एमबीबीएस पढ्न सहयोग

कान्तिपुर संवाददाता

अछाम — मंगलसैन नगरपालिकाले नगर भित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । यसवर्ष नगरभित्रका ३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको हो ।

नगरप्रमुख पदम बोहराका अनुसार पहिलो चरणमा जनही एक लाखका दरले सहयोग गरिएको छ । छात्रवृत्ति वितरण गर्दा एउटा सर्त राखिएको छ । उत्तीर्ण भएपछि मंगलसैन नगरपालिका र अछाम जिल्लामा बसेर केही वर्ष अनिवार्य सेवा गर्नुपर्छ । काम गरेबापत मासिक पारिश्रमिकको व्यवस्था नगरपालिकाले गर्नेछ । अछामका १० स्थानीय तहमध्ये छात्रवृत्तिको व्यवस्था गर्ने मंगलसैन नगरपालिका पहिलो हो ।


भरतपुरमा एमबीबीएस पढ्ने मंगलसैन १ का अनमोल थापा, बंगलादेशमा अध्ययन गरिरहेका वडा ६ का भरत भण्डारी र विराटनगरमा अध्ययनरत वडा ३ कै कमल विकलाई पहिलो चरणमा आर्थिक सहयोग गरिएको छ । यसपछि अन्य विधामा अध्ययनरत विद्यार्थीलाई पनि सहयोग गर्ने नगरपालिकाले जनाएको छ । ‘यहाँका स्थानीयको स्वास्थ्य अवस्था कमजोर छ । बाहिरबाट सेवा दिन आउँछन् । आफ्नो क्षमता वृद्धि गर्छन् । तर जनताले सेवा कहिल्यै पाउँदैनन्,’ नगर प्रमुख बोहराले भने, ‘नगरपालिकाले सहयोग गरेका विद्यार्थीमा आफ्नो गाउँप्रति अपनत्वको भावना सिर्जना होस् र यहाँका स्थानीयलाई स्वास्थ्य सेवा दिऊन् भन्ने सोचेर नगरपालिकाले सहयोग गरेको हो ।’


घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि छात्रवृत्तिमा नाम निकालेर पढिरहेको बेला नगरपालिकाले गरेको सहयोगले राहत मिलेको अनमोलले बताए । ०६७ सालको एसएलसीमा अछाम प्रथम भएका थापाले डाक्टर बन्ने आफ्नो लक्ष्यमा नगरपालिकाले सघाएकोमा खुसी व्यक्त गरे ।


‘पढ्दै गर्दा बीचमा आर्थिक अभावले गाह्रो भएको थियो । अहिले नगरपालिकाले सहयोग गरेपछि राहत मिलेको छ,’ उनले भने, ‘नगरपालिकाले गरेको अपेक्षाअनुसार नै सेवा गर्न प्रतिबद्ध छु ।’ विराटनगरमा अध्ययनरत कमल विकले नगरपालिकाले सहयोग गरेकामा निकै खुसी लागेको बताए । उनले भने, ‘दुर्गममा बसेर सेवा दिने लक्ष्य चाँडै पूरा हुनेमा आशावादी छु ।’

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?