कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सामुदायिक वनबाट रोजगारी

गणेश चौधरी

टीकापुर — सत्ती–कर्णाली सामुदायिक वनले दैनिक डेढ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । वनमा रहेको बेत कटानी गर्न स्थानीय उपभोक्ताले बस्ती नजिकै रोजगारी पाएका हुन् । बेत कटानीको काम करिब डेढ महिनासम्म चल्नेछ । कामदारहरूलाई बेत कटानी गरेबापत प्रतिक्विन्टल ९ सयका दरले ज्याला दिइनेछ ।

एक जनाले एक दिनमा एकदेखि डेढ क्विन्टलसम्म बेत काट्ने गरेका छन् । अहिले खेतीपातीको सिजन नभएकाले उपभोक्ताहरू बेत काटेर आम्दानी गरिरहेको सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘स्थानीय उपभोक्तालाई एक/डेढ महिनासम्म अन्यत्र काम खोज्नु पर्दैन,’ उनले भने । हालसम्म ७ सय क्विन्टल जति बेत कटानी भइसकेको सामुदायिक वनले जनाएको छ । यो वर्ष कम्तीमा २ हजार क्विन्टलसम्म बेत कटानी गरिने लक्ष्य छ ।


सामुदायिक वनले वर्षमा करिब ५० लाखसम्मको बेत बेच्ने गरेको छ । यहाँको सामुदायिक वनमा उत्पादित बेतको कुल परिमाणमध्ये २५ प्रतिशत स्थानीय बजारमा र बाँकी भारत निर्यात हुने गरेको सामुदायिक वनका पदाधिकारीले जानकारी दिए । कुर्सी, बास्केट, फुलदानी, डोका जस्ता दैनिक प्रयोगमा आउने हलुका र टिकाउ सामानहरू तयार गरिन्छ । यहाँबाट पश्चिमको महेन्द्रनगरदेखि पूर्व विराटनगरसम्म पुग्छ । भारतमा पनि पठाउने गरिएको छ ।


घना रूपमा बेतैबेत भएको उक्त सामुदायिक वनले उपभोक्तालाई रोजगारी दिएको छ । यसबाट भएको आम्दानीले स्थानीय स्तरका विकास निर्माण र समुदायको विकासमा खर्च गर्दै आएको छ । बाढीको प्रकोपका बेला बस्ने सेल्टरदेखि शिक्षा र स्वास्थ्यमा वनले विगत २५ वर्षदेखि लगानी गर्दै आएको वनका अध्यक्ष साउदले बताए । ‘टीकापुर नगरपालिकाको सत्तीमा रहेको उच्च मावि सञ्चालन, बाटोघाटो लगायतका भौतिक पूर्वाधार निर्माणमा पनि यहाँको सामुदायिक वनले लगानी गरेको छ,’ उनले भने, ‘यो सामुदायिक वनबाट उत्पादित बेतबाट आम्दानी बढेपछि यो वन यो क्षेत्रको विकास निर्माणको मूल आधार बनेको छ ।’


बेत उत्पादन गरेर वनले बेच्ने मात्र होइन यहाँका विपन्न उपभोक्तालाई जीविकोपार्जनका लागि बेतबाँसका सामग्रीहरू बनाउने तालिम पनि दिने गरेको छ । ती उपभोक्ताले सामुदायिक वनबाट बेत किनेर सामग्री बनाउँछन् । व्यवसाय पनि सञ्चालन गरेका छन् । वनको कमान्ड क्षेत्रका विद्यालयलाई वनले आर्थिक तथा भौतिक निर्माणमा सहयोग गर्दै आएको छ । विद्यालयमा अध्यनरत दलित, जेहेन्दार, मुक्त कमैया र अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएको अध्यक्ष साउदले बताए ।


पछिल्लो समय यहाँको वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष साउद बताउँछन् । उनले भने, ‘बेतबाट हुने आम्दानी त छँदै छ, वनमा रहेको मनोरम ताल, नदी र जंगललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी आम्दानी बढाउने प्रयासमा छौं ।’ २ सय ९८ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन हराभरा गर्न बगरमा वृक्षरोपणसमेत गरेको वनका पूर्वअध्यक्ष मोहनबहादुर रावलले बताए ।


‘बगरमा वृक्षरोपण गर्दा केही स्थानीयवासीले हाँसेर खिल्ली उडाएका थिए,’ उनले भने, ‘वृक्षरोपणपछि संरक्षणका लागि चौकीदारलाई दिने तलबका लागि समेत उपभोक्ताको घर–घरमा गएर धान संकलन गर्नुपरेको थियो ।’ धान उठाएर खान खोजेको आरोप पनि आफूहरूमाथि लागेको अवस्थाबाट अहिले यो वनले वार्षिक ५० लाख मूल्य बराबरको बेत बेच्न थालेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?