जातीयताको जाँतो

मोहन बुढाऐर

धनगढी — शिवरात्रिका दिन धनगढी जाइस्थित भैरव मन्दिरमा पूजा गर्न गएकी एक महिला जातीय विभेदको सिकार भइन् । पुजारी गंगा गिरीले ती महिलालाई दलित भन्दै मन्दिरमा पूजा गर्न दिइनन् । उक्त घटना अहिले जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ । प्रहरीले पुजारीलाई पक्राउ गरी जातीय विभेदसम्बन्धी महलअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

‘मुद्दा दर्ता गरी म्याद थपेका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले भने, ‘२०/२२ दिन थुनेर अनुसन्धान गर्छौं ।’ उनका अनुसार धनगढी ५ की अंशु ताम्राकारले जातीय विभेद गरी माता गंगा गिरीले मन्दिर प्रवेश र पूजामा रोक लगाएको आरोप लगाएकी छन् । ताम्राकारले माताका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।


उनीसँगै अन्य दलित परिवारलाई पनि माताले मन्दिर प्रवेशमा रोक लगाएको आरोप छ । धनगढी उपमहानगरपालिका ५ मा पर्ने भैरव मन्दिरमा शिवरात्रिका दिन पूजापाठ हुन्छ । भव्य मेला लाग्छ । सुदूरपश्चिममा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाइएको यो पहिलो घटना भने होइन । यसअघि डोटीको शैलेश्वरी मन्दिरमा प्रवेश पाउनुपर्ने माग राख्दै दलित अधिकारवादी संघसंस्था र व्यक्तिले लामै समय आन्दोलन गर्नुपरेको थियो ।


‘शैलेश्वरी मन्दिर प्रवेशको आन्दोलनपछि भने सुदूरपश्चिमका अधिकांश मन्दिरका ढोका दलितका लागि खुला भएका हुन्,’ दलित नेता एवम् पूर्वसभासद हरि श्रीपाइलीले भने, ‘पुरातनवादी सोच भएकाले सार्वजनिक मन्दिरभित्र प्रवेश र पूजापाठमा विभेद गर्दै आएका छन् ।’ उनले शैलेश्वरी प्रवेश आन्दोलन अघिपछि दलित समुदायलाई रोक नलगाए पनि महाशिवरात्रि, नवरात्रि, रामनवमी जस्ता मुख्य धार्मिक पर्वका दिन रोक लाग्ने गरेको बताए । जसमध्ये धनगढीको जाइमा भएको घटना एक प्रतिनिधिमूलक घटना भएको श्रीपाइली बताउँछन् ।


केही महिनाअघि गोदावरीको कृष्ण मन्दिर छेउको धाराको पानी दलित समुदायले प्रयोग गरेको भन्दै कथित उपल्लो समुदायले पानी पिउनै छाडेको त्यहाँका वडाध्यक्ष शिवबहादुर विकले बताए । यस्तै ओलानी जनप्रभात माविका शिक्षकले पनि आफन् सहकर्मीबाट जातीय विभेद गरी दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । मुद्दा विचाराधीन अवस्थामा छ । सोही गाउँमा केही महिनाअघि अन्तरजातीय विवाहको घटना पनि चर्केको थियो । कथित दलितको छोराले उपल्लो समुदायको छोरीलाई भगाएर बिवाह गरेको भन्दै युवती फिर्ता ल्याएका थिए ।


राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीले भने जातीय विभेदका ३ वटा उजुरी परेको जनाएको छ । बैतडीको सित्तडमा पानीको धारामा जान नदिएको, कैलालीका एकजना दलित समुदायका शिक्षकले जिल्ला शिक्षा अधिकारीबाट जातीय विभेदका आधारमा गालीबेइज्जती गरेको निवेदन मात्रै परेको आयोगले जनायो । आयोगका विदेश चौधरीले समाजमा जातीय विभेदसम्बन्धी घटना हुने गरेको तर स्थानीयस्तरमै मिलापत्र हुने गरेकाले आयोगमा उजुरी कमै पर्ने बताए ।


दिनदिनै झगडा

कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा जातीय विभेदको विवाद पानीपँधेरोमा दिनदिनै देखिने गरेको त्यहाँका वडाध्यक्ष शिवबहादुर विकले बताए । गोदावरीको वडा १०, ११ र १२ मा पर्ने ओलानी क्षेत्रमा बहुसंख्यक दलित समुदायको बासोबास छ ।


पानीको अभाव हुने उक्त ठाउँमा कुवाको पानी झिक्ने विषयमा दिनदिनै कथित उपल्लो र दलित समुदायबीच झैझगडा भइराख्ने गरेको वडा ११ का वडाध्यक्ष विकले बताए । ‘दिनदिनै गाली बेइज्जतीका घटना भए पनि ती गाउँघरमै मिल्ने गरेका छन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?