पहाड-तराई जोड्दै अछामी होरी

अछाममा शिवरात्रिको दिनबाट होरी सुरू हुन्छ । यो क्रम १५ दिनसम्म चल्छ । दिउँसो ४ बजेपछि गाउँका पटकानी र सार्वजनिक स्थलमा होरी खेल्न पुरूषहरुको भीड लाग्छ ।

टीकापुर/अछाम — अछामी समुदाय बिना रंगको होरी (होली) मा रमाउन थालिसके । सेतो पहिरनमा सजिएर उनीहरू देउडा खेल्न व्यस्त छन् । देश-विदेश गएकाहरू घर फर्किरहेका छन् । होली पूणिर्माको भव्य पर्व आउन तीन दिन बाँकी छँदै अछाम र टीकापुरमा यस्तो उत्साह देखिएको हो ।

पहाड-तराई जोड्दै अछामी होरी

मंगलसैन ५ का सेतु विक र उनका छोरा चन्द्रलगायत ७/८ जनाको समूह दुइ दिन अघिमात्रै घर आइपुग्यो । उनीहरू यो सिजनमा घर आउनुको कारण हो, होरी । 'होरी नखेलेको ४ वर्ष भएको थियो,' चन्द्र विकले भने, 'यो पटक त जसरी पनि पुग्छु भन्ने थियो । घर छोडेको पाँचौं वर्षमा घरमै होरी खेल्न पाइने भयो ।'


उनका अनुसार वर्ष दिनमा मनाइने होरी नै यस्तो पर्व हो जसले वर्षौंसम्म भेट नभएका दाजुभाइ र साथीहरूसंँग मिलन गराउँछ । अछाममा शिवरात्रिको दिनबाट होरी सुरु हुन्छ । यो क्रम १५ दिनसम्म चल्छ । यी दिनहरूमा दिउँसो ४ बजेपछि गाउँका पटकानी र सार्वजनिक स्थलमा पुरुषहरूको भीड लाग्छ । 'सेतो पहिरनमा छुट्टै पहिचान बनाएर अछाममा खेलिने होरीले सामाजिक एकता र सद्भाव कायम गर्छ,' होरी मनाउन आएका सेतु विकले भने, 'सेतै लुगा लगाएर पुरुषका दुई छुट्टा छुट्टै समूह बनाई गोलाकार आकारमा लाइन लागि फूलको माला पहिरिएर एउटै स्वर र लयमा देउडा गाई होरी खेल्छौं ।'


अछामबाट कैलालीको टीकापुरमा बसाइसराइ गरेकाहरूले पनि परम्परागत होरी पर्व धुमधामसँग मनाउने गरेका छन् । सेतो पहिरनमा अष्टमीदेखि नै होरी खेल्न सुरु गरिए पनि रंग भने पूणिर्माका दिन मात्र लगाइने उनीहरू बताउँछन् । सेतो लुगामा सजिएर होरी खेल्न आएका टीकापुरका मात्रिका तिमिल्सिनाले भने, 'होरीको रहर नै त सेतो लुगा हो । सेतो लुगा र निधारमा रातो टीका सुहाउने भएर होला । पहिलादेखि यस्तो चलन चलेको ।'


होरी खेल्न सेतो लुगामा सजिएका २ वटा पुरुषहरूको समूह आमने सामने हुन्छ । एक समूहले देउडा भन्छ त्यसपछि अर्कोको पालो आउँछ । एक आपसमा जोडिएका उनीहरूको मुख्य आकर्षण नै पैताला मिलाउने हो । एक आपसमा पैताला मिलाउँछन् र देउडा एउटै स्वरमा गाउँछन् । टीकापुरमा होरी पर्व अष्टमीको दिनदेखि फागुन पूणिर्मासम्म मनाइने गरिन्छ ।


विगतका वर्षमा रातभरि नै होरी चले पनि यो वर्ष भने राति होरी खेल्न प्रतिबन्ध लगाइएको छ । साँझ ६ बजेसम्म मात्र होरी खेल्न प्रहरी प्रशासनले छुट दिएको छ । सुरक्षा अवस्थालाई मध्यनजर गरी राति होरी खेल्न रोक लगाइएको प्रहरीले जनाएको छ । राति होरी खेल्न नपाइने भएपछि पर्व नै खल्लो भएको स्थानीय झनक तिमिल्सिनाले बताए । उनले भने, 'सशस्त्र द्वन्द्वका बेला पनि हामीले रातिसम्म होरी खेल्यौं तर यो वर्ष रोक लगाइएको छ । यसले वर्षदिनको पर्व राम्रोसंँग मनाउन नपाएको अनुभव गरिरहेका छौं ।'


