कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटोरिक्सा चलाउँदै महिला

मोहन बुढाऐर

धनगढी — आर्थिक समस्याले स्नातक तहको पढाइ बीचमै छाडेकी धनगढीकी २१ वर्षीया इन्द्रा चौधरी अहिले सहरमा अटो रिक्सा चलाउँछिन् । उनको एउटै सपना छ, ‘आफ्ना लागि जीवनभर दुःख गरेकी आमालाई खुसी राख्ने ।’ सानैमा बुवाले संसार छाडेर गएपछि इन्द्रालाई आमाले जेनतेन हुकाइन् र शिक्षादीक्षा दिइन् । ‘आमाले धेरै दुःख गर्न नपरोस् भनेर बजारमा अटो रिक्सा चलाउन थालेकी हुँ,’ उनले भनिन् ।

अटोरिक्सा चलाउँदै महिला

इन्द्रा घरकी जेठी छोरी हुन् । उनी पछिका ३ भाइबहिनी स्थानीय विद्यालयमा पढ्छन् । आमालाई आर्थिक भार बढी भएकाले आफू कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भएर पनि पढाइ छोड्नुपरेको उनले बताइन् । ‘आमाको इच्छा जेठी छोरीलाई पढाएर जागिरे बनाउने थियो,’ उनले भनिन्, ‘प्लस टु पास भएपछि हरेक क्षेत्रमा जागिर खोजेँ, तर सोर्स नभएकाले पाइनँ ।’ जागिर पाउन नसके पनि आमा माथिको आर्थिक भारलाई कम गर्न अन्य विकल्पको खोजी गर्न नछाडेको उनले बताइन् ।

‘बजारमा केही महिलाले अटो रिक्सा चलाएको देखेकी थिएँ,’ उनले भनिन्, ‘म पनि त अटोरिक्सा चलाउन सक्छु भन्ने कुरा मनमा बारम्बार खेल्न थाल्यो ।’ यस क्रममा उनले आफ्ना भिनाजुसँग सल्लाह मागिन् । ‘भिनाजुले हौसला थपे । बैंकबाट ‘लोन’ निकाल्न मद्दत गर्ने आश्वासन पनि दिए । गएको पुसमा एभरेस्ट बैंकबाट डेढ लाख रुपैयाँ ऋण पनि लिएँ,’ इन्द्राले सुनाइन् ।

बैंकबाट ऋण लिएर उनले माघमै अटो रिक्सा किनिन् । अहिले रिक्साबाट भइरहेको आम्दानीले बैंकको ब्याज र किस्तासमेत तिरेर घर खर्च चलाउने समस्या थोरै भए पनि घटेको बताइन् ।

कञ्चनपुरको डोके बजारकी अर्चना कुँवर धनगढी बजारमा अटोरिक्सा चलाउँदै । तस्बिर : माेहन । कान्तिपुर

कञ्चनपुरको डोके बजारकी अर्चना कुँवर पनि धनगढी बजारमा अटोरिक्सा चलाउँछिन् । उनलाई रिक्सा चलाउन सुरु गरेको एक वर्ष पुग्न लागेको छ । ‘बैंकबाट ऋण लिएर किनेको अटो रिक्साबाट आम्दानी राम्रो भए पनि घर चलाउन गाह्रो छ,’ अर्चनाले भनिन्, ‘बुढाले तिमी पनि अटोरिक्सा चलाऊ, अर्को थप्छु भने । म पनि तयार भएँ ।’ अहिले यो दम्पती अटो रिक्सा चलाएर बैंकको ब्याज र किस्ता तिरेर घर खर्च चलाउन थालेको छ ।

सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा अहिले अटोरिक्सा चलाउने महिलाको संख्यामा वृद्धि भएको छ । महिलाका लागि सजिलो पेसा पनि भएको छ । धनगढी उत्तर बेहडी बस्ने रंगा पौड्यालले भनिन्, ‘सुरुमा चिनेजानेकाले खिल्ली उडाउँछन् कि भन्ने मनमा डर पनि थियो । मुख छोपेर चलाउन सुरु गरेकी थिएँ । अहिले त मलाई देखेर मेरा साथीहरू पनि चलाउन थालेका छन् ।’

उनी घरको कामकाज सकेर पनि ‘पार्ट टाइम’ अर्थात् फुर्सद भएको दिउँसोको समयमा एकैछिन बजारमा अटोरिक्सा चलाउँदा पनि एक हजारसम्मको आम्दानी गर्न सकिने बताउँछिन् । ‘बिहान केटाकेटीलाई खाजा खुवाएर स्कुल पठाइसकेपछि दिउँसो अटोरिक्सा चलाउँछु,’ उनले भनिन्, ‘स्कुलबाट घर फर्कने बेला कम्तीमा एक हजार कमाएर घर फर्कन्छु ।’

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?