहादुर पेसाले शिक्षक छन् । मंगलबार दुर्गामाडौंमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा सुनीता आफैं आइन् । दल्ल गाउँकी सुनीताका कलिलो उमेरमै २ छोरी र १ छोरा भइसके । ‘अब सन्तानको रहर पूरा भयो,’ उनले भनिन्, ‘बूढाबूढीले सल्लाह गरेर स्थायी बन्ध्याकरण गर्ने निर्णयमा पुग्यौं ।’ उनले श्रीमान्ले भन्दा आफैंले बन्ध्याकरण गर्दा उपयुक्त हुने निर्णयमा पुगेपछि शिविरमा पुगेको बताइन् ।


दुर्गामाडौं लस्कर गाउँकी बिस्ना धामी ३४ वर्षकी भइन् । उनका एक छोरा एक छोरी छन् । शारीरिक अपांग बिस्नाका श्रीमान् भारतमा छन् । श्रीमान्लाई भारत कुरेर परिवार पाल्नु पर्ने भएकाले उनलाई अप्ठ्यारो नहोस् भनेर आफैं बन्ध्याकरणका लागि आएको बिस्नाले बताइन् ।
सुनीता र बिस्नाझैं श्रीमान्लाई अप्ठ्यारो होला भनेर आफैं बन्ध्याकरण गर्ने महिलाहरू धेरै छन् । तर पुरुषले स्थायी बन्ध्याकरण गर्दा कुनै असर नपर्ने डा. विवेक लेखक बताउँछन् । निःशुल्क स्वास्थ्य शिविरमा खटिएका लेखकले स्थायी बन्ध्याकरण गर्दा महिलालाई बढी असर पर्ने बताए । ‘महिलाहरूलाई मिनिल्याप गर्नुपर्छ, पेट चिरेर डिम्बवाहिनी नली बाँधेर काट्नुपर्छ । सजिलो हुन्न त्यस्तो गर्न,’ डा. लेखकले भने, ‘पुरुषहरूको त सानो प्वाल पारेर नसा काट्ने मात्रै हो, केही असर पर्दैन ।’


स्थायी बन्ध्याकरण गरेकी महिलाले कम्तीमा दुई हप्ता काम नगरी बस्नुपर्ने हुन्छ ।
नत्र टाँका चुँडिने, घाउ पाक्ने सम्भावना हुने डा. लेखक बताउँछन् ।

प्रकाशित : फाल्गुन २२, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?