कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विदेशबाट फर्केर गाउँमा उद्यम

भवानी भट्ट

कञ्चनपुर — २८ वर्षीय सागर क्षक्रीले संयुत्त अरब इमिरेट्समा ३ वर्ष पेट्रोल पम्पमा काम गरे । त्यहाँबाट वैदेशिक रोजगारीकै क्रममा पोल्यान्ड जाने अन्तिम तयारीमा रहेका उनले निर्णय बदले । त्यहाँ जानुभन्दा गाउँमै फर्केर लघु उद्योग स्थापना गर्ने सोचाइले घर फर्किए । 

विदेशबाट फर्केर गाउँमा उद्यम

अहिले महेन्द्रनगरमा स्थानीय कच्चा पदार्थकै उपयोग हुने गरी कुच्चो (झाडु) तथा बेत बाँसका सामग्री उत्पादन गर्ने बिन्धवासिनी लघु उद्योग स्थापना गरेका छन् । उनले विदेशमा कमाएको रकम यही उद्योगमा लगाए । ४० लाखभन्दा बढी लगानी गरेर झाडु तथा बेतबाँसका सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरेका छन् ।


‘अहिले महेन्द्रनगर तथा सुदूरपश्चिमका सबै जिल्लामा भारतबाटै आएको झाडु बिक्री भईरहेको छ,’ सागरले भने, ‘भारतको आयातलाई विस्थापित गर्ने र स्थानीय उत्पादनलाई बजारमा ल्याउने उद्येश्यले यो उद्योग स्थापना भएको हो ।’


उनले उद्योग स्थापना गरेर १० जना स्थानीय कामदारलाई समेत रोजगारी दिएका छन् । उनले सिन्का र अम्रिसोको फुल झाडु उत्पादन गर्न थालेका छन् । यसैगरी बाँस र प्लाष्टिकको डोरी प्रयोग गरी मुडा र बेत बाँस तथा बाबियोका सामग्री पनि उत्पादन गर्ने तयारी गरेका छन ।


उद्योगका लागि चाहिने कच्चा पदार्थ अम्रिसो, बेत, बाँस र बाबियो लगायतका कच्चा पदार्थ यहिबाट आयात भईरहेको क्षेत्रीले बताए । ‘अम्रिसो पाल्पा र झापाबाट आयात गरिरहेका छौं,’ उनले भने, ‘बेत, बाँस र बाबियो सुदूरपश्चिममै उपलब्ध छ, सिन्का झाडुको कच्चा पदार्थ इन्डोनेसियाबाट भारत हुदै आयात हुन्छ ।’ बिन्धवासिनी उद्योगमा उत्पादन भएको सिन्का झाडु ३५ देखि ५५ र फुल झाडु ४२ देखि ६० रुपैयाँमा बिक्री हुने गरेको छ ।


‘हामीले उत्पादन गरेको सामग्री भारतको भन्दा सस्तो र गुणस्तरीय हुनेछ,’ सागरले भने, ‘थोरै भए पनि यहाँका स्थानीयलाई रोजगारी पनि मिलेको छ ।’ उद्योगको शुक्रबार डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन वन अधिकृत मोहन काफ्लेले उद्घाटन गरेका हुन् ।


उद्योगमा ३ जना अपांगता भएका व्यक्तिले पनि रोजगारी पाएका छन् । स्थानीयलाई तालिम दिएर उनीहरूलाई नै काममा लगाउने उद्देश्य रहेको उनले बताए । ‘आफू पनि स्वरोजगार भए, केही स्थानीयलाई पनि रोजगारी मिलेको छ,’ सागरले भने, ‘डडेलधुरा र बैतडीमा थुप्रै बाबियो र बेत खेर गइरहेको छ, त्यसैको सदुपयोग पनि हुन्छ ।’ उनले अम्रिसो पाल्पा र झापाबाट ल्याए पनि बाबियो, बेत र बाँस सुदूरपश्चिममै प्राप्त हुने बताए ।


उद्योगले यहाँ अम्रिसो उत्पादनका लागि पनि सामुदायिक वन र स्थानीयलाई आकर्षित गरेको छ । उनीहरूलाई अग्रिम भुक्तानी दिएर समेत उत्पादन गर्न प्रेरित गरेको सुरजले बताए । उनका अनुसार अहिले यहाँ अम्रिसो उत्पादन गर्न थुप्रै सामुदायिक वनका उपभोक्ताहरू तयार भएको उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?