कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चुरे फँडानी गर्न चलखेल

जोगबुढा, आलिताल र शीर्षका विभिन्न होटलहरुमा वन फाडानीको योजना बुनिंदै
डीआर पन्त

जोगबुढा, डडेलधुरा — काठ कटानीमा लगानी गर्ने ठेकेदारका मोटर चुरे क्षेत्रमा गुड्न सुरु भएका छन् । जोगबुढा, आलिताल र शीर्षका विभिन्न होटलहरूमा वन फँडानीको योजना बुनिंदै छ । समुदायमा काठ निकासी गर्ने र नगर्ने भन्दै छलफल सुरु हुन थालेको हो । काठ निकासीको सम्भावना भएका सामुदायिक वनमा अग्रिम लगानी गर्न ठेकेदारहरूको होडबाजी छ । 

समुदायमा हस्तान्तरण गरिएका यस क्षेत्रका २ सयभन्दा बढी सामुदायिक वनमध्ये अधिकांशमा विभिन्न बहानामा वन फँडानी गर्न चलखेल सुरु भएको स्रोतले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनबिना रुख काट्न नपाइने भएकाले अधिकांश सडक निर्माणमा वातावरणीय प्रभाव मूल्यांकनका लागि दर्जनौं फाइल अगाडि बढाइएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि वनबाट काठ निकासी गर्ने वा नगर्ने भन्दै विभाजित देखिएका छन् ।


‘कतै ढलापडाका नाममा, कहीं सुकेका र हैसियत बिग्रिएका नाममा त कतै वैज्ञानिक वन व्यवस्थापनका नाममा चुरे क्षेत्रमा वन फँडानी गर्ने तयारी भइरहेको छ,’ आलितालका स्थानीय उपभोक्ता रेवन्त क्षत्रीले भने, ‘घर पुर्जीकै नाममा पनि ठूलो मात्रामा काठ काट्न सुरु भइसकेको छ ।’


विगतमा अवैध रूपमा वन फँडानी भएकै कारण १ सय ८ भन्दा बढी सामुदायिक वनमाथि लागेको मुद्दा अझै टुंगिएको छैन । उनले भने, ‘मुद्दा लागेका अधिकांश वनमा काठ निकासी गर्ने प्रयास नभए पनि केहीमा भने विभिन्न निहुँमा पुनः फँडानीको तयारी हुन थालेको छ ।’ चर्चा हुने किसिमले सामुदायिक वनमा काठ निकासी नभए पनि गत वर्ष र यस वर्ष ठूलो मात्रामा काठ निकासी गरिएको उनले बताए ।


वन डिभिजन कार्यालय डडेलधुरा र स्थानीय तहमा रहेका वनका सब–डिभिजन कार्यालयहरूले गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा निकासी भएको काठका विषयमा जानकारी दिन चाहेनन् । परशुराम सब–डिभिजन प्रमुख सुभाष कुँवरले यकिन तथ्यांकबारे जानकारी नभएको बताए । भने, ‘४०/ ५० हजार क्युफिट ढलापडा काठ निकासी भएको हुन सक्छ ।’


वन स्रोतका अनुसार चुरे क्षेत्रबाट गत वर्ष र यस वर्ष गरी डेढ लाख क्युफिट काठ बाहिरिएको छ । स्थानीय उपभोक्ताका लागि भन्दै जंगलबाट काठ निकासी हुने तर व्यावसायिक उद्देश्यले कैलाली कञ्चनपुरसँगै काठमाडौंसम्म काठ निकासी भइरहेको छ । डिभिजन वन कार्यालय डडेलधुराका निमित्त प्रमुख प्रकाश जोशीले गत आर्थिक वर्ष र यस आर्थिक वर्षको माघसम्ममा चुरे क्षेत्रबाट २४ हजार क्युफिट काठ निकासी भएको बताएका छन् ।


सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन गर्ने भन्दै उपभोक्तामाझ वनकर्मी, काठ व्यवसायी र टाठाबाठाहरूले छलफल सुरु गरेका छन् । साविकका आलिताल र जोगबुढा गाविसका सामुदायिक वनमध्ये २ दर्जन बढीले वैज्ञानिक वन व्यववस्थापन गर्ने भन्दै निर्णय गरेर वन सब–डिभिजन कार्यालयलाई अनुरोध गरिसकेका छन् ।


‘अहिलेसम्म औपचारिक रूपमा ६ वटा सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापनका लागि निवेदन दिएका छन्,’ आलिताल वन सब–डिभिजन कार्यालयका प्रमुख गोकुल पौडेलले भने, ‘अरू केही वनले पनि यस विषयमा अनौपचारिक रूपमा जानकारी मागेका छन् ।’ जंगलबाट पुराना, बूढा रूख काटेर नयाँ रूख रोप्ने र संरक्षण गर्ने लोकप्रिय कार्यक्रमका रूपमा रहेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका विषयमा अझै पनि उपभोक्ताले राम्रोसँग बुझ्न नसकेको सब–डिभिजन प्रमुख पौडेलले बताए । ‘हालसम्म कुनै निर्णय भइसकेको छैन,’ पौडेलले भने, ‘सुरुमा नमुना कार्यक्रमका रूपमा केही वनमा मात्र वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिनेछ ।’


परशुराम वन सब–डिभिजन कार्यालय र साँदनी सब–डिभिजन कार्यालयमा पनि वैज्ञानिक वन व्यवस्थापनका लागि उपभोक्ता समूहहरूले निवेदन दिएको सब–डिभिजन कार्यालयले जनाएको छ ।


‘उपभोग र वन संरक्षणको चाहना राखेर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्नु राम्रो हो,’ परशुराम सब–डिभिजन प्रमुख कुँवरले भने, ‘हामीले पनि संरक्षणमा चासो भएका समूहसँग मात्र यस विषयमा छलफल गरिरहेका छौं । वैज्ञानिक वनका विषयमा उपभोक्ता सशंकित छन् । पूर्ण रूपमा जानकारी पाएपछि कार्यक्रम लागू गर्ने वा नगर्ने अधिकार उपभोक्तासँग सुरक्षित रहेको छ ।’ ठूलो फँडानीपछि वन क्षेत्रमा काठको काम ठप्प हुँदा पछिल्लो समय चुरेमा हरियाली फर्किएको छ । वनको नयाँ पुस्ता हुर्केर वन्यजन्तुको ओहोरदोहोर पनि बढ्न थालेको छ ।


चुरे क्षेत्रबाट लोप भइसकेको पाटेबाघ पनि भौतारिंदै बासस्थानको खोजीमा चुरेमा फर्किर्एको वन विज्ञहरूले बताएका छन् । फँडानीपछि एक दशकसम्म चलेका विभिन्न संरक्षणका कार्यक्रमले पनि दुर्लभ वन्यजन्तुले चुरेमा पुनः बासस्थान बनाउन थालेका छन् । विश्व वन्यजन्तु कोष, यूएसआईडीजस्ता अन्तर्राष्ट्रिय दातृ निकायका दर्जनौं कार्यक्रम यस क्षेत्रमा सञ्चालित छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?