कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपत् उद्धारको अभ्यासमा विद्यार्थी

मोहन शाही

डोटी — आदर्श गाउँपालिका मौवास्थित शारदा माविका ७ जना विद्यार्थी एकाएक भुइँमा लडे । रगताम्य भएका उनीहरूको कोलाहल सुरु भयो । केही अभिभावकहरूको रुवाबासी गर्न थाले । लगत्तै ६ जना पहेलो टोपी लगाएका स्वयम्सेवक आइपुगे । घाइतेहरूलाई तत्कालै स्टे«चरमा बोकेर सुरक्षित स्थान पुर्‍याएर । उनीहरूको प्राथमिक उपचार पनि गरे ।

विपत् उद्धारको अभ्यासमा विद्यार्थी

विद्यालयको प्रांगणमा भएको घटनाबारे आमाको भूमिका निभाइरहेकी कक्षा १० मा अध्यनरत कलाकार सत्यी भुलले विवरण खुलाइन् । गाउँका सयौं विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, जिल्लाबाट आएका प्रहरी प्रशासन र पत्रकारलाई उनले विद्यालयको भूकम्प प्रतिरोधात्मक भवन नभएका कारण दुखद घटना हुन पुगेको सन्देश दिइन् । सोमबार शारदा माध्यामिक विद्यालयका विद्यार्थीहरूले भूकम्प र आगलागीबाट हुने क्षतीबाट बच्न सकिने उपायहरूबारे नाटकीय रूपमा कृत्रिम अभ्यास प्रदर्शन गरेका थिए । उनीहरूले आफ्ना अभिभावकलगायत सरोकारवालाहरूलाई भूकम्प प्रतिरोधक भवन बनाउनुपर्छ भन्ने सन्देश दिएका थिए । ‘प्राकृतिक जोखिमबाट बच्ने उपाय र सतर्कता अपनाउनुपर्ने विषयमा समुदायलाई बुझाउने प्रयत्न गरेका हौं,’ बालखेलको भूमिका निर्वाह गरेका कक्षा ८ का दीपक ओझाले भने, ‘भूकम्पका बेला घर भत्केर घाइते भएका व्यक्तिहरूको उद्धार गर्ने तरिका र आगलागी हुँदा अपनाउनुपर्ने सावधानीका कुराहरूसमेत देखायौं ।’


उनीहरूको अभ्यास देखेर अभिभावक, विद्यार्थी, जनप्रतिनीधि देखि पत्रकारहरूसमेत खुसी भएका थिए । डोटीमा पछिल्लो समय प्राकृतिक विपदका कारण हुन सक्ने क्षतिबाट बच्न जनचेतनामूलक अभियानहरू सञ्चालन भइरहेका छन् । ‘विद्यार्थी भाइबहिनीहरूले प्रदर्शन गरेको कृत्रिम अभ्यासबाट हामीलाई धेरै कुरा सिकाउन सहयोग गरेको छ,’ निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘यसको दिगोपनाका लागि हामी सबैले हातेमालो गर्न जरुरी छ, घटना भइसकेपछि पछुताउनुभन्दा पूर्वसतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।’ गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले विद्यार्थीहरूको कृत्रिम अभ्यासले आफूलाई समेत पाठ सिकाएको बताए ।


भूकम्पका बेला विद्यालयमा नै बढी जनधनको क्षति हुन सक्ने भएकाले विद्यालयका भवनहरू भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेमा उनको जोड थियो । जिल्लामा अधिकांशलाई अझै पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माण र अपनाउनुपर्ने पूर्व सतर्कताबारे जानकारी छैन । परम्परागत रूपमा बनेका घर तथा सरकारी भवनहरू अझै निर्माण गर्ने क्रम जारी छ । ‘परम्परागत विचार र सोचमा परिवर्तन ल्याई समुदायमा सुधार ल्याउन विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ति र जोखिमबारे कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले भने, ‘डोटीको आदर्श, सायल, पूर्वी चौकी र दिपायल सिलगढी नगरपालिकामा पछिल्लो समय भौत्तिक संचरना भूकम्प प्रतिरोधात्मक बनाउने अभियान सुरु भएको छ ।’ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित नेपाल विपत् जोखिम न्यूनीकरण परियोजनाले भूकम्पबाट जोगिनका लागि सचेतना अभियानहरू सञ्चालन गर्नुका साथै विद्यालयहरूका भूकम्प प्रतिरोधात्मक नमुना भवनहरू बनाउन थालेको परियोजनाका कार्यक्रम अधिकृत सुरेश नाथले जानकारी दिए ।


आपतकालीन सूचना केन्द्र स्थापना गर्नुका साथै विद्यालयका नमुना भवनहरू निर्माण कार्य तीव्र छ । गत वर्ष नै डोटीका चार स्थानीय तहहरूमा आपतकालीन सूचना केन्द्र स्थापना भइसकेका छन् । सामुदायिक विकास केन्द्रले १० वटा विद्यालयका भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गरिसकेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?