कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छाउपडीलाई छेकबार

मेनुका ढुंगाना

अछाम — जिल्ला प्रहरी कार्यालयले बस्ती भेटघाट तथा सचेतनामूलक कार्यक्रममा छाउपडी कानुनका बारेमा जानकारी गराउन थालेको छ । कानुन आए पनि अहिलेसम्म छाउपडीविरुद्ध कुनै जाहेरी नआएकाले गाउँमा त्यसबारे प्रहरी आफैंले जानकारी दिन थालेको हो । 

छाउपडीलाई छेकबार

प्रहरी विद्यालय सम्पर्क कार्यक्रमलाई प्राथमिकता दिएर सचेतनामूलक कार्यक्रम जिल्लाका सयभन्दा बढी सामुदायिक विद्यालयमा सञ्चालन गरिएको छ । शिक्षक र विद्यार्थीलाई कानुनको जानकारी गराएर कुप्रथा न्यूनीकरण हुनेमा प्रहरी आशावादी छ ।


यसका साथै ५ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई आपराधिक क्रियाकलापमा संग्लग्न हुन नदिन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, महिला हिंसा, बालविवाह, लागूऔषध, साइबर क्राइम, बहुविवाहको कारणले समाजमा निम्त्याउने द्वन्द्व र ट्राफिक नियमका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरीले जनाएको छ ।


जिल्लामा छाउपडी बार्नेको संख्यामा कमी नहुनु र कानुन बनिसक्दा पनि यसका विरुद्ध उजुरी नआउने भएकाले टोल टोलमा पुगेर जानकारी दिन थालेको डीएसपी जनकबहादुर शाहीले बताए । मुलुकी ऐन विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको कुरालाई मुख्य रूपमा उठान गरिएको उनको भनाइ छ । कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ ।


त्यसैअनुसार सजाय पनि हुनेछ । भदौ १ गतेबाट लागू भएको अपराधसंहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको छ । कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । यही कुरा जानकारी गराउन प्रहरी टोल टोलमा पुगेको हो ।


जिल्ला प्रहरी कार्यालयअन्तर्गत गठन भएको लैंगिक हिंसा नियन्त्रण कार्यकारिणी सञ्जालमार्फत जिल्लाका विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डीएसपी शाहीले बताए । ‘आफराधिक क्रियात्रलाप भइसकेपछि मात्रै प्रहरीले घटनाको अध्ययन गर्ने नभई अपराध नै हुन नदिन प्रहरीले विभिन्न सरोकारवालासँंग सहकार्य गरेर गाउँगाउँ र विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘विशेषगरी किशोरकिशोरीलाई मध्यनजर गर्दै विद्यालयस्तरमा छाउपडी कुप्रथालगायत विभिन्न किसिमका विकृति विसंगतिका बारेमा जानकारी दिँदा उनीहरूको भविष्यलाई समेत सहयोग पुर्‍याउँछ ।’


पाठ्यक्रममा थोरै मात्रामा समावेश गरिएका कुराहरूलाई प्रहरीले पनि थप कक्षा सञ्चालन गरेर विद्यार्थीमाझ जानकारी गराउँदा किशोरकिशोरी समयमै सचेत हुने र आपराधिक क्रियाकलापमा संग्लग्न नहुने कुरालाई जोड दिने गरेको षोडशा माविका शिक्षक रूपबहादुर खड्काले बताए । ‘विद्यालयमा सिकेका कुराहरू मात्रै विद्यार्थीलाई प्रयाप्त हुँदैनन् । प्रहरीले छुट्टै कक्षा सञ्चालन गरे विद्यार्थीको घरसम्म सचेत हुने वातावरण बन्छ,’ उनले भने, ‘यस्ता क्रियाकलाप विद्यालयस्तरको पाठ्यक्रममा पनि समावेश हुनुपर्छ ।’


हिंसाका घटनाहरू हुनै नदिने विषयमा किशोरकिशोरीलाई एकै ठाउँमा राखेर चेतनामूलक कक्षा सञ्चालन गर्दा धेरै कुरा जान्न पाएको कक्षा १० मा अध्ययनरत छात्रा मीना सुनारले बताइन् । ‘छाउपडीविरुद्ध बोल्न र चोरी, डकैती, बाल विवाहबाट कसरी जोगिने भन्ने विषयमा जान्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘आफूले जानेका विषयमा घरमा समेत भन्न सक्छु जस्तो लागेको छ ।’

प्रकाशित : फाल्गुन २७, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?