जंगलमा स्मारक

भवानी भट्ट

कञ्चनपुर — सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा ठाउँठाउँमा सालिक देखिन्छन् । सुदूरपश्चिमका पहाडी सडकहरूमा त झन् हरेक घुम्तीमा त्यस्ता सालिक बग्रेल्ती छन् । पछिल्लो समयमा सशस्त्र द्वन्द्वमा मृत्यु भएकाहरूको सम्झनामा पनि सालिक र स्मारक बन्न थालेका छन् । कञ्चनपुरको शुक्लाफांँटा राष्ट्रिय निकुञ्जमा पनि एउटा स्मारक बनेको छ, जसले द्वन्द्वको पीडा झल्काउँछ । 

जंगलमा स्मारक

निकुञ्जको हेडक्वार्टर रहेको मझगाउँदेखि १० किलोमिटरभित्र रहेको बाबाताल नजिकै निर्माण भएको स्मारकले दसवर्षे द्वन्द्वको झल्को मात्रै दिँदैन । डेढ दशकअघिको त्यो घटनासमेत झलझली आंँखामा आउँछ । २०६० चैत ३ गते निकुञ्जको काठ चोरी निकासीमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान तहकीकातको सिलसिलामा मझगाउँ सिंहपुर हुँदै बेलडाडी लैजाने क्रममा बाबाताल नजिकै राखिएको विद्युतीय धरापमा परी थुनुवा र निकुञ्ज कर्मचारीको मृत्यु भएको थियो ।

बाबाताल नजिकैको बाटो किनारमा रहेको यो स्मारकले जंगल सफारी गर्न निकुञ्जभित्र प्रवेश गर्नेहरूको पनि ध्यान तान्न थालेको छ । मृतकका आफन्तलाई पनि सम्मानको महसुस भएको छ । ‘स्मारक बनेपछि त्यहांँ गएर आफन्तलाई सम्झेर पूजाआजा गरे,’ दुर्घटनामा परेर श्रीमान् गुमाएका भीमदत्त नगरपालिका १४ बनकट्टीकी माया कुँवरले भनिन्, ‘उक्त घटनामा परी मृत्यु हनेको सम्मान पनि भएको छ ।’

मायाका श्रीमान् लालबहादुर कुँंवर तत्कालीन शुक्लाफांँटा वन्यजन्तु आरक्षका गेम स्काउट थिए । आरक्षका तत्कालीन सहायक संरक्षण अधिकृत बुद्धिसागर पौडेलको नेतृत्वमा गस्ती टोली भित्र प्रवेश गरेको थियो । बाबाताल नजिकै पुग्दा बिच बाटामै

राखिएको विद्युतीय धरापमा परेर ११ जनाको मृत्यु भएको थियो । गाडीको अगाडि बसेका सहायक वार्डेन पौडेलसहित ४ जना घाइते भएका थिए भने पछाडि बसेका सबैको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा गेम स्काउट कुँंवरसँगै भान्से नरेन्द्र विष्टसहित साबिक कृष्णपुर गाविसका दशिराम चौधरी, मोहनलाल कठायत, किसन रोकाया, फिरुलाल चौधरी, राजु चौधरी र मायाराम चौधरी, देखतभुली गाविसका जीत बहादुर चौधरी, देउलीकोट गाविस बझाङका हरिस महरा, महेन्द्रनगरका धीरेन्द्र महर्जनको मृत्यु भएको थियो । तत्कालीन सहायक संरक्षण अधिकृत पौडेलसंँगै गेम स्काउट राजेन्द्र कार्की, चालक ज्ञानुकाजी महर्जन र एक जना थुनुवा घाइते भएका थिए ।

‘घटना करिब साढे ११ बजेतिर भएको हो, तर हामीले साँझ ५ बजे मात्रै थाहा पाएका थियौं,’ तत्कालीन अवस्थामा पार्क कन्जरभेसन प्रोग्राममा निकुञ्जमै कार्यरत रहेका कुलबहादुर विष्टले भने, ‘घाइते सबैलाई हामीले तत्कालै कोहलपुर मेडिकल कलेज पुर्‍याएका थियौं ।’ उनका अनुसार घाइते सबै सकुशल भएर फर्केका थिए । अहिले उनीहरू अन्यत्रै ठाउँमा छन् ।

‘एम्बुसमा परेर उछिट्टिएको गाडीको पछाडिको भाग २ वर्षसम्म रुखकै हाँगामा झुन्डिएको थियो,’ हाल निकुञ्ज कार्यालयमै कार्यालय सहयोगीमा कार्यरत मायाले भनिन्, ‘२०७२ मा आएको हावाहुरीले हाँगा टुटेपछि मात्रै त्यो भाग झरेको हो ।’ श्रीमान्को मृत्यु भएलगत्तै उनलाई करारमा कार्यालय सहयोगीमा राखिएको हो । कहिलेकाहीं निकुञ्जभित्र जाँदा गाडीको केही भाग रुखमै झुन्डिएको देख्दा उनलाई निकै पीडा हुन्थ्यो । उक्त भाग अहिले सोही ठाउँमा बाटोभन्दा केही पर राखिएको छ । निकुञ्जभित्रै स्मारक बनेपछि अहिले भने उनले श्रीमान्को सम्मान भएको महसुस गरेकी छन् ।

निकुञ्जभित्र घुम्न आउने पर्यटकहरू पनि स्मारक हेर्न खोज्छन् । उनीहरू पनि सशस्त्र द्वन्द्वमा भएको उक्त घटनाबारे थाहा पाउँछन् । ‘स्मारक नजिकै पुगेपछि सबैले चासो दिएर हेर्छन्,’ लामो समयदेखि निकुञ्जमा पर्यटक घुमाइरहेका नेचर गाइड कुमकरण ठाकुरले भने, ‘घटना भएको मिति र मृत्यु हुनेबारेमा सबैले थाहा पाउँछन् ।’

१० वर्षे सशस्त्र द्वन्द्वको अवधिमा निकुञ्जभित्र देखिने गरी भएको यही ठूलो घटना हो तर वन्यजन्तु चोरी तस्करी पनि त्यतिबेला निकै बढेको थियो । चोरी तस्करीकै कारण बाघको संख्या २२ बाट घटेर ११ पुगेको थियो । अहिले निकुञ्जमा बाघको संख्या १७ पुगेको छ । त्यसबखत निकुञ्ज प्रशासन तथा सुरक्षाकर्मीले गस्ती गर्न नसक्दा बाघ तथा अन्य वन्यजन्तुको संख्या घटेको थियो ।

प्रकाशित : चैत्र २, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?