जब घन्कियो हुड्केली

मोहन शाही

डोटी — सायल गाउँपालिकाको हुड्के नृत्य मञ्चमा प्रवेश गर्दा स्थानीय युवाले हो–हल्ला सुरु गरे । हुड्केको सट्टा राष्ट्रिय कलाकारलाई प्रस्तुत गर्न आयोजकलाई दबाब दिए । जब हुड्के कलाकारको टोलीले प्रस्तुति थाले । तिनै युवा शान्त देखिए । झन्डै २० मिनेटसम्म कलाकारहरूले पञ्चेबाजा, नरसिंहा र दमाहा एकै साथ बजाउँदा महोत्सवस्थलमा बेग्लै तरंग फैलियो । युवा हौसिए ।

जब घन्कियो हुड्केली

टाउकोमा पगडी, सेतो झकुलोसहितको परम्परागत पहिरनमा मञ्चमा उत्रेकाहरूको कलात्मक प्रस्तुतिलाई दर्शकहरूले सराहना गरे । गडगडाहट ताली पिटे ।


मंगलबार लोपोन्मुख र नारी प्रधान रनपुतला नाच मञ्चमा प्रस्तुत गरिएको थियो । ‘महोत्सवमा यस्तो संस्कृति पो प्रदर्शन गर्ने हो, यसले युवाहरूलाई समेत प्रेरित गर्‍यो,’ पत्रकार रामहरी ओझाले खुसी व्यक्त गर्दै भने, ‘बाहिरबाट चर्को मूल्य तिरेर ल्याइएका छाडा कलाकारभन्दा स्थानीय संस्कृतिको प्रस्तुतिले महोत्सवको गरिमा बढाएको छ ।’


आयोजकले हरेक दिन मञ्चमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्न लगाएको छ । सोमबार बागठाटाको भुवा प्रस्तुत भएको थियो । त्यसअघि बाजुराको सेला नाच देखाइएको थियो । बुधबार भने आदर्श गाउँपालिकाको चौलो नृत्य प्रदर्शन गरियो ।

डोटी च्याम्बर अफ कमर्सले दिपायलमा फागुन १७ बाट महोत्सव आयोजना गरिरहेको छ । उद्घाटनका दिन पनि विभिन्न झाँकीहरू प्रदर्शन गरिए । होली, भुवा, रनपुतला, हुड्के, लाखे जस्ता सांस्कृतिक प्रदर्शनी गरिएको थियो । जिल्लाका लोपोन्मुख सांस्कृतिक झाँकीको प्रदर्शनले महोत्सवको गरिमा बढाएको दर्शकहरूले बताए ।


रनपुतला महिला प्रधान नाच हो भने हुड्के दलित जातीले मेला, चाडपर्वमा खेल्ने डोटेली संस्कृतिको पहिचान हो । रनतपुतला नाच प्रदर्शन गर्न महिलाहरू चौबन्दी चोली, सेतो पटुका र परम्परागत गरगहना लगाएर आएका थिए । सुरिलो स्वरमा रनपुतला गीत गाएर नाच्दा दर्शकहरूले खुसी व्यक्त गरेका थिए ।


पछिल्लो समय सूदूरपश्चिममा ठाउँठाउँमा आयोजना भइरहेका महोत्सवमा संस्कृतिको संरक्षण र संवर्द्धनको नारा लगाए पनि व्यवहारमा भने त्यस्तो देख्न पाइँदैन । युवाहरू लक्षित डिजे, पप र लोकदोहोरीका कलाकार बोलाएर महोत्सवलाई रमाइलोमा बढी केन्द्रित भए पनि च्याम्बर अफ कमर्सले रमाइलोसँगै संस्कृति जगेर्नामा समेत ध्यान दिएको सांस्कृतिक व्यवस्थापन समितिका संयोजक डबल साउदले बताए । ‘मञ्चमा नै मुख्य समयमा स्थानीय सांस्कृतिक परम्पराहरूलाई प्रस्तुत गराइरहेका छौं,’ उनले भने, ‘स्थानीय कलाकारहरूलाई प्राथमिकतामा राखिएको छ ।’


डोटी सांस्कृतिक विविधता भएको जिल्ला हो । यहाँ मगर, नेवार, दलित, क्षत्री, ठकुरी र ब्राह्मण लगायत समुदायको बसोबास रहेकाले सांस्कृतिक विविधता रहेको साहित्यकार डबल भाट बताउँछन् । नेवार समुदायको लाखे नाच, मगरजातिको मारुनी नाच, दलित समुदायको हुड्केदेखि क्षत्री जातिको भुवो, चौलो नाच महोत्सवमा प्रदर्शन गरियो । महोत्सवमा जिल्लाकै सबैभन्दा ठूलो राशिको देउडा प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका ६ टोली प्रतिस्पर्धामा छन् ।


देउडाको प्रवर्द्धनका लागि प्रतियोगिता नै आयोजना गरिएको आयोजकले जनाए । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार राखिएको छ । महोत्सवको प्रमुख लक्ष्य नै संस्कृति प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुर्‍याउने रहेको आयोजक समितिले जनाएको छ ।


पर्यटकहरूलाई हेलिकप्टरबाट खप्तड अवलोकन गराउनुका साथै घोडसवारी गराउने प्रयास गरे पनि निरन्तरको वर्षा र हिमपातले सफल नभएको च्याम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र साउदले बताए । ‘तीन दिन पर्यटकलाई लगेर आकाशबाटै खप्तडको अवलोकन गरायौं,’ अध्यक्ष साउदले भने, ‘मौसमले नै साथ नदिएपछि रद्द गर्‍यौं ।’


सेती नदीमा र्‍याफ्टिङ समेत सञ्चालन गरिएको छ । सेती नदी र्‍याफ्टिङका लागि नेपालको सबैभन्दा सुरक्षित नदी मानिन्छ । डोटी उद्योग वाणिज्य संघले ०६८ सालदेखि निरन्तर महोत्सवको आयोजना गर्दै आए पनि यो वर्ष च्याम्बरले समेत सुरुवात गरेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?