१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रशासनको समन्वयमा सौर्य बत्ती यथावत्

मोहन शाही

डोटी — ठेकेदार कम्पनीले दिपायलमा जडान गरेका सौर्य बत्ती यथावत् राख्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार दिपायल सिलगढी नगरपालिका, डोटी उद्योग वाणिज्य संघ र ठेकेदार कम्पनीबीच छलफलपछि उक्त सहमति भएको हो ।

प्रशासनको रोहबरमा भएको छलफलमा डोटी उद्योग वाणिज्य संघ र नगरपालिकाले प्राविधिकहरूको टोली खटाएर पुनर्मूल्यांकन गरी प्रक्रिया अघि बढाउने समझदारी भएको सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । ‘२३ वटा सौर्य बत्तीको रकम भुक्तानी भइसकेको रहेछ, बाँकी ७ वटा जडान भएका छन्/छैनन्, त्यो प्राविधिक टोली खटाएर पुनर्मूल्यांकन गर्ने कुरा छलफलमा भयो,’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘प्राविधिकको सिफारिसका आधारमा नगर कार्यपालिकाले निर्णय गरी कानुनी रूपले पाउनुपर्ने रकम हर्जाना काटेर दिने समझदारी भएको हो ।’ तोकिएको समयावधिभित्र काम नगरेको आधारमा ठेकेदारले पाउनुपर्ने रकम हर्जाना कटाएर उपलब्ध गराइने सहमति भएको थियो ।


‘कानुनी प्रक्रिया पूरा गर्न, बजेटको व्यवस्थापन गर्न नगरपालिकालाई केही समय लाग्छ नै,’ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्काले भने, ‘संघ नगरपालिकाको प्रस्तावमा सहमत छ, ठेकेदारलाई सम्झाउने बुझाउने जिम्मेवारी लिन्छु ।’ छलफलमा नगरपालिका प्रमुख मञ्जु मलासी, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खड्का, ठेकेदार वेद प्रकाश कठायत, पत्रकार लगायतको टोली थियो ।


सम्झौताअनुसार पाउनुपर्ने रकम नदिएको भन्दै शनिबार दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्य बत्तीहरू ठेकेदारले हटाउन सुरु गरेका थिए । सौर्य बत्ती हटाउने क्रममा ठेकेदारलाई प्रहरीले रोकेको थियो ।


शनिबारबाट सरकारी अनुदानमा जडान भएका सौर्य बत्ती ठेकेदार मनिंग सनले उखेल्न सुरु गरेको हो । पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्य बत्तीमध्ये ७ वटा सौर्य बत्ती हटाउन लागेको ठेकेदार वेद प्रकाश कठायतले बताए । नगरपालिकाले ७ सौर्य बत्तीको ७ लाख रुपैयाँ पटकपटक माग गर्दा पनि नदिएपछि हटाउन बाध्य भएको कठायतले बताएका थिए ।


डोटी उद्योग वाणिज्यसँग ०७३ फागुनमा नगरपालिकाले सम्झौता गरी सौर्य बत्ती जडानका लागि कार्यादेश दिएको थियो । उद्योग वाणिजय संघले सो काम ०७३ फागुन ६ गते मनिंग सन नेपाल कम्पनीसँग सौर्य बत्ती जडानका लागि ठेक्का दिएको थियो । कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी करिब २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि अन्य रकम पाएको छैन ।

प्रकाशित : फाल्गुन २८, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?