कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकारी नै संरक्षणमा

डीआर पन्त

आलिताल, डडेलधुरा — आलितालका शंकर धामी कुनै बेला वन्यजन्तुको सिकार गर्न चुरे क्षेत्रका जंगल चहार्थे । कुनै यस्तो ठाउँ थिएन, जहाँ उनी पुगेनन् । झन्डै १० वर्ष वन्यजन्तुको सिकार गरेका धामी अहिले वन्यजन्तुकै संरक्षणमा जुटेका छन् । सशस्त्र द्वन्द्वका त्रममा देशमा संकटकाल लागेपछि सिकार गर्न छाडेका उनी पछिल्लो समय दुर्लभ बाघलगायत वन्यजन्तु संरक्षण अभियानमा सक्रिय भएका हुन् ।

चुरेमा भएको वन फँडानीपछि उनको गाउँ बग्यो । उनको २३ रोपनी जग्गा खहरे खोलाले बगर बनायो । त्यसपछि उनमा वनजंगल र वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने चेत आयो । सिकार गर्न जंगल हिँड्ने उनका साथीहरू जुट्दै गए । बाघ र अन्य वन्यजन्तु संरक्षण इकाई नै बनाएर काम थाले ।

डडेलधुराको साबिक जोगबुढा ५ का जयवीर जाग्री पनि कुनै समय सिकारी थिए । गाउँका युवाहरूको समूह बनाएर उनले पनि वन्यजन्तुको सिकार गर्ने पेसा अँगालेका थिए । चोरी सिकारबाट राम्रै आम्दानी गरेका जाग्री पनि धामी जस्तै चुरे फँडानीले घरवारविहीन भएपछि अहिले संरक्षणमा जुटेका छन् । गाउँमै वन्यजन्तु संरक्षण इकाई गठन गरेका छन् ।

‘वन्यजन्तु सिकार गर्ने जन्तु मात्र हुन् भन्ने भ्रम टुटेपछि म संरक्षणमा जुटेको हुँ,’ जाग्री भन्छन्, ‘चुरेमा भएको फँडानीपछि गाउँका गाउँ उजाड बने, खेती गर्ने जमिन बगर बन्यो, सबै बिचल्लीमा परेको देखेर म पनि संरक्षणमा लागें ।’ पछिल्लो समय चुरे क्षेत्रका हरेक गाउँमा युवाहरूले वन्यजन्तु संरक्षण इकाई बनाएर संरक्षणमा सक्रियता देखाएका छन् ।

दशकअघि चुरेमा भएको वन फँडानीका कारण फेदीका अधिकांश गाउँ बगर बन्न थालेपछि यस क्षेत्रका बासिन्दा संरक्षणमा जुटेका हुन् । कुनै समय चुरेमा वन्यजन्तुको सिकार गर्न गाउँगाउँमा समूह हुन्थे । हरिण, मृग, चित्तल, घोरल र बँदेल मात्र होइन, मौका मिले बाघको समेत सिकार गरेर तराईका कैलाली र कञ्चनपुर हुँदै काठमाडौंसम्म वन्यजन्तुको सुकुटी तथा अंगको व्यापार हुन्थ्यो । तिनै गाउँमा पछिल्लो समय वन्यजन्तु संरक्षणका लागि टोलटोलमा समूह बनाएर स्थानीय संरक्षणमा जुटेका छन् ।

‘चुरे फेदीका गाउँमा ठूलो परिवर्तन आएको छ,’ त्रिवेणी बहुमुखी क्याम्पसका पूर्वअध्यक्ष दलबहादुर साउदले भने, ‘गाउँगाउँमा वन्यजन्तु चोरीसिकार नियन्त्रण इकाई गठन गरिएका छन् ।’ विगतमा चोरीसिकारमा संलग्न रहेकाहरू अहिले नियन्त्रण इकाईका सदस्य बनेका छन् ।

‘डडेलधुराको भित्री मधेस क्षेत्रमा तराई भूपरिधि कार्यक्रम लागू भएपछि यस्ता नियन्त्रण इकाईहरूले संस्थागत रूप लिइसकेका छन्,’ उनले भने । भित्री मधेसको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाभित्र अहिले ३० भन्दा बढी यस्ता इकाई गठन भएका हुन् । बाघ संरक्षणका लागि मात्र चुरे क्षेत्रमा २२ वटा संरक्षण इकाई बनेका छन् ।

गाउँगाउँमा गठन भएका यस्ता इकाईहरूले वन्यजन्तुको चोरीसिकारसम्बन्धी सूचना दिने, बाघ जस्ता दुर्लभ वन्यजन्तुका विषयमा जानकारी पाउनेबित्तिकै चुरे क्षेत्र वन तथा वातावरण समन्वय समितिलाई जानकारी दिने काम गरिरहेका छन् । चुरे क्षेत्र वन तथा वातावरण समन्वय समितिका संयोजक कैलाश पाण्डेयले भने, ‘हरेक महिना समूहमा छलफल गर्ने, हरेक साता जंगलमा वन्यजन्तुका विषयमा जानकारी राख्न परिचालन हुने गस्ती तयार गर्ने, गाउँमा भएका अवैध बन्दुकका विषयमा जानकारी बटुल्ने, चोरीसिकारमा लागेका व्यक्तिहरूको पहिचान गरी जानकारी गराउने काम गरिरहेका छन् ।’

१५/१५ दिनमा संरक्षण इकाईको बैठक बस्छ । ‘१५ दिनमा भएका गतिविधि सम्बन्धित निकायलाई जानकारी दिइन्छ,’ पाण्डेयले भने । संरक्षण कार्यमा देखिएका चुनौतीका विषयमा समूहमा छलफलसमेत हुने गरेको उनले बताए । तराई भूफरिधि कार्यक्रमले संरक्षणमा सत्रिय समूहरूलाई क्यामेरा, जीपीएस, फरक पहिचानका लागि ड्रेस र संरक्षणमा आवश्यक पर्ने हरेक साधन उपलब्ध गराएको छ । समूहलाई वन्यजन्तुका विषयमा प्रशिक्षण दिने, संरक्षणमा अपनाउनुपर्ने विधिका विषयमा जानकारी दिन वन्यजन्तु विशेषज्ञले हरेक २ महिनामा समूहमा पुगेर प्रशिक्षण दिने गरेका छन् ।

‘चुरे क्षेत्रमा यसरी संरक्षणका लागि समूह गठन भएपछि अपेक्षित उपलब्धि देखिन थालेको छ,’ वन विभागको सब डिभिजन कार्यालयका प्रमुख सुभाष कुँवरले भने, ‘वन्यजन्तु संरक्षणसँगै यी समूहले वन फँडानीका विषयमा पनि आवश्यक सूचना दिने गरेकाले संरक्षणमा सहजता भएको छ ।’

चोरी सिकारीका लागि मात्र होइन, वन संरक्षणमा पनि संवेदनशील मानिएको चुरे क्षेत्रमा ५ वर्षयता यी समूहहरूले ठूलो सघाउ पुर्‍याएको उनले बताए । ‘कुनै पनि ठाउँमा वनभित्र भइरहेका गतिविधिको सूचना पाउन निकै सजिलो भएको छ,’ कुँवरले भने ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?