कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

करोडौं सकियो सडक बनेन

डीआर पन्त

डडेलधुरा — डडेलधुराको आधा जनसंख्या भएको भित्री मधेस जोड्ने ३० किलोमिटर बुडर–जोगबुढा सडक निर्माण सुरु भएको चार दशक बितिसक्दा पनि बन्न सकेको छैन । उक्त सडकको ट्र्याक खोल्ने काम २०४३ सालमै सकिएको थियो ।

त्यसपछि पटकपटक सडक सुधारका लागि विभिन्न निकायबाट ३२ वर्षसम्म लगातार २ अर्बभन्दा वढी रकम खर्च भइसकेको छ । सडक भने अझै पनि पूर्ण हुन सकेको छैन । सडक निर्माणका लागि आएको बजेटको चरम दुरुपयोग हुने, निर्माण कम्पनीहरूले समयमा काम नगर्ने, काम गर्दागर्दै छोडेर जाने र सडक निर्माणका लागि टुक्रे बजेट आउने भएकाले बुडर–जोगबुढा सडक अहिलेसम्म निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । ‘यो सडकमा बजेट नआएको कुनै वर्ष छैन,’ सडक विभागमा काम गरेका आलीतालका रामचन्द्र जोशी भन्छन्, ‘हरेक वर्ष आउने बजेट चुरेबाट निस्केका खहरे खोलामा ढुंगा पन्छाउंँदैमा सकिने गरेको छ ।’


सडक विभाग, स्थानीय तह र विभिन्न दातृ निकायबाट यो सडकमा कति खर्च भयो भन्ने यकिन हिसाव किताव कसैसँग नभएको जोशीले बताए । हरेक वर्ष औसतमा ७ करोड भन्दा बढी रकम यो सडकमा खर्च भएको अनुमान उनले गरे । ‘सडक बन्न थालेको हेर्दाहेर्दै बूढो भएँ,’ आलीतालका धनवीर बुढाले भने, ‘छोराछोरी पनि बूढा भइसके । तर अहिलेसम्म सडक निर्माण भइ नै रहेको छ ।’


ट्र्याक खुलेपछि भित्री मधेसका साबिकका ३ गाविसको करौडौंको प्राकृतिक सम्पदा खास गरी सालको बहुमूल्य काठ बाहिर गएको बुढा बताउँछन् । ‘भित्री मघेसको प्राकृतिक सम्पदा बिक्री गरेर सयौं व्यवसायी अर्बपति भए, धेरैले तराई र राजधानी काठमाडौंमा घरघडेरी जोडे । भित्री मधेसका बासिन्दाले अहिले सम्म पनि सहज रूपमा यातायात सेवा उपभोग गर्न पाएका छैनन्,’ उनले भने ।


स्थानीय बासिन्दा जोशी र बुढाले भने जस्तै बुडर–जोगबुढा सडकमा पछिल्लो डेढ दशकमा हरेक वर्ष ७ करोडभन्दा वढी बजेट खर्च हुंँदै आएको छ । आलीतालको घरेलुदेखि जोगबुढासम्म सम्म ३० किलोमिटर क्षेत्रमा रहेका एक दर्जन खहरे खोलामा मात्र बर्सेनि सडक निर्माणको बजेट सकिने गरेको छ । सडक डिभिजन कार्यालय कुलपातेले मात्र १५ वर्षमा झन्डै ३५ करोड यो सडकमा खर्च गरिसकेको छ । डिभिजन कार्यालयका एक इन्जिनियरले भने, ‘ठ्याक्कै खर्च निकाल्न गाह्रो होला । १५ वर्षमा ३५ करोड बढी खर्च भइसकेको देखिन्छ ।’


सडक निर्माण सुरु भएपछिका चार दशकमा देशमा धेरै परिवर्तन भयो । पञ्चायत सकियो, प्रजातन्त्र आयो । देशले ठूलो विद्रोह भोग्नुपर्‍यो । गणतन्त्र आयो । बुडर–जोगबुढा सडक भने बन्न सकेन । जोगबुढाका समाजसेवी दलबहादुर साउंँद भन्छन्, ‘बुडर–जोगबुढा सडक जस्तै नियति तराई जोड्ने जोगबुढा–दैजी सडकले पनि भोग्नुपरेको छ ।’


भित्री मधेस जोड्ने सडकको अवस्था सुधार नभए पनि भित्री मधेसका डाँडाकाँडा भने जथाभावी सडक निर्माणले चिरा परिसकेको उनले बताए । साउदले भने, ‘बजेट पनि आएकै हो, काम पनि हरेक वर्ष हुन्छ तर सडक भने जस्ताको तस्तै ।’ अहिलेसम्म किन सडक बन्न सकेन यसको उत्तर खोज्ने काम कसैले नगरेको उनले गुनासो गरे ।


साउदले भने जस्तै बुडरदेखि जोगबुढासम्मको ३० किलोमिटर सडक मात्र होइन तराई जोड्ने ३१ किलोमिटर जोगबुढा–दैजी सडक पनि निर्माण सुरु भएको २८ वर्षदेखि सम्पन्न हुन सकेको छैन ।


सुरुमा भित्रीमधेसका साल काट्ने उद्देश्यले सुरु भएका यी दुवै सडकमा सरकारको मात्र होइन काठ व्यवसायीहरूले पनि ठूलो लगानी गरेको देखिन्छ । कञ्चनपुरको दैजी देखि जोगबुढासम्मको ३१ किलोमिटर सडकको ट्र्याक खुलेपछि भित्री मधसमा व्यापक वन फँडानी सुरु भएको थियो ।


गत वर्ष सरकारले स्तरोन्नति र कालोपत्रे गर्न बुडर–जोगबुढा सडकमा ५३ करोड बढीको टेन्डर स्वीकृत गरिसकेको छ । संघीय सरकारले टेन्डर स्वीकृत गरेको डेढ वर्ष बितिसक्दा पनि बजेट अभावमा निर्माण कार्य स्थगित गरिएको छ । परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले भने, ‘टेन्डर भयो, सम्झौता पनि भयो तर बजेट नआउंँदा सडकको स्तरोन्नति र कालोपत्रे काम अलपत्र छ ।’


संघीय सरकारले जिम्मा लिने कि प्रदेश सरकारले जिम्मा लिने भन्ने विवादले गर्दा सडक अलपत्र परेको पनि नगर प्रमुख साउदले बताए । ‘गत वर्षदेखि सडक चौडा गर्ने काम सुरु भएको हो, सरकारले त्यसको समेत भुक्तानी दिएको छैन,’ नगरप्रमुख साउदले भने, ‘पटकपटक यस विषयमा पत्राचार गरिए पनि सरकारले बजेट विनियोजन गर्न नसक्दा निर्माण व्यवसायी समेत मर्कामा परेका छन् ।’

प्रकाशित : फाल्गुन २३, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?