प्राचीन समयमा हिरण्यकश्यपु नामक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए । त्यसैको खुसीमा प्रतीक स्वरूप होलीका दहन गरी खुसीयाली मनाउन आपसमा रंग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको अछाम मंगलसैन नगरपालिका -५ का उदयराम ढुंगानाले बताए ।


अछामी होरीको सुरुवात अछामकै तत्कालीन कालीमाटीगढीका राजा भान शाहको पालाबाट सुरु भएको मानिन्छ । भान शाहको विवाह भारतको कुमाउ गढवालबाट भएकाले त्यहीबाट दाइजोका रूपमा होली भित्रिएको मान्यता छ ।


'एक आपसमा रंग दलेर खुसीयाली मनाउँदै रमाएर होरी खेलिन्छ,' ढुंगानाले भने, 'पहिले अछाममा रंग पाइँदैनथ्यो । वनमा पाइने जडीबुटीबाट रंग निकालेर टीका लगाउने गर्थे । अहिले त बजारमै पाइन्छ ।' उनका अनुसार रंगसंँग पनि उत्सव जोडिएको छ ।

होरीको देउडा गाउँदै गर्दा रंग यसरी मागिन्छ


अक्षि रंग भरा, अक्षि रंग भरा, आज कनैया रंग भरा...


राधिकाले कृष्णसँग रंग मागेर उत्सव मनाएको किवदन्तीलाई आधार मानेर होरी खेल्नेहरूले आयोजक समितिसँग रंग माग्छन् । र, आयोजकले सेतो लुगामा रंग नलाग्ने गरी गाला र निधारमा रंग लगाइदिन्छन् ।


होरीमा गाइने देउडा शिवको लीलाबाट सुरु गरिन्छ । केही श्लोक ढुंगानाले यसरी सुनाए,

शिव शंकरकी दरबार होरी खेलै...

चारै चारकुमार प्यारी दशरथकी चारै कुमार प्यारी...


वन बैरीनी बाँसुरी बाँजी रे...

वन बैरीनी बाँसुरी बाँजी रे...


फागुन र चैतको महिना पर्ने भएकाले होलीमा विशेषगरी असुरा र तोरीका फूलका माला लगाइने चलन भए पनि अहिले बजारमा पाइने कागजका मालाको प्रयोग भइरहेको छ । होरीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला र मायाप्रेमका कुरा समेटिएर लेखिएका देउडा गाउने प्रचलन रहेको होरीका जानकार सहदेव ढुंगाना बताउँछन् ।


पछिल्लो समयमा मौलिक लोकसंस्कृतिअनुसार भन्दा पनि एकआपसमा रङ दलेर होरी खेल्ने चलन बढेकाले परम्परागत होली लोप हुने सम्भावना रहेको उनको भनाइ छ । 'देवीदेउताको गाथाहरू देउडा मार्फत गाइन्छ,' उनले भने्, 'सेतो पहिरनमा खेलिने होरी सभ्य संस्कृतिको पहिचान हो ।' तर, अहिलेका युवा पुस्ताले सेतो पहिरनमा होरी खेल्न अप्ठ्यारो मान्ने गरेकाले लोपोन्मुख अवस्थामा रहेको उनको भनाइ छ ।


होरीमा देउडाको साथमा पञ्चेबाजासमेत बजाउँदा होरीमा थप रमाइलो हुन्छ । विवाह, व्रतबन्धमा समेत अहिले पञ्चेबाजाको प्रयोग घट्दै गएकाले यसको संरक्षण गर्नुपर्ने मंगलसैन ५ का लक्षे दमाइले बताए । 'विवाह, व्रतबन्ध, होरीमा प्रयोग हुने पञ्चेबाजाको महत्व अहिलेका पुस्ताले बुझ्न नसक्दा संकटमा परेको छ,' उनले भने, 'संरक्षणका लागि पहल गरिएन भने परम्परा नै लोप हुन सक्छ ।'

प्रकाशित : चैत्र ५, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